
ललितपुर : ललितपुरको नखिपोटस्थित आइकेओ क्योकुसिनकाई कराते डोजोमा १५औं बेल्ट टेस्ट सम्पन्न भएको छ । शुक्रबार र शनिबार आयोजित परीक्षामा नियमित प्रशिक्षणमा रहेका ३२ जना जुनियर खेलाडी सहभागी भएका थिए ।
डोजोका प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठका अनुसार बेल्ट टेस्टमा सहभागीमध्ये २ जनाले ब्राउन बेल्ट, ७ जनाले सिनियर ग्रीन बेल्ट, २ जनाले ग्रीन बेल्ट, ७ जनाले येलो बेल्ट, ६ जनाले ब्लु बेल्ट र ८ जनाले अरेन्ज बेल्टका लागि परीक्षा दिएका छन् ।
परीक्षामा प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठ, प्रशिक्षक सेन्सेई उत्तम स्थापित तथा सहायक प्रशिक्षक विनेश स्याङ्तानले खेलाडीहरूको सीप र क्षमताको मूल्यांकन गरेका थिए ।
आइकेओ क्योकुसिनकाई नेपालका ब्रान्च चिफ सेन्सेई दीपक लामाले बेल्ट टेस्ट खेलाडीको स्तर निर्धारण गर्ने महत्वपूर्ण आधार भएको बताए । उनका अनुसार यस प्रक्रियाले खेलाडीको वास्तविक क्षमता पहिचान हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न सहयोग पुग्छ । ‘बेल्ट टेस्टबाट खेलाडीको क्षमताको मूल्यांकन हुन्छ, प्रतिस्पर्धात्मक भावना विकास हुन्छ र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने हिम्मतिला खेलाडीको पहिचान सम्भव हुन्छ,’ उनले भने ।
प्रमुख प्रशिक्षक श्रेष्ठले कडा अनुशासन र मेहनतका आधारमा मात्रै स्तरोन्नति गराइएको स्पष्ट पारे । उनका अनुसार ६० दिन नियमित हाजिर भई आवश्यक मापदण्ड पूरा गरेका खेलाडीलाई मात्र बेल्ट टेस्टमा सहभागी गराइएको थियो । लिखित परीक्षा, बेसिक (किहोन) परीक्षण, स्टेपिङ, काता र कुमिते जस्ता प्राविधिक पक्षमा सफल भएपछि मात्रै खेलाडीलाई स्तरोन्नतिमा समावेश गरिएको उनले जानकारी दिए ।
डोजोमा प्रत्येक तीनदेखि चार महिनामा बेल्ट टेस्ट आयोजना गर्ने प्रचलन रहेको पनि श्रेष्ठले जानकारी दिए । दुई दिनसम्म चलेको परीक्षामा खेलाडीहरूले पूर्ण अनुशासनमा रही निर्धारित मापदण्ड पूरा गरेका थिए ।