२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

जलवायु परिवर्तनप्रति नगएको ध्यान

shivam cement
२०८१ साउन १७ गते ०६:२५
Shares
जलवायु परिवर्तनप्रति नगएको ध्यान

–शिव कुमार श्रेष्ठ

संयुक्त राष्ट्र सङ्घीय जलवायु तथा वातावरण परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ गत २०८० साल मङ्सिर १४ गतेदेखि २६ गतेसम्म युनाइटेड अरब इमिरेटको दुवइमा सम्पन्न भयो । उक्त सम्मेलनमा विश्वका पक्षधर १९८ मुलुकका राष्ट्र प्रमुख वा सरकार प्रमुखको प्रतिनिधित्व थियो भने पर्यावरणसम्बन्धी विभिन्न संघ संस्था र पर्यावरणविद्सहित ७० हजारको सहभागिता थियो । उक्त सम्मेलनले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न विश्वका सबैभन्दा गरिब मुलुकलाई सहयोग गर्ने लक्ष्य राखेको थियो । उक्त सम्मेलनमा नेपालका तर्पmबाट निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्बन उत्सर्जनमा नेपालको योगदान एक प्रतिशत भए पनि प्रत्यक्ष असमान र हानिकारक भोगिरहेकोले हिमनदीहरू सकिँदै गएको र तल्लो तटीय क्षेत्रका मानिसको जीविकोपार्जन नकारात्मक असर परेको र बाढी, पहिरो, जङ्गलमा डढेलो खडेरी, हिमताल विस्फोट र वन्यजन्तु नराम्ररी प्रभावित भएको चर्चा गरेका थिए । उक्त सम्बोधनको क्रममा यस सङ्कटलाई सम्बोधन गर्न हामी आफैलाई बचाउन हाम्रा हिमाल बचाउनुपर्छ भन्ने कुरा प्रचण्डले राखेका थिए । जलवायु परिवर्तनबाट हुने हानी र क्षतिका लागि स्थापना गरिएको कोष अन्य हिमाली देशका लागि सरलीकृत र पर्याप्त हुनुपर्ने पनि प्रचडले बताएका थिए ।

हिमाली मुलुकमा जलवायु परिवर्तनको असर बढी देखिएको र यसको असरको कारण मृत्युदर पनि बढेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनको असर बढ्नु समग्र मानव जाति र पारिस्थितिक प्रणालीका लागि खतराजनक छ । जलवायु परिवर्तनले निम्त्याएको साझा समस्या, चुनौती समाधानका लागि सहयोग र ऐक्यबद्धता जनाउन पनि प्रचण्डले विश्व सामु अपिल गरेका थिए । सम्मेलनको बिच अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी थिइन् । चीनका प्रतिष्ठित वरिष्ठ विशेष जलवायु दूत झिजेनहुवाले केही वर्षभित्रै नवीकरणीय ऊर्जालाई प्रयोगमा ल्याइने घोषणा गरेका थिए । विश्वको सबैभन्दा ठुलो (जिसिएफ) जलवायु कोषले पाकिस्तानमा सौर्य प्यानल र हाइटीमा बाढी व्यवस्थापन गरे जस्तो विकासोन्मुख देशमा अनुकूलन र न्यूनीकरण परियोजनाको लागि अनुदान र ऋण प्रदान गर्दछ । सम्मेलनमा युएईले भने जीवाष्मा इन्धनबाट धनी भएका मुलुकलाई तेल ग्यास निर्यात राजश्वमा तीन प्रतिशत स्वैच्छिक कर लाग गर्न आग्रह गरेर जलवायु वित्तीय अन्तरलाई कम गर्न सक्छ भनी सुझाएका थिए । 

तेल निर्यातबाट हुने आम्दानी र विद्युतमा बढ्दो लागतका कारण करोडौं मानिस गरिबीको खाडलमा धकेलिँदा जलवायु क्षति कोष रकम अपरिहार्य ढङ्गले जम्मा हुनुपर्छ भन्ने देखिन्छ । जीवाश्म इन्धनबाट सिर्जना हुने ठुलो रकमले सबै विकसित देशलाई योगदान गर्न प्रोत्साहित गर्न सक्छ । साथै, सबैभन्दा गरिब मुलुकमा जलवायु उत्थानशील भविष्य सङ्क्रमण र विकास लक्ष्य हासिल गर्न सघाउने छ । कोप २८ मा जापानका प्रधानमन्त्री फुमियो किसिदाले कार्बन उत्सर्जन घटाउन नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न रोक्ने बाचा गरेका हुन् । जीवाष्मा इन्धनमा आत्मनिर्भर जापानले सन् २०५० सम्म कार्बन तटस्थ बन्नै लक्ष्य राखेको छ । हरित ग्यास उत्सर्जनमा जापानले २० प्रतिशत कटौती गरिसकेको छ । सन् २०३० सम्ममा ४६ प्रतिशत घटाउने लक्ष्यमा प्रगति रहेको छ जापान सरकारको छ ।

हरित ग्यासमा कार्बनडाईअक्साइड, मिथेन, नाइट्सअक्साइड, एचसिएफसी, एचएफसी र सिएपफसी समावेश छन् । वैज्ञानिकले तीव्र तापक्रम वृद्धि गर्ने एन्थ्रोपोजेनिक हरित ग्यासको कारण र परिणाम हो भनी बताएका छन् । एन्थ्रोपोजेनिक उत्सर्जन र जलवायु परिवर्तनको चरम प्रभाव र उचित सावधानी सिद्धान्तका आधारमा हेर्दा, सन् १९९२ पछि संयुक्त राष्ट्र सङ्घीय रूपरेखा महासन्धि पक्ष राष्ट्रहरूको उत्सर्जन अवैध होइन भने पनि अनैतिक हो । जलवायु परिवर्तनको प्रभावमा ग्लोबल वार्मिङ्ग, मौसमको अवस्था र वर्षाको ढाँचामा परिवर्तनको र बढ्दो समुन्द्री सतह समावेश छन् । विश्व जलवायु प्रकोप सामना गर्ने संघारमा छ । पृथ्वीमा जैविक सुरक्षाका लागि गम्भीर खतराको अवस्था छ । 

पोल्यान्ड वार्सा सन् २०१३ मा आयोजित महासन्धि पक्ष राष्ट्रहरूको १९औं बैठकले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सामना गर्न कमजोर देशको आवश्यकतालाई सम्बोधन गर्न जलवायु हानि नोक्सानी र क्षतिपूर्ति संयन्त्र बनाएको थियो । पक्ष राष्ट्रहरूको २६औं बैठकमा जलवायु हानी नोक्सानी र क्षतिपूर्तिको निर्माण गर्ने सम्झौता भए पनि हरित जलकोष विशेष जलवायुकोष, अल्पविकसित देश कोष र अनुकूलन कोष जस्ता विभिन्न वित्तीय योजना घोषणा भए पनि कार्यान्वयनमा जटिलता उत्पन्न भई घोषणा अल्प कार्य भई अड्कियो । हरित जलवायु कोषले विशेषगरी जोखिममा परेका समुदायका लागि स्वच्छ ऊर्जा तटीय संरक्षण बाढी व्यवस्थापन र जलवायु लचिलो जीविकोपार्जनलाई सहयोग गर्ने लक्ष्य राखेको छ । हरित ऊर्जा जस्तो कि हाइड्रोजन इन्धन, फ्युजन रियाक्यू विभिन्न प्रकारको कार्बन अवशोषण गर्ने प्रविधिको विकास लगभग अन्तिम चरणमा रहेको हुँदा यसको उपादेयता एक दशकपछि सार्थक होला । ग्लासगो सम्मेलनदेखि १.५ डिग्री सेल्सियसको लक्ष्य विलम्बवादको निरीह सिकार बन्यो । जीवाश्म इन्धनबाट टाढा बस्न कोप २८ सम्मेलनमा आह्वान गरिएको थियो । सतहमा सबै पक्षधर राष्ट्रहरू जलवायु परिवर्तनको मुद्दामा एक देखिए पनि कोप २८ कुम्भ मेलामा सबैले आ–आफ्नो भूमिका र प्राप्त हुन सक्ने असरको विषयमा सघन अभ्यासमा रहेको बुझ्न गाह्रो थिएन । निकै महत्वकाक्षी लक्ष्य तय हुने आशा गरिएको कोप २८मा यस्तो हुन सकेन र १५ डिग्री सेल्सियसको लक्ष्य पनि निरीह सिकार बन्यो । 

सन् २०२३ मा विश्वको औसत तापक्रम पूर्व औद्योगिक कालको भन्दा १.२ डिग्री सेल्सियस बढेको छ । जलवायु वित्त प्रतिवृद्धताहरू उत्सर्जन कटौती गर्ने वा समाजलाई जलवायु प्रभावसँग अनुकूलन गर्न मद्दत गर्ने उद्देश्य छन् । पेरिस सम्झौता अन्तर्गत धनी राष्ट्रहरूले प्रत्येक वर्ष १५० अर्ब डलरको कोष उपलब्ध गराउने बाचा गरेको भएता पनि सन् २०२१ मा मात्र १३० अर्ब डलर प्रवाह भएको थियो । 

कोप–२८ मा असफल र अस्पष्टता भएको मामिलामा समाधान आगामी नोभेम्बरमा हुने कोप–२९ का लागि सोचिएको छ । आगामी जलवायु सम्मेलन कोप–२९ अजर वैजानमा हुनेछ । जहाँ थोरै मात्रामा तेल र ग्यास उत्पादन हुन्छ । आजको कर्पोरेट पुँजीवादी व्यवस्थाले बढिभन्दा बढी नाफा कमाउने नीति प्रयोग गर्दै प्रकृतिको सबै साधनहरूको बढी र गलत प्रयोग गरेको छ । जसले गर्दा मानव, जल, जमिन र जङ्गलमा तुलना नै गर्न नसकिने सङ्कट जन्माउँदै आइरहेको छ । यस व्यवस्थाले इकोलोजिकल सिस्टमलाई पूर्णरूपमा बिगारेर प्रकृतिसँग खेलबाड गरिरहेको छ । यसले गर्दा आफ्नो मात्र वर्चस्व कायम राख्न सफल छ । 

सन् १८०० मा विश्वको जनसङ्ख्या १ अरब मात्र थियो । हाल विश्वको जनसङ्ख्या झन्डै नौ गुणा बढी छ । जसको असर विश्वभर परेको छ । सबैभन्दा बढी अफ्रिकामा खडेरी र बाढीको कारण कृषि उत्पादन, उत्पादकत्वमा ह्रास आइरहेको छ । मानव र विभिन्न समुदायलाई पनि क्षति पु¥याइरहेको छ । जसका लागि कार्बन बढी उत्सर्जन गर्ने विकसित देशहरूद्वारा विकासशील देशहरूलाई संरचनात्मक रूपान्तरण, जलवायु परिवर्तनमा लचिलोपनमा लगानी र कार्बन नियन्त्रणलाई समर्थन गर्न दीर्घकालीन वित्त पोषण गरी सहयोग गर्नु आवश्यक छ । विकसित देशहरूले सन् २०२० सम्ममा विकासशील देशहरूमा जलवायु नियन्त्रणका लागि प्रति वर्ष १०० अर्ब अमेरिकी डलरको प्रतिबद्धता जुन अझै पुरा हुन सकेको छैन । इयुका सदस्य राष्ट्रहरूले कार्बन उत्सर्जन कम गर्न जलवायु अनुकूल प्रविधिहरूको लगानी गर्ने प्रतिबद्धता सन् २०२२ मा गरेका थिए । जस प्रतिबद्धताअनुसार सन् २०३० सम्म ४८.५ प्रतिशत कार्बन उत्सर्जन चरणबद्ध रूपमा हटाउने र सन् २०३४ सम्ममा पूर्ण रूपमा हटाउने गरी निःशुल्क सेवाहरू चरणबद्ध रूपमा हटाउन खोजेका छन् । आगामी हुने कोप–२९ को सम्मेलनमा अधुरो प्रतिबद्धता कार्यान्वयनमा विशेष जोडका साथ गति दिन लागि परे अवश्य सफल भइन्छ । 

सम्बन्धित खबर