
अर्घाखाँची : अर्घाखाँचीमा विद्युत् प्रयोग गरेर नतिर्ने ग्राहकको लाइन काट्न थालेपछि बक्यौता उठ्न थालेको छ । पछिल्लो डेढ महिनाको अवधिमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने ४ सय ५५ ग्राहकको लाइन काट्दा नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले करिब ४२ लाख रुपैयाँ असुली गरेको हो ।
प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावली अनुसार मिटर रिडिङ भएको दुई महिनासम्म पनि महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेपपछि बाँकी बक्यौता उठेको केन्द्र प्रमुख जनार्दन पौडेलले जानकारी दिए । बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने अभियानले प्राधिकरणलाई तिर्न पर्ने बाँकी रकम समेत उठन थालेको पौडेलले बताए ।
यस्तै प्राधिकरणले अर्घाखाँचीका ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा बिजुलीको पहुँच पुगेको जनाएको छ । जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिका मध्ये शीतगंगा नगरपालिकाको भित्री गाउँबाहेक अन्य सबै स्थानमा बिजुलीबत्ती पुगेको छ । चालु आर्थिक वर्ष भित्र शतप्रतिशत घरमा विद्युत् लैजाने तयारी भएको पौडेलले बताए ।
‘जिल्लाका झन्डै ३९ हजार घरधुरीमा मिटर जडान छन्, जिल्लामा चार वटा सबस्टेसन र छिमेकी जिल्लाका सबस्टेसनबाट विद्युत् सप्लाई भइरहेको छ, विद्युत् नपुगेको शीतगंगा—९ को घरधुरीलाई विद्युत् बिस्तार गर्ने काम अगाडि बढाइएको छ’, उनले भने ।
अर्घाखाँची वितरण केन्द्रले विद्युतीय वितरण प्रणालीलाई सुरक्षित बनाउँदै विद्युतीय घटनालाई शून्यमा झारेको जनाएको छ । पहाडी जिल्ला भएका कारण विद्युत् आपूर्तिमा असहज हुने भएकाले आपूर्ति व्यवस्थामा सुधार गरिएको पौडेलले बताए । अहिले सेवाग्राहीमैत्री विद्युत् कार्यालयका रूपमा परिचित हुने गरी सेवाग्राहीको जनगुनासो तत्काल सम्बोधन गर्ने र कार्यालयमा सेवा लिन आउने ग्राहकको समस्या हेरी १० मिनेटभित्रै काम सम्पन्न गर्नेगरी निर्देशन दिएको उनले बताए ।
वितरण केन्द्रले गत वर्ष भोल्टेज सुधार कार्यक्रम अन्तरगत ११ वटा नयाँ ट्रान्सर्फमर जडान कार्य सम्पन्न गरेको थियोे । जसमध्ये एउटा २ सय केभीका ट्रान्सर्फमर जडान गरिएकोेले यस वर्ष जिल्लामा विद्युत् लाइनमा कुनै समस्या नआउने गरी सुधार गरिएको भएपनि अहिले वितरण केन्द्रमा ट्रासफर्मरको समस्या छ । सो समस्याका कारण अहिले ईभी गाडी चार्जिङ स्टेसन माग अनुसार दिन नसकिएको केन्द्रको भनाइ छ ।
जिल्लामा अहिले विद्युतीय सवारीको चापसमेत बढ्दै गएको छ । विद्युतीय गाडी चार्जिङ स्टेसन जडानका लागि प्राधिकरणले व्यवसायीहरूलाई सहज सुविधा दिने उद्देश्यले सहजीकरण गर्ने बताएपनि बजेटको भने अभाव छ ।
विद्युतीय सुरक्षालाई प्राथमिकता दिँदै जिल्लाभरिका विभिन्न स्थानहरूमा रहेका जोखिमपूर्ण वितरण ट्रान्सर्फमरहरूमा घेराबार गर्ने काम सम्पन्न गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जसअन्तर्गत मालारानी गाउँपालिकामा २४, शीतगंगा नगरपालिकामा २०, पाणिनि गाउँपालिकामा ३, सन्धिखर्क नगरपालिकामा ३ र छत्रदेव गाउँपालिकामा ६ गरी ५६ वितरण ट्रान्सर्फमरहरूमा घेराबार कार्य सम्पन्न भएको छ ।
विद्युत् वितरण प्रणालीलाई सुरक्षित तथा जोखिममुक्त बनाउने क्रममा बजार क्षेत्र र घनाबस्ती क्षेत्रमा नांगो तारलाई विस्थापित गरी कालो तार जडान गर्ने काम समेत तीव्र गतिमा अगाडि बढेको प्राधिकरणले जनाएको छ ।