
काठमाडौं : प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा आममानिसको ध्यान हेभिवेट प्रतिस्पर्धा हुने क्षेत्रमा केन्द्रित छ । फागुन २१ मा हुने निर्वाचनमा सबैभन्दा बढी झापा–५ र सर्लाही–४ ले सबैको ध्यान तानेको छ किनकि यी दुवै निर्वाचन क्षेत्रले भावी प्रधानमन्त्री तय गर्नेछ ।
झापा–५ बाट पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली मैदानमा छन् । उनलाई टक्कर दिन भावी प्रधानमन्त्रीको घोषणा गरेर काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ गएका छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवार बनेर सर्लाही–४ मा झरेका छन् । आज हामी झापा–५ लाई छाडेर सर्लाही ४ को चर्चा गर्दै छौं ।
नेपाली कांग्रेसका सभापति थापाको प्रवेशले सर्लाही ४ को चुनावी माहोल गर्मागर्मी छ । विगतबाटै संसदीय राजनीतिमा कांग्रेसको दबदबा रहेको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वतमान सांसद अमरेशकुमार सिंह प्रतिस्पर्धामा छन् । त्यस्तै, पूर्वसांसद शिवपुजन रायको पारिवारिक प्रभाव पनि यस क्षेत्रमा देखिन्छ एमालेबाट शिवपुजनका छोरा अमनिशकुमार यादव उम्मेदवार छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट रजनिश राय र जनता समाजवादी पार्टी (जसपा)बाट रामेश्वर राय यादव चुनावी मैदानमा छन् । जनमत पार्टीबाट राकेश मिश्र उम्मेदवार बनेसँगै गत निर्वाचनकी स्वतन्त्र उम्मेदवार शिवपुजनकी छोरी मधुमाला पनि उम्मेदवार छन् । प्रलोपाले रामचरित्र सहनी, उज्यालो नेपाल पार्टीले पीताम्बर सिंह कुसहवालाई उम्मेदवार बनाउँदा अन्य साना पार्टी र स्वतन्त्र उम्मेदवारसमेत आआफ्नो रणनीतिक तयारीमा जुटेका छन् ।
३८ जना उम्मेदवार रहेको यो क्षेत्रमा सबैभन्दा बढी चर्चा थापा र सिंहकै छ । यद्यपि कांग्रेस उम्मेदवार थापा, रास्वपा उम्मेदवार सिंह, एमाले उम्मेदवार यादवबीचको प्रतिस्पर्धा कडा देखिन्छ । यी उम्मेदवार जोडतोडले मतदातामाझ पुग्दै छन् । अन्य उम्मेदवारको चर्चा कमै छ । २०७९ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेश निर्वाचित भएका थिए । अहिले उनी रास्वपामा प्रवेश गरेर टिकट लिएका हुन् । सो निर्वाचनमा ७२ हजार ८ सय ५५ मत खसेकोमा ६९ हजार २ सय ८३ मत सदर हुँदा ३ हजार ५ सय ७२ मत बदर थिए । जसमध्ये कांग्रेसका उम्मेदवार नागेन्द्रकुमारले १८ हजार २ सय ५३ मत पाउँदा अमरेश २० हजार १७ मतसहित निर्वाचित भएका थिए ।
तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६ सय २२ मत प्राप्त गरेकी थिइन् । समानुपातिकमा कांग्रेसले १६ हजार २९ मत पाएको थियो । त्यस्तै, जनमतले १२ हजार ५ सय ९५, माओवादी र नेपाल समाजवादीले एकल चिह्न लिएर ९ हजार ७ सय ९० मत पाएका थिए भने एमाले ९ हजार ४ सय ७१ मतसहित चौथो स्थानमा थियो । यसपटक नेकपाका नेता शिवपुजनसहित एमालेमा प्रवेशले केही राहत मिलेको नेताहरूले बताएका छन् । अमरेश २०७९ अघि कांग्रेसकै उम्मेदवार भएर जित्दै आएका र गत निर्वाचनमा केही प्राविधिक समस्याले कांग्रेसले हारे पनि यसपटक जित निश्चित भएको नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति विरेन्द्रप्रसाद सिंहले बताए । ‘अहिले कांग्रेस एकढिक्का भएर स्वयं सभापति नै उम्मेदवार बनेपछि निर्वाचनको माहोल परिवर्तन भएको छ,’ उनले भने, ‘हाम्रो जितलाई कसैले रोक्नै सक्दैन । परम्परागत हिसाबले पनि यो क्षेत्रमा कांग्रेसकै मतदाता छन् ।’ उसो त सो क्षेत्रका मतदाता कुनै एक दलप्रति स्थायी नभएको पनि विगतका चुनावी नतिजाले देखाइसकेको छ । चुनावमा हुने अन्तर्घात राजनीतिक दलभित्र पटकपटक दोहोरिने समस्या हो । अझ नेपाली कांग्रेसभित्र यो समस्या तुलनात्मक रूपमा बढी हुने गरेको छ । २०७९ को निर्वाचनमै आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भनेर पार्टीले दर्जनौं नेताकार्यकर्तालाई कारबाहीको गरेको थियो ।
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा होमिँदै गर्दा चुनाव जित्नेमा ढुक्क छन् । थापा एकपटक सर्लाही ४ मा पार्टी कार्यकर्ता र मतदातासँग भेटघाट सकेर काठमाडौं आएपछि काठमाडौं बस्ने सर्लाहीका मतदातालाई समेत भेटिसकेका छन् । अमरेश कुमार पनि अहिले काठमाडौंमै केन्द्रित छन् । उनी कांग्रेसका केही असन्तुष्ट नेतादेखि नेकपाका नेताहरूलाई समेत भेट्ने प्रयासमा छन् । विशेष स्रोतका अनुसार अमरेशले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डसँग निवासमै पुगेर भेट गरेका थिए । भेटका क्रममा आफूले जसरी पनि निर्वाचन जित्नुपर्ने भन्दै सघाउन प्रचण्डसँग सहयोग मागेका छन् । त्यसलगत्तै उनले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग समेत भेट मागेका थिए । तर देउवाले उनलाई भेट नदिएपछि कांग्रेस नेता मोहनबहादुर बस्नेतमार्फत आफ्नो कुरा देउवासमक्ष पुर्याउने प्रयासमा छन् ।
७ पालिकाका ५१ वटा वडा समेटिएर बनेको सर्लाही–४ मा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४, र १५ वडा समेटिएका छन् । त्यस्तै, बसबरिया गाउँपालिकाका १, २ र ३ नम्बर वडा यस क्षेत्रमा पर्छन् । विष्णु गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडाहरू यस निर्वाचन क्षेत्रभित्र पर्छन् । धनकौल र रामनगर गाउँपालिकाका सबै सात÷सात वडाहरूसँगै बलारा र गोडैटा नगरपालिकाका क्रमशः ११ र १२ वटै वडा यस निर्वाचन क्षेत्रमा समेटिएका छन् । सर्लाही–४ मा गत प्रदेश सभा निर्वाचनमा भने सर्लाही–४ (क) बाट कांग्रेस उम्मेदवार वीरेन्द्रप्रसाद सिंह १५ हजार ६ सय ९३ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रामबाबु रायले १४ हजार ६ सय १६ मत ल्याउँदा जनमत पार्टीका उम्मेदवार प्रमोदकुमार रायको पक्षमा २ हजार ३ सय ८८ मत खसेको थियो । यस्तै, सर्लाही–४ (ख) मा कांग्रेससँगको सहकार्यमा तत्कालीन माओवादी केन्द्रका फकिरा महतो ८ हजार ३३ मतका साथ प्रदेश सभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवीले ७ हजार ६ सय ७६ मत र तेस्रो भएका जनमतका सञ्जयकुमार सिंह ५ हजार १ सय ४७ मत पाएका थिए । यो निर्वाचनमा कांग्रेस र रास्वपासँगै एमाले, नेकपा र स्वतन्त्र उम्मेदवारसमेत आफ्नो पक्षमा परिणाम निकाल्न तीव्रताका साथ लागेका छन् ।