२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बिरासतको दबाबमा कांग्रेस, सहानुभूतिको आसमा मिश्र

shivam cement
जीवन शर्मा
२०८२ फागुन ७ गते ०६:३५
Shares
बिरासतको दबाबमा कांग्रेस, सहानुभूतिको आसमा मिश्र

काठमाडौं : कुनैबेला नेकपा (एमाले)को गढ मानिने काठमाडौं–१ मा बितेका दुई दशक नेपाली कांग्रेसले प्रभाव जमायो । अघिल्ला चार निर्वाचनमा यसै क्षेत्रबाट निरन्तर निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंह यसपटक भने चुनावी मैदानमा छैनन् । तर, उनीसँग मतान्तर घटाउँदै आएका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तेस्रोपटक उम्मेदवार बनेका छन् । कांग्रेसभित्रको असन्तुष्टि र सिंहको अनुपस्थितिको फाइदा आफूलाई हुने र चुनाव जित्ने आशामा उनी देखिन्छन् । 

२०४६ मा बहुदलीय प्रजातन्त्र पुर्नस्थापनापछिका तीन वटा चुनावमा एमालेका उम्मेदवार यस क्षेत्रबाट निर्वाचित भए । २०५६ सम्मै यहाँ एमालेको दबदबा थियो । २०४८ मा जननेता मदन भण्डारीले यसै क्षेत्रबाट चुनाव जिते । उनको निधनपछि उपचुनावमा विद्या भण्डारीलाई पहिलोपटक सांसद् बनाउने क्षेत्र पनि यही हो । उनीपछि मनमोहन अधिकारी र प्रदीप नेपालले पनि काठमाडौं–१ बाट चुनाव जितेका थिए । त्यसपछिका चार चुनाव भने कांग्रेसले जित्दैआएको छ । कुनैबेला लालकिल्ला मानिने यो क्षेत्रमा २०७९ को चुनावमा एमाले उम्मेदवार चौथो बनेका थिए ।  

२०६४ को पहिलो संविधानसभाबाट कांग्रेस नेता सिंहले यो क्षेत्रमा आफ्नो प्रभाव बढाएका थिए । उनले २०६४, २०७०, २०७४ र २०७९ का चुनाव सजिलै जिते । २०७४ मा सिंहले १० हजार ९३६ मत ल्याएर निर्वाचित हुँदा विवेकशील साझाका तर्फबाट उम्मेदवार बनेका रविन्द्र मिश्रले १० हजार ११८ मत पाएका थिए । त्यसबेला उनी ८१८ मतान्तरले पराजित भए । २०७९ मा राप्रपाबाट उठेका उनै मिश्रले मतान्तर घटाएर १२५ मतमा झारे । सिंह ७ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए । कांग्रेस–राप्रपाबीच रोचक प्रतिष्पर्धा हुँदा एमालेलाई रास्वपाले उछिनेको थियो । रास्वपाका पुकार बमले ४ हजार ११५ मत ल्याउँदा एमालेका उमेदवार किरण पौडेलले ३ हजार ५३२ मतसहित चौथो बनेका थिए । नेपाल सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । नेपालका लागि नेपाली पार्टीको उमेदवार बालकृष्ण न्यौपानले ५९० मत प्राप्त गरेका थिए । सो निर्वाचनमा कांग्रेसलाई माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धनको साथ थियो । 

अहिले सबै दलहरु एक्लाएक्लै मैदानमा छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले सिंहको निरन्तरतामा ब्रेक लगाउँदै नयाँ उम्मेदवार अघि सारेको छ । सभापति गगन थापाले बानेश्वर थापागाउँका युवा नेता प्रवल थापालाई चुनावी मैदानमा उतारेका छन् । प्रकाशमान र उनीनिकट कार्यकर्ता असन्तुष्ट छन् । तर चुनाव नजिकीदै जाँदा कांग्रेसको आन्तरिक एकता बलियो बनेको र आफ्नो जित निश्चित भएको थापाको दाबी छ । संघीय सांसदको भूमिका नीति निर्माणसमेत रहने हुँदा आफूले उद्यमशीलता र स्थायित्व कायम गर्ने सन्दर्भमा नेतृत्वदायी भूमिका निर्माण गर्ने बताए । ‘मेरो दलमा अहिले कुनै समस्या छैन, केवल जित निकाल्न सबै नेताहरू एकजुट छौं’, उनले भने, ‘काठमाडौं १ देशकै मुुटु हो । यसले ७७ जिल्लालाई सन्देश दिनेछ ।’ ४२ वर्षिय थापा पार्टीको प्रदेश सभा क्षेत्रीय सचिव हुन् । उनलाई तत्कालीन नेपाल सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले समेत समर्थन गरेका छन् । 

दुईपटक पराजित भएका राप्रपा नेता मिश्र यस पटक बाजी मार्ने योजनासहित घरदैलोमा छन् । तर मैदानमा रास्वपा, एमालेलगायतका दलहरु पनि रहेकाले चाहेजस्तो जित भने सहज देखिँदैन् । यद्यपि उनले यसपटक पक्का जित्ने दाबी गर्दै आएका छन् । ‘म गत निर्वाचनमा जितिसकेको थिए तर, टेक्निकल रूपमा मलाई हराइयो । यसपटक काठमाडौं १ का मतदाताले मलाई न्याय गर्छन् भन्नेमा ढुक्क छु’, मिश्रले मध्यान्हसँग भने, ‘सुशासन र राजसंस्थासहितको हिन्दु राज्य पुर्नस्थापना गरेर नागरिकलाई सम्पन्न बनाउने मेरो एजेण्डा हो ।’

रास्वपाले केही समयअघि पार्टी प्रवेश गरेकी रञ्जु न्यौपाने ‘दर्शना’ लाई उठाएको छ । यस अघिको निर्वाचनमा  उनी विवेकशील साझा पार्टीबाट काठमाडौं ५ बाट उठेर झिनो मत प्राप्त गरेकी थिइन् । यसपटक सुरुमा रास्वपाले उनलाई समानुपातिक सूचीमा राखेको थियो । उनी गर्भवती भएकाले पनि प्रत्यक्षभन्दा समानुपातिकमै जोड थियो । तर, पार्टीको प्रारम्भिक मतदानमा पाएको मतभन्दा सूचीमा तल राखिएपछि असन्तुष्ट बनेर उम्मेदवारी फिर्ता लिएकी रञ्जु प्रत्यक्षमै मैदानमा उत्रिएकी हुन् । 

एमालेले यस क्षेत्रमा उमेदवार फेरेर मोहनराज रेग्मीलाई अघि सारेको छ । रेग्मी पनि काठमाडौं–१ कै बासिन्दा हुन् । 

गत निर्वाचनमा यस क्षेत्रमा कांग्रेस र राप्रपा मुख्य प्रतिस्पर्धामा थिए भने रास्वपा र एमाले पछिपछि थिए । अहिले पनि प्रतिस्पर्धा त्यस्तै रहने पूर्वानुमान छ । निरन्तरको पराजयले मिश्रप्रति सहानुभूतिको मत पनि आउने देखिन्छ भने आन्तरिक विवाद मिलाउन सके थापाले युवाहरुको साथ पाउन सक्छन् । एमालेले पूरासो साख फर्काउने दाबी गरिरहेको छ भने रास्वपाको पक्षमा पनि माहोल बन्दै गएको दर्शना बताउँछिन् । 

त्यस्तै, नेकपाले मेनुका भण्डारी ‘कृतु’लाई उम्मेदवार बनाएको छ । उनी पत्रकारिता र सामाजिक अभियान्ताको पृष्ठभूमिबाट आएकी हुन् । भण्डारी यसअघि नेकपा एकीकृत समाजवादीमा थिइन् । यो क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालबाट प्रकाश नायजु नेपाल मजदुर किसान पाटी (नेमकिपा)बाट रमिला ज्याख्व (सुवाल), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सबिन सिग्देल उमेदवार बनेका छन् । 

त्यस्तै, श्रमसंस्कृति पार्टीबाट समिर लामा तामाङ, मितेरी पार्टी, नेपालबाट राजकुमार लिम्बु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट धनराज शाही, उज्यालो नेपाल पार्टीबाट मंगलाल श्रेष्ठ, नेपाल जनसेवा पार्टीबाट अर्जुनबहादुर शाही, समावेशी समाजवादी पार्टी सुरेन्द्र पाण्डे, जनादेश पार्टी नेपालबाट कमल सुवेदी उमेदवार छन् । असिमानसिंह बस्न्यात, कमल कोइराला, कुशल खत्री, कुमार शाही स्वतन्त्र उमेदवार छन् ।  त्यस्तै, किरण शाह, राजु भुजेल, रमेशप्रसाद जोशी, राजकुमार बजगाईं, शम्भु पोखरेल, शान्ति श्रेष्ठ, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी, संगित बमसहित उम्मेदवार छन् ।

ताजा खबर

सम्बन्धित खबर