२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बढ्दो छ वन्यजन्तु–मानव द्वन्द्व, घोषणापत्रले छोएन

shivam cement
सपना बोहरा
२०८२ फागुन ८ गते ०६:२५
Shares
बढ्दो छ वन्यजन्तु–मानव द्वन्द्व, घोषणापत्रले छोएन

काठमाडौं : राष्ट्रिय वन तथा निकुन्ज छेउछाऊका बस्तीमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बर्षेनी बढ्दो छ । बाघ–चितुवाको आक्रमण र भालु, हात्ती तथा बाँदरले किसानको खेतीमा क्षति पुर्‍याउँदा सर्वसाधारण हैरान छन् । यस विषयको ध्यानाकर्षण गराउन मध्यवर्ति क्षेत्रका बासिन्दाले पटक–पटक केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराउँदैआएका छन् । संसद्मा छलफल नभएको पनि होइन । तर, दलहरुले ल्याएको चुनावी घोषणापत्रमा भने महत्वका साथ समेटिएन् । 

आर्थिक वर्ष २०८१/२०८२ मा मात्र देशभर वन्यजन्तुको आक्रमणका ५ सय ३ वटा घटना भएका छन् । जसवाट ५० जनाको ज्यानै गयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ती आक्रमणमा २ सय ४१ जना घाइते भएका छन् । त्यसमा ७ सय ३६ परिवार प्रभावित भएका छन् । 

वन्यजन्तुका कारण किसानहरुको खेतवारी तथा अन्नबाली १ करोड ५१ लाख ७० हजार १ सय रकमभन्दा बढीको नोक्सानी बेहोर्नुपरेको प्राधिकरणले जनाएको छ । एक वर्षको अन्तरमा ३ सय २४ वटा पशु चौपाया वन्यजन्तुको आक्रमणमा परे । त्यस्तै चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस मसान्तसम्म मात्र देशभर वन्यजन्तु आक्रमणका ३२ जनाको मृत्यु भएको छ । आक्रमणमा परी १ सय ४७ जना घाइते भएको प्राधिकरणले जनाएको छ । जसवाट ५ सय २० परिवार प्रभावित भएका छन् भने १ करोड २१ लाख ९३ हजार भन्दा बढी निजी सम्पत्ति नोक्सानी भएको छ । 

बाँके राष्ट्रिय निकुञ्ज पीडितहरूले वन्यजन्तुबाट आफूहरूलाई सुरक्षित बनाउन राजनीतिक दल र दलको प्रतिनिधित्व गर्ने नेताहरूले भूमिका नखेलेको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका थिए । तर राजनीतिक दलहरु पार्टीको एजेण्डामा समेट्नेभन्दै आस्वासन दिएका थिए । 

निकुञ्ज क्षेत्रबाट आएका वन्यजन्तुले स्थानीयको बालीनालीमा क्षति पुर्‍याएको र घरपालुवा वस्तुभाउमा समेत क्षति पुगेको उनीहरुको गुनासो रहँदैआएको छ । निकुन्ज क्षेत्र वरपरका बासिन्दाले आफूलाई असुरक्षित महशुस गर्दैआएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई रास्वपा नेता बालेन्द्र शाहले बस्ती नै सार्नुपर्ने बताए भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने धारणा व्यक्त गरेका थिए ।

तर मुख्य राजनीतिक दलका घोषणापत्रले व्यवहारिक समाधान खोज्नेगरी कुनै योजना अघि सार्न सकेको देखिँदैन । प्रभावित क्षेत्रका बासिन्दाको हित संरक्षणका लागि अभियान चलाउँदैआएकी मानव अधिकारकर्मी  हिमा सुनार पछिल्लो समय वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गए पनि समाधानको खोजी हुन नसकेको गुनासो बताउँछिन् । ‘दिनहँु वन्यजन्तुको आक्रमणवाट स्थानीयको ज्यान गईरहेको छ । अवस्था भयावह छ ।’, उनले भनिन्, ‘‘वन्यजन्तुको त्रासले विद्यार्थीहरु विद्यालय जान डराउछन्, खेती  गर्न खेतवारीमा जान डर छ । चौपायालाई वनजंगल चराउन, घाँस दाउरा गर्न डर छ ।’ 

वन्यजन्तुको त्रासले दैनिकी नै प्रभावित भएको उनी सुनार बताउँछिन् । ‘सरकारलाई हामीले धेरै ध्यानाकर्षण गरार्यौ तर चासो देखाएनन्’, उनले भनिन्, दलहरुले घोषणापत्रमा पनि महत्व दिएनन् ।’ वन कार्यालय तथा स्थानीय तहहरुले सचेतना कार्यक्रम चलाउने गरे पनि वन्यजन्तुको आक्रमणका घटना घट्न सकेको छैन । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिहरुले उचित राहत तथा खेतीवारीमा नोक्सानी भएको क्षतिपुर्तिसमेत नपाएको उनी बताउँछिन् ।

ताजा खबर

सम्बन्धित खबर