
काठमाडौं : पछिल्लो समय नेपाली राजनीतिमा लोकप्रियतावादी चरित्र हाबी हुँदै गएको छ । तर साढे सात दशक पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको निश्कर्ष छ– ‘राजनीतिमा लोकप्रियतावाद जनपक्षीय हुँदैन ।’ हुन त कांग्रेसको विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले कतै न कतै लोकप्रियतावादी चरित्रको प्रतिनिधित्व गर्ने आरोप लाग्ने गरेको छ ।
यद्यपि यसलाई कांग्रेसको वर्तमान नेतृत्व र केन्द्रीय समितिले स्वीकार गरेको छैन । किनकि तीन दशक लामो राजनीतिक संघर्षबाट उदायका नेता गगन थापा पार्टीको मूल नेतृत्वमा पुगेका छन् । कांग्रेसले पछिल्लो पटक नेपाली राजनीतिमा देखिएको चरम लोकप्रियतावादी चरित्रमाथि टिप्पणी गरेको छ । ‘चरम प्रियतावादबाट वशीभूत भएर शान्तिप्रिय जनताको मन भाँड्ने कृत्य हामीबाट किन्चित कल्पित र सम्भव छैन’, कांग्रेसले भनेको छ ।
कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले शनिबार पत्रकार सम्मेलनमार्फत चुनावी प्रचारप्रसारको औपचारिक कार्यक्रमबारे जानकारी दिनेक्रममा नागरिकलाई भनेअनुुसार पूरा गर्न सकिने एजेन्डा मात्रै लिएर मतदातामाझ जाने बताएको छ ।
हरेक निर्वाचनलाई जनतामाझ आफ्नो एजेन्डा लिएर जाने, व्यापक विमर्श गरेर जनताको भावनाबाट परीक्षित हुने र सदभावपूर्ण वातावरण बनाई लोकतान्त्रिक पर्यावरण उत्थान गर्ने अवसरका रूपमा उपयोग गर्ने कांग्रेसका प्रवक्ता एवं प्रचारप्रसार समितिका संयोजक देवराज चालिसेले बताए ।
आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि प्रतिज्ञापत्रमै प्रियतावादी चरित्रमाथि विश्वास नगर्ने दृष्टिकोण नै सार्वजनिक गर्न लागिएको कांग्रेसको भनाइ छ । पार्टीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको औपचारिक चुनावी कार्यक्रमलाई फागुन ६ गतेबाट देशभर अभियानका रूपमा लैजाँदैछ । उक्त चुनावी अभियानमा प्रतिज्ञापत्र लिएर मतदातामाझ जाने तयारी छ । नागरिकको समृद्धि, समावेशिता र राष्ट्रहितप्रतिको प्रतिबद्धतालाई प्रखर ढंगले प्रवाहित गर्ने कांग्रेसले जनाएको छ । ‘फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा विशाल आमसभा हुँदैैछ’, चालिसेले भने, ‘चुनावी अभियानमा नेपाली जनताको समृद्धि, समावेशिता र राष्ट्रहितप्रतिको अखण्ड प्रतिबद्धता प्रखर ढंगले प्रवाहित हुनेछ ।’
आइतबार सार्वजनिक गरिने प्रतिज्ञापत्रमा मुलुकको समृद्धिका प्राथमिकता, जनताका सुख, दुःख र विचारशील लोकतन्त्रका आयामहरूको मर्म समेटिने महामन्त्री गुरूराज घिमिरेले बताए । उनले मध्यान्हसँग भने, ‘पार्टी सभापति गगनकुमार थापाकै अगुवाइमा निकै अध्ययन, अनुसन्धान र विमर्श भइ तयार भएको यस पटकको प्रतिज्ञापत्रले मुलुकको समृद्धिका प्राथमिकता, जनताका सुख, दुःख र विचारशील लोकतन्त्रका आयामहरूको मर्म समेटी एउटा सुन्दर भविष्यको खाका दिनेछ ।’ सोही दस्तावेजका आधारमा कांग्रेसले अबको पाँच वर्षको कार्यव्यवहार मूल्याकंन गर्ने हरेक अधिकार नेपाली जनताले राख्ने उनको दाबी छ ।
‘पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यप्रवाहबाट लोकतन्त्रलाई गतिशील र जीवन्त बनाउनसक्ने खुबी नेपाली कांग्रेससँग छ’, पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो तथ्य अबका दिनहरूमा प्रमाणित हुँदै जानेछ ।’ त्यस्तै कांग्रेसले निर्वाचन आयोगले जारी गरेको आचारसहिंताप्रति उच्च सम्मानकासाथ पालना गर्ने प्रतिबद्धता समेत जनाएको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनमा कतिपय दल र तिनका समर्थकहरूबाट भइरहेका खुला उल्लघंनका घटनालाई समेत हेरेर निर्वाचन आयोगलाई सप्रमाण ध्यानाकर्षण गराउने र पार्टीको आन्तरिक संयत्रमार्फत अध्ययन विश्लेषण गरिरहेको दाबी कांग्रेसको छ ।
निर्वाचन आचारसहिंतालाई निःशर्त र अविछिन्न रूपमा पालना गर्न कांग्रेसले अभिमुखीकरण समेत गरिसकेको छ । लोकतान्त्रिक आन्दोलनको प्रमुख धरोहर दाबी गर्दै आएको कांग्रेसले फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरबाट चुनावी आमसभाको सूरूवात गर्नेछ । यस बीचमा विभिन्न पेशाका अग्रणी व्यक्तिहरू, बुद्धिजीविहरूसँग संवाद र सहकार्यलाई समेत निरन्तरता दिँदै आएको छ । ‘आमसञ्चार, विद्युतीय र डिजिटल सञ्चारका कुनै पनि प्लेटफर्ममा हाम्रो उपस्थिति तर्क, विवेक र सम्मानबाट निर्दिष्ट रहन्छ,’ प्रवक्ता चालिसेले भने ।