
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले अघिल्ला तीन निर्वाचन जितेको काठमाडौं–४ राष्ट्रिय राजनीतिमा चर्चाको क्षेत्र हो । फागुन २१ को चुनावमा थापाले यहाँबाट उम्मेदवार छैनन् । उनको साटो ३५ वर्षीय सचिन तिमल्सेना कांग्रेसबाट उम्मेदवार छन् ।
तिमल्सेनालाई उम्मेदवार बनाएर सभापति थापाले ‘विरासत’ जोगाउदै युवालाई संसदमा पुर्याउने सन्देश दिन खोजेको देखिन्छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका निर्मल कुइँकेल र माओवादीका नन्दकिशोर पुनलाई पराजित गर्दै उदाएका थापाले २०७४ र २०७९ एमाले सचिव राजन भट्टराईलाई पराजित गरेका थिए । २०७९ मा गगनले २१ हजार ३०२ मत पाउँदा भट्टराईले १३ हजार ८५५ मत ल्याएर निकटतम प्रतिष्पर्धी बनेका थिए । त्यतिबेला गगनलाई तत्कालीन माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धनको साथ थियो । कांग्रेसकी सुप्रभा घिमिरे २०६४ मा यसै क्षेत्रबाट विजयी भएकी थिइन् । बदलिएको राजनीति परिस्थितिमा गगनको अनुपस्थितिमा यो क्षेत्रमाथि प्रतिस्पर्धी दलहरुले आँखा लगाएका छन् । उनी मधेश झरेसँगै कांग्रेसबाहेकका उम्मेदवार नतिजा आफ्नो पक्षमा ल्याउन सक्रिय छन् ।
अघिल्ला चुनावमा निरन्तर निकटतम् प्रतिद्वन्द्वी रहेका एमाले सचिव डा. राजन भट्टराई यसपटक गगन अनुपस्थितिको लाभ उठाउने दाउमा छन् । उनको जितमा गगन सधै तगारो बनेका थिए । रास्वपाका पुकार बम नयाँ दलको नारासहित प्रतिस्प्रर्धामा छन् । गत निर्वाचनमा उनी काठमाडौं–१ बाट उम्मेदवार थिए । त्यस्तै, नेकपाबाट इन्द्रकुमार भुसाल, राप्रपाबाट सुरेन्द्रराज भण्डारीसहित २८ जना उम्मेदवार मैदानमा छन् । विघटित संसद्का मुख्य चार दलबाहेक भंगेरा, प्रेसर कुकर, पानीको जार, सारङ्गीजस्ता चुनाव चिन्हले यो क्षेत्रको मतपत्र रंगीएको छ । जित निकाल्ने सम्भावना कम आंकलन गरिएका साना दल र उम्मेदवारले मुख्य प्रतिष्प्रर्धी उम्मेदवारको मत काटेर चुनावी गणित फेरबदल पार्नसक्ने देखिन्छ । ७६ हजार १४१ मतदाता रहेको काठमाडौं–४ मा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन् । भौगोलिक रूपमा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० वडा तथा बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा समेटिएको यो क्षेत्र सामाजिक–आर्थिक रूपमा विविध छ । यही विविधताले यहाँको चुनावलाई अनिश्चित बनाउने गरेको छ ।
एमाले उम्मेदवार भट्टराई यस पटक जित निकाल्ने हिम्मतका साथ मैदानमा आएको बताउँछन् । कांग्रेस सभापति थापाको उम्मेदवारी सर्लाहीबाट हुने पक्का भएपछि एमालेले राजनलाई अघि सारेको हो । दुई पटक गगनसँग पराजित भट्टराई यस पटक परिस्थिति अनुकूल ठान्छन् । ‘मैले यो क्षेत्रका लागि निकै कुरुवानी गरेको छु । हार्दा पनि अन्त गईन्’, उनी भन्छन्, ‘गगनजीको अनुपस्थितिमा यस क्षेत्रका मुद्दालाई राष्ट्रियकरण गर्न मेरो भूमिका रहन्छ । आममतदताको भावना बुझेर नै मैले उम्मेदवारी दिएको हुँ । मतदाताले यस पटक न्याय गर्छन भन्नेमा विश्वस्त छु ।’
उनी राष्ट्रिय राजनीतिमा सक्रिय, परराष्ट्र मामिलाका जानकार र संगठनात्मक रूपमा अनुभवी नेता हुन् । गगन नभएको चुनावमा आफ्नो विगतको हारको श्रृंखला तोडेर सदन छिर्ने दाउमा भट्टराई छन् । एमालेको संगठन पनि यो क्षेत्रमा बलियो छ । स्थानीय तहको नतिजा अनुसार बुढानीलकण्ठ नगरपालिकाका धेरै वडा एमालेले जितेका छन् । तर, संसदीय चुनावमा यस क्षेत्रका मतदाताले फरक निर्णय गर्दै आएका थिए । यस पटक पनि दलभन्दा उम्मेदवारको छवि, प्रतिबद्धता र स्थानीय मुद्दा हेर्ने मनस्थितिमा मतदाता देखिएका छन् ।
खानेपानी, कपन खहरे क्षेत्रको डुबान समस्या, सडकको अवस्था, फोहोर व्यवस्थापन जस्ता पुराना तर समाधान नभएका मुद्दाले मतदाता प्रभावित हुन सक्ने स्थानीय मतदाताहरू बताउँछन् । मतदातासमेत रहेका नागरिक अगुवा खिला सापकोटाले काठमाडौं ४ का मतदाता पार्टीगतभन्दा पनि युवा जोश र नीतिगत तहमा काम गर्न सक्ने उम्मेदवारको खोजीमा रहेको बताए । ‘काठमाडौं ४ मा ७० प्रतिशत नागरिकहरू विभिन्न जिल्लाबाट आएर बसोबास गरेको क्षेत्र हो । यहाँका मतदाताहरू आफैमा सचेत छन्’, सापकोटाले भने, ‘राज्यको नीति निर्माण तहमा पुगेर क्षेत्रका समस्यालाई राज्यको पोलिसी तहमा पु¥याउन सक्ने र बदलीदो परिस्थितिमा युवा र टेक्नोलोजीसँग नागरिकलाई जोड्न सक्ने उम्मेदवार यो क्षेत्रको रोजाइँमा पर्छन् ।’
कांग्रेस उम्मेदवार सचिनले समुदायसँग जोडिएको र पार्टीभित्र सक्रिय युवाको परिचय बनाएका छन । कांग्रेसको परम्परागत मत र गगनप्रतिको सद्भाव उनीतर्फ सर्नसक्ने आंकलन कांग्रेसको छ । तिमल्सेनाले विगतका दुईवटा निर्वाचनमा गगनको टिममा रहेर चुनावी रणनीति बनाएको अनुभव रहेको बताए । ‘म यस क्षेत्रका नामगरिकमाझ नयाँ होइन, पार्टीमै लागेर गगन थापाको चुनाव हाँकेको व्यक्ति हुँ । मसँग यो क्षेत्रको समृद्धिको योजना छ’ उनले भने,‘गगन थापाले कांग्रेसलाई बदल्नुभएको छ । अब उहाँको देश बदल्ने संकल्पलाई पूरा गर्न मेरो उम्मेदवारी हो । यहाँका बहुमत मतदाता मेरो पक्षमा छन् ।’
गगन नभएको मौकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि जित निकाल्न सकिने आशामा छ । रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएर ‘परिवर्तनको विकल्प’ बन्न खोजे पनि पुकारलाई सोचेजस्तो सहज भने देखिँदैन् । अघिल्लो निर्वाचनमा काठमाडौं–१ बाट पराजित बम यस पटक क्षेत्र परिवर्तन गरेर आएका छन् । उनले महिला अधिकार, पारदर्शी काम र जवाफदेही नेतृत्व मुख्य एजेण्डा बनाएका छन् । पछिपछि, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्द्रकुमार भुसाल पनि आफ्नो एजेन्डासहित मत मागिरहेका छन् । मतदाताको भरोसालाई उनले आफ्नो शक्ति मानेका छन् । ‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने हो,’ उनले भने ।
यसपटक काठमाडौं–४ को निर्वाचनमा एमालेका भट्टराई, कांग्रेसका तिमल्सेना र रास्वपाका बमबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने पूर्वानुमान छ । अघिल्लो चुनावको समानुपातिक मतले पनि त्यस्तै संकेत गर्दछ । २०७९ मा कांग्रेसले ११ हजार ८०८, एमालेले १० हजार ५६० र रास्वपाले ९ हजार ४१२ समानुपातिक मत प्राप्त गरेको थिए ।