
उदयपुर : एन्फा महिला फुटबल च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । उदयपुरको थारुहट रंगशाला, गाईघाटमा शनिबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।
पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि गोल हुन सकेन । दोस्रो हाफमा खेल थप रोमाञ्चक बनेको थियो । ५४औं मिनेटमा गीता राणाले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । त्यसपछि ६८औं मिनेटमा रेनुका नगरकोटीले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर पारिन् ।
आर्मीले ७१औं मिनेटमा जेनिफर राणामार्फत एक गोल फर्काए पनि त्यसपछि बराबरी गोल गर्न सकेन । खेलको ‘म्यान अफ द म्याच’ एपिएफकी गीता राणा घोषित भइन् ।
उपाधिसँगै एपिएफले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ एपिएफकी अन्जना राना मगर उत्कृष्ट गोलरक्षक घोषित भइन् भने सर्वाधिक गोलकर्ता रश्मी कुमारी घिसिङ बनिन् । सर्वोत्कृष्ट खेलाडीको उपाधि त्रिभुवन आर्मी क्लबकी दीपा शाहीले हात पारिन् । उनीहरूले जनही ५० हजार रुपैयाँ पुरस्कार पाए ।
फागुन १ गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरका १० शीर्ष महिला टोलीहरूको सहभागिता रहेको थियो । फाइनल खेल अवलोकन गर्न मैदानमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सह–आयोजनामा सम्पन्न भएको हो । एन्फाका महासचिव किरण राईले उदयपुरको थारुहट रंगशालामा आगामी दिनमा राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय प्रतियोगितासमेत आयोजना गर्न सकिने सम्भावना रहेको बताए ।