
काठमाडौं : फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा जानुअघि नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ नारा दिएका छन् । चुनावपछिको कांग्रेस कस्तो बनाउने ? भन्ने खाका कोर्न शीर्ष नेता व्यस्त छन् । सँगै पुरानो मत जोगाएर नयाँ मतदाताको आकर्षण बढाउन सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्तालाई आह्वान गरेका छन् ।
शनिबार काठमाडौं–५ को चुनावी कार्यक्रममा उनले भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंशको ज्वालाबाट पाठ सिकेर कांग्रेस सच्चिएको र अब देश बदल्ने अभियानमा रहेको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्तासँग उनले आग्रह गरे । जेनजीको पूरा कुरा सुनेर अन्तिममा सडकमा तिमीले गरेको आवाज सुनेर बदलिएको एक मात्र पार्टी कांग्रेस भएको बताउन उनको आग्रह थियो । ‘पुसको विशेष महाधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस हो । यो सन्देश लिएर घरघर जानुपर्छ,’ थापाले भने ‘विगतमा कांग्रेसबाट रिसाएकालाई कांग्रेस बदलिएको सन्देश पुर्याउनुपर्नेछ । हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदाता माझ जानुपर्नेछ । घरघरमा गएर संवाद गर्नुपर्ने र जेनजीका कुरा सुन्नुपर्नेछ ।’ सभापति थापाले नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने कुराको सामना गर्नुपर्ने बताएका छन् ।
निर्वाचनकै बेला आफ्ना एजेन्डा नागरिकमाझ पस्कने घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुर्याएको कांग्रेसले जनाएको छ । विशेष महाधिवेनसँगै बदलिएको कांग्रेसको सन्देश पार्टीको चुनावी घोषणापत्रमा समेटिने नै छ । आमनेता कार्यकर्ता पनि सोही नारासहित गाउँ पुगेर पार्टीको पुरानो विरासत जोगाउँदै नयाँ मतदाता थप्ने प्रयत्नमा छ । यद्यपि कांग्रेसभित्रको अन्तरसंघर्ष, पुराना दलप्रतिकोे वितृष्णा र नयाँ लहर फरक ढंगले दूरदराजसम्म फैलिनेक्रम जारी छ । यसै कारण कांग्रेसलाई साबिकको मत जोगाउन कठिन देखिन्छ । यद्यपि बिनाराजनीतिक दृष्टिकोणको ह्वीमलाई लामो समय थेग्न नसक्ने भएकाले त्यसको गन्तव्यमाथि उत्तिकै प्रश्न उठेको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ ।
यसपटकका घोषणापत्रमा आमजनताप्रति आशा जगाउने र गर्न सक्ने एजेन्डा समेटिने नेताहरूले दाबी गरेका छन् । घोषणापत्र कोमामै रहँदा पनि चुनावी अभियानमा गाउँ केन्द्रित भएका नेता कार्यकर्ताले पार्टीले विगतका घटना र राजनीतिक परिवेशबाट पाठ सिक्दै बदलिएर आएको दाबी गरेका छन् । विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गरेलगत्तै चुनावी मैदानमा उत्रिनुपरेको कांग्रेसको नयाँ नेतृत्वले टिकट वितरणमै ठुलो परिवर्तनको साहस देखाएका छन् । कतिपय पुराना, इमानदार र चुनाव जित्न सक्ने नेताहरू चुनावी मैदानमा नरहे पनि अधिकांश उम्मेदवार युवा समूहबाट छन् । यसले कांग्रेसमा एक तहको तरंग ल्याइदिएको छ ।
मधेश प्रदेशबाट औपचारिक चुनावी अभियान थाल्ने तयारी गरेको कांग्रेसले फागुन ६ गते जनकपुरमा प्रदेशस्तरीय आमसभा गर्नेछ । सो कार्यक्रमलाई सभापति थापाले सम्बोधन गर्नेछन् । यसअघि माघ ५ मा रास्वपाले जनकपुरमा पहिलो चुनावी सभा गरेको थियो । कांग्रेसको जनमत तराई मधेशमै बढी रहेकाले त्यसलाई टार्गेट गरेर पार्टी सभापति थापाले नै मधेशको सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी केवल आफू मात्रै जित्नभन्दा पनि मधेशबाट कांग्रेसको विरासत फर्काउने योजना रहेको कांग्रेस उपसभापति पुष्पा भुसालले बताइन् । ‘नेपाली कांग्रेसको बलियो जनधार तराई मधेश नै थियो,’ उनले मध्यान्हसँग भनिन्, ‘पछिल्लो समय कांग्रेसका नेताहरूकै सक्रियतामा क्षत्रीय दल बन्नेदेखि स्वतन्त्र उम्मेदवार हुनेसम्मको अवस्थाले केही मत विभाजन भएको थियो । अब सभापति गगन थापाको नेतृत्वमा कांग्रेस आइसकेपछि ती विभाजित मतलाई एकाकार गरेर कांग्रेसको नीति र विचारमा जोड्ने प्रयास भएको छ ।’
गत निर्वाचनहरूमा पुराना राजनीतिक दलहरूले नागरिकमाझ पुर्याइएका एजेन्डा आश्वासनमुखी मात्रै भएकाले त्यसको कार्यान्वायन हुन नसकेको विषयमा यसपटक नेताहरू सचेत रहेर जनताका दैनिक जीवन, सुशासन, सेवाप्रवाह, विदेश नीतिदेखि आर्थिक समृद्धिसम्मका योजना मिहिन ढंगले ल्याउने तयारी भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए । घोषणापत्र लेखनको काम सभापति थापाकै नेतृत्वमा छ । सभापति थापा आगामी सरकारको नेतृत्व गर्ने घोषणासहित चुनावमा गएकाले चुनावपछिको सरकारले केके गर्ने भन्नेसम्मको दृष्टिकोण घोषणापत्रमार्फत आउने प्रवक्ता चालिसेको भनाइ छ ।
विगतमा कांग्रेसमा असन्तुष्ट नेताहरू स्वतन्त्र बागी उम्मेदवार बन्ने गरेको भए पनि यसपटक असन्तुष्ट नेताहरू बागी वा स्वतन्त्र नभई अन्य पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका छन् । कांग्रेसबाट रास्वपामा प्रवेश गरेर उम्मेदवार बन्नेहरूको संख्या अधिक छ । केही नेताहरू एमालेमा समेत प्रवेश गरेका छन् । यस्तो अवस्थामा आफ्ना मतदातालाई रोकेर मात्रै कांग्रेसले विगतको साख जोगाउन सक्दैन । नयाँ मतदाता पनि आकर्षित गर्नुपर्ने कांग्रेसमाथि चुनौती छ ।
नेपालको निर्वाचन इतिहास कांग्रेससँग कुनै निर्वाचनमा तेस्रो भएको छैन । पहिलो आमनिर्वाचनमा दुई तिहाइ सिटमा जितेको कांग्रेसले कहिले पहिलो र कहिले दोस्रो ठुलो दलको हैसियत कायम राखेको छ । यसपटक नयाँ नीतिसहित नयाँ नेतृत्व स्थापित गरे पनि साबिकको जनमत जोगाउन कांग्रेसलाई चुनौतीपूर्ण रहेको छ । यद्यपि कांग्रेसमा आएको परिवर्तनले जनमत बढाउने नयाँ एजेन्डा स्थापित भएको राजनीतिक विश्लेषक बताउँछन् । नेपालको दलीय इतिहासमै कांग्रेसमा सबैभन्दा ठुलो परिवर्तन आएको राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले बताए । ‘नेपाली कांग्रेसको इतिहासमै सबैभन्दा ठुलो परिवर्तन यसपटक भएको छ,’ उनले भने, ‘गगन थापाले कांग्रेस परिवर्तनको अभियान चलाउनुभएको छ । जुन कदम नेपालको दलीय इतिहासभरि सबैभन्दा जोखिमपूर्ण, सबैभन्दा साहसपूर्ण र सबैभन्दा दूरदर्शी कदम हो ।’
राजनीतिमा नयाँ र पुराना भनेर बनाइएको भाष्यसमेत गलत भएको संग्रौलाको टिप्पणी छ । ‘पुरानाहरू एक समयमा नयाँ भएरै कालान्तरमा पुराना भएका हुन्,’ संग्रौलाले भने, ‘अहिले जसलाई नयाँ भनिएको छ, तिनीहरू नयाँ नभई पहिला नै पुराना भएका छन् । मुखले नयाँ भनेर नयाँ हुने होइन, संकल्प, कर्म र परिणामहरूले नयाँ सिद्ध गर्न सक्नुपर्छ । अहिले गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसमा विधिवत् विद्रोह भएर जो नयाँ समूह बनेको छ, यही नै नयाँ हो ।’ भोट बढाउने सन्दर्भमा पार्टीको घोषणापत्र आएपछि त्यसलाई विश्लेषण गरेर मतदाताले मत दिने उनको तर्क छ । ‘पहिला कांग्रेसको घोषणपत्रमा अरू पार्टीहरू भन्दा फरक कुरा केके होलान् ? भनेर हेरिसके पनि त्यसलाई विश्लेषण गरेर मतदाताले मत दिनेछन् ।’