
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो चुनावी अभियानका क्रममा मतदातासँग करार सम्झौता पत्रमार्फत आफ्नो रोडम्याप सार्वजनिक गरेको छ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने दाबी गरेको रास्वपाले करार सम्झौता ढाँचामा जनतासँग प्रतिबद्धता जनाएको हो ।
बाचापत्र भनिएको घोषणापत्र भने विस्तृत रुपमा ल्याउने जनाएको छ । रास्वपाले गर्ने करारपत्र पार्टी सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरे । पाँच बुँदे नागरिक करार सार्वजनिक गरेको रास्वपाले ७ फागुनमा कर्णाली प्रदेशबाट सोही करारको पूर्णपाठ औपचारिक रूपमा जारी गर्दैछ । वाचापत्र सार्वजनिक गर्दै पार्टी चुनावी प्रतिस्पर्धामा जाने नेताहरूले बताएका छन् । यो करारपत्र वाचापत्रको सारांशका रूपमा ल्याईएको उपसभापति डोलप्रसाद (डिपी) अर्यालले बताए । उनले भने, ‘वाचापत्रमा राष्ट्र निर्माणको विस्तृत खाका आउँदैछ । यो मुहार मात्रै हो । यसलाई वाचापत्रको सारांशका रूपमा सार्वजनिक गरेका हौं ।’
२०७९ को प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा तीन महिनाअघि मात्रै खुलेको रास्वपाले २१ सिटसहित संसदमा चौथो दल बनेको थियो । यस पटक बहुमत ल्याउनेगरी चुनाव अभियान अघि बढाइको अर्याल बताउँछन् । देशमा व्यप्त भ्रष्टाचार र कुशासनप्रति नागरिकको बढ्दो वितृष्णालाई रास्वपाले आफ्नो मुद्दा बनाएको छ । तर गत निर्वाचनपछि छोटो अवधिमै दुई पटक सरकारमा गएको रास्वपाको मुल नेतृत्व पनि विवादरहित छैन् । रास्वपा सभापति रवि लामिछानेमाथि लागेका सहकारी ठगी र संगठित अपराधका आधा दर्जन मुद्दा अदालतमा विचाराधिन छन् । त्यसअघि पनि उनी दाहोरो नागरिकतामा दोषी ठहरिएका व्यक्ति हुन् । यद्यपि, आमरूपमा उनीप्रतिको सहानुभुतिमा कमी आएको छैन् । रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई पार्टीमा भित्र्याएपछि चुनावी लहर ल्याउन खोजेको छ ।
करार पत्रको प्रतिलिपि फेसबुकमार्फत सार्वजनिक गर्दै सभापति रवि लामिछानेले भने, ‘चुनावमा बाचा त धेरैले धेरै पटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नुपर्यो निरन्तर । हामी पूरा नहुने वाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौं ।’
नागरिक करार भनिएको घोषणापत्र सारांशमा रास्वपाले ५ वटा प्राथमिकता र लक्ष्यहरू अघि सारेको छ । पहिलो प्राथमिकतामा भ्रष्टाचार विरोधी महाअभियान संचालन गर्नेदेखि बिचौलिया नियन्त्रण गर्ने प्रतिबद्धता जनाइएको छ । सदाचार र असल शासन अन्तरगत सरकारी सेवाहरूको सर्वव्यापी डिजिटल डेलिभरीसहित ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकाङ्कमा भारी सुधारको लक्ष्य तोकिएको छ ।
दोस्रो, मध्यम वर्गीय विस्तारलाई राखेको छ । यस अन्तरगत औसत प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर पुर्याउने लक्ष्य निर्धारण गरिएको छ । जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी पनि रास्वपाले गरेको छ । यसैगरी, आधुनिक बैंकिङसहित वित्तीय सेवाहरूमा सबै नागरिकको पहुँच लगायत सख्त नियमनभित्रको सहकारी र लघुवित्त, मिटर ब्याज शोषणको अन्त्य गर्ने उल्लेख छ ।
रास्वपाले पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासमेत जनाएको छ । आइटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा व्यापारमा ती रोजगारी सिर्जना गरिने करार पत्रमा उल्लेख छ । यस्तै, १५ हजार मेगावाट विद्युत् जडित क्षमता र ३० हजार किलोमिटर सडक सञ्जाल बिस्तारलाई लक्ष्य बनाइएको छ । १० वटा राष्ट्रिय महत्वका सिग्नेचर आयोजना सम्पन्न गर्ने भनिएको छ । रास्वपाले विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार दिलाउने वाचासमेत गरिएको छ ।
त्यस्तै, वंशजको नागरिकताको निरन्तरता र सार्वभौम डायस्पोरा फण्डको कार्यान्वयन गर्ने भनिएको छ । करार पत्रमा लेखिएको छ, ‘तपाईँहरूले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करार बमोजिमका सर्तहरु डेलिभरीसहित ५ वर्षभित्र बुझाउन नसकी तपाईँ नागरिकलाई मर्का पर्न गएमा संविधान, मौजुदा कानून र सामाजिक करार अनुसार हाम्रो ‘राजनीतिक नैतिकता र पद’ बाट अर्को पटकको निर्वाचनमा सजाय दिई असुल उपर गरी लिनुहोला । यसमा हाम्रो पार्टीका सम्पूर्ण सदस्यहरूको मन्जुरी छ । काबुबाहिरको परिस्थिति बाहेक हामी पूरा गर्न नसकिने वाचा बाँड्दैनौँ, बरु तपाईँहरूको राजनीतिक विश्वासको ऋणको करार गर्छौँ ।’
करार पत्रमा ऋणीको दस्तखत भनेर औँठा छाप राखिएका छन् । छेऊमा दलको नाम र छाप राखिएको छ । औठा छाप भने कसको खुलाइएको छैन । करार पत्रमा लेखिएका अक्षरहरूलाई नै मसिना बनाएर औँठाछापको स्वरूपमा राखिएको नेताहरूले बताएका छन् । ‘हामीले आज मतदातासँग करार सार्वजनीक गर्यौं,’ रास्वपा सहप्रवक्ता प्रतिभा रावलले भनिन, ‘यसको विस्तृतरूप फागुन ७ गते कर्णलीबाट औपचारिक सार्वजनीक गछौं । जसलाई हामीले वाचापत्र भननेका छौं । करार पत्रमा राखिएको औठाछाप सांकेतिक हो ।’ रावलका अनुसार, देशभरका उम्मेदवारहरूलाई यो करार पत्र वितरण गरिने छ । उनीहरूले चाहेमा यो करार पत्रमा आफ्नो औँठाछाप पनि लगाउन सक्ने छन् ।
‘अहिले सार्वजनिक करार पत्र पार्टीको तर्फबाट हो । देशभरिका उम्मेदवारहरूले आ–आफ्नो स्थानीय मुद्दाहरूलाई समावेश गरेर अर्को करार पत्र पनि गर्नुपर्ने हुन्छ’, उनले मध्यान्हलाई भनिन् । यस पटक रास्वपालाई निर्णयक शक्ति बनाएर पठाउनेमा विश्वस्त रहेको उनले बताईन् । ‘यसपटक हामीलाई जनताले निर्णयक शक्ति बनाएर पठाउनेमा विश्वस्त छौं’, सहप्रवक्ता रावल भनिन् ।