२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

मत जोगाउँदै कांग्रेस–एमाले, खोसेर चुनाव जित्ने दाउमा रास्वपा

shivam cement
जीवन शर्मा
२०८२ फागुन ५ गते ०६:३५
Shares
मत जोगाउँदै कांग्रेस–एमाले, खोसेर चुनाव जित्ने दाउमा रास्वपा

काठमाडौं : अघिल्ला चुनावमा मुख्य वक्ता बनेर देश दौडाहा गर्ने पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसपटक आफ्नै निर्वाचन क्षेत्रमा भ्याइ–नभ्याइ छ । उनी झापा–५ बाट खासै बाहिर निस्केका छैनन् । उनलाई टक्कर दिँदैछन्, रास्वपाका वरिष्ठ नेता बालेन शाह । उनी देश दौडाहामा छन् । तर, धेरै समय भने आफ्नै निर्वाचन क्षेत्रमा बिताएका छन् । आचारसंहिता अनुसार, सोमबार घरदैलो सुरु हुँदा ओली र बालेल दुबै मतदाता भेटघाटमा व्यस्त रहे । रास्वपा सभापति रवि लामिछाने चितवन–२ मा मतदाता भेटिरहेका छन् भने काठमाडौंको परम्परागत निर्वाचन क्षेत्र छाडेर सर्लाही–४ पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा मधेसमा नयाँ लहरको पर्खाइमा छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वमा उकाली–ओराली गर्दैछन् ।

औपचारिक चुनावी अभियानमा जुटेका दल र नेताहरूले आफ्नो पक्षमा लहर ल्याउन बेग्ला–बेग्लै रणनीति अपनाएका छन् । २१ फागुनको निर्वाचनमा प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले, नेकपा, र रास्वपाका उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । निर्वाचनपछि सरकारको नेतृत्व गर्ने दाबीसहित यी दलहरु रणनीतिक बैठकदेखि चुनावी माहोल तताउन शीर्ष नेताहरूलाई मैदानमा उतारेका छन् । 

कांग्रेसले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरूलाई अग्रमोर्चामा उभ्याएको छ । उपसभापति शर्माको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाइएको छ । यो समितिले सात वटै प्रदेशहरुमा चुनावी कमाण्डर खटाएर जनमत बटुल्ने काम गरिरहेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए । सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल, गुरूराज घिमिरे आफैं उम्मेदवार बनेर चुनावी मैदानमा छन् । 

उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहित पदाधिकारी तथा केन्द्रिय सदस्यहरू चुनावी कमाण्ड हाँकेका छन् । कांग्रेसले ‘अबकी बार, १०० सिट पार’लाई लक्ष्य बनाएर चुनावी रणनीतिक बनाएको छ । 

निर्वाचन आयोगले सोमबारबाट दलहरूलाई औपचारिकरूपमा चुनावी कार्यक्रम गर्ने समय तोकेको छ । यो सँगै दलका शीर्ष नेताहरू चुनावी सभाको कार्यतालिका बनाएर देशव्यापी आमसभामा जुटेका हुन् । कांग्रेस उपसभापति शर्माले सोमबार लमजुङ र तनहुँको दमौलीमा चुनावी सभालाई सम्बोधन गरे । तर, कांग्रेसले पार्टीको तर्फबाट ६ फागुनमा जनकपुरमा पहिलो चुनावी आमसभाको तयारी गरेको छ । सोही आमसभामार्फत पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ । कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले मधेश सबै कुराले दबिएको र पिछडीएका कारण कांग्रेसले मधेशका समस्या सम्बोधन गर्न निर्वाचनमा मधेशलाई प्राथमिकतामा राखेको बताए ।

‘पार्टीको पहिलो आमसभा मधेश प्रदेशमा गर्नुको कारण कांग्रेसले मधेशमा उर्जा भर्न हो’ उनले मध्यान्हसँग भने, ‘जहिले मधेशप्रति कांग्रेस सकारात्मक हुन्छ, तब कांग्रेसले सरकार बनाउँछ र जहिले मधेशमा कांग्रेसले मेहनत गर्दैन त्यसबेला कांग्रेस राष्ट्रमै दोस्रो  बन्न पुग्छ ।’ 

कांग्रेसले ‘भिजन १०’ को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ । 

त्यस्तै, एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएर चुनावमा होमिएको छ । गत पुस २२ गते नै एमालेले चुनाव परिचालन कमिटी बनाएको थियो । चुनाव परिचालन कमिटी सचिवको जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ । एमालेले यो कमिटीलाई उम्मेदवार व्यवस्थापन, प्रचार रणनीति, जनसम्पर्क, कार्यकर्ता परिचालन र विपक्षी दलसँगको राजनीतिक तथा रणनीति प्रतिस्पर्धाको समन्वय गर्ने मुख्य निकायका रूपमा अघि सारेको जनाएको छ । एमालेका अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेलसहितका अधिकांश शीर्ष नेताहरू उम्मेदवार छन् । 

यस पटक नयाँ शक्तिका रूपमा उदाएका दल र तिनका उम्मेदवारको निशानामा परम्परागत राजनीतिक शक्तिहरू परेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली मुख्य तारो बनेका छन् । जेनजी आन्दोलनमा निर्मम दमन गरेको आरोप उनीमाथि छ । आफ्नै निर्वाचन क्षेत्रका मतदाता रिझाउनुपर्ने स्थितिमा ओली अरू निर्वाचन क्षेत्रमा जान सकेका छैनन् । यसपटक ओलीलाई चुनावी दौडाहा नगराइने एमालेले जनाएको छ । चुनाव परिचालन कमिटीका सचिव विष्णु रिमालले एमालेलाई राष्ट्रिय शक्ति निर्माणका लागी पार्टीका सबै संरचना सशक्त भएर लागेको बताए । उनले भने, ‘यो चुनाव देश जलाउने र जोगाउनेबीचको जनमत संग्रह हो । जबसम्म एमाले निर्णयक शक्ति बन्दैन, तवसम्म मुलुकले निकास पाउँदैन । हामी त्यही अनुसार चुनावी अभियानलाई रणनीतिक बनाएर जनताको मत बदल्ने अभियानमा छौ ।’ एमालेले ७ गते घोषणा पत्र सार्वजनिक गर्ने जनाएको छ । 

आगामी निर्वाचनमा राम्रो सिटको अपेक्षा गरेको रास्वपाले ७ फागुनमा कर्णाली प्रदेशबाट पहिलो आमसभा राखेर वाचापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसबाट उसले पछाडि परेको कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेको सन्देश दिन चाहेको छ ।  ‘हामी फागुन ७ गते कर्णालीको सुर्खेतबाट विस्तृत घोषणापत्र सार्वजनिक गर्छौं’, रास्वपा सहप्रवक्ता प्रतिभा रावलले भनिन् । कर्णालीबाट घोषणापत्र सार्वजनिक गर्न लाग्नुमा पार्टीले उक्त प्रदेशलाई विशेष प्राथमिकता दिएको अर्थमा बुझ्नुपर्ने रावलको भनाइ छ । शीर्ष नेताहरू रवी लामिछाने र बालेन शाह गाडीबाट हात हल्लाउँदै देशव्यापी अभियानमा दौडेका छन् । उनीहरूलाई स्वागत गर्नेहरूको भिड बाक्लो छ । त्यसैलाई चुनावी लहर मानेर रास्वपा उत्साहित देखिन्छ । आफूलाई नयाँ र जेनजी आन्दोलनको एजेण्डा बोकेको दाबी गर्ने रास्वपाका शीर्ष नेताहरू पूर्वी पहाड, मधेशदेखि पश्चिमसम्मका जिल्ला दौडाहा गर्दै चुनावी अभियान अघि बढाइरहेका छन् ।  

नेकपा, जसपा नेपाल, जसपा, राप्रपा, उज्यालो नेपाल, श्रम संस्कृति, नेपाल मजदुर किसान पार्टी, प्रलोपालगायतका पार्टी पनि चुनावी घोषणापत्र सार्वजनिक गरेर घरदैलो गर्दैछन् । रूकुमपूर्वबाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो जित सहज देखेका छन् । त्यही भएर उनी सकेसम्म बढी निर्वाचन क्षेत्रमा गरिएका आमसभामा उपस्थित हुने तयारीमा छन् । १९ वटा कम्युनिष्ट घटक मिलाए एउटै पार्टी बनाएका प्रचण्डले भावी प्रधानमन्त्रीको घोषणा नगरे पनि घोषणा गर्नेहरू भन्दा पहिले आफू नै प्रधानमन्त्री बन्ने बताएका छन् । पार्टीलाई संसदमा ठूलो दल बनाउन कतिपय निर्वाचन क्षेत्रमा साना दलहरूसँग आन्तरिक चुनावी एकतालाई पनि नेकपाले चुनावी रणनीति बनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर