
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको गौरमा भएको झडपले देशभरको चुनावी सुरक्षामा चुनौति थपिएको छ । गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा मुस्लिम र हिन्दुु समुदायका नाममा शनिबार भएको झडपले उग्ररूप लिएपछि देशभरको चुनावी चिन्ता बढेको हो ।
चुनाव नजिकीदै जादा राजनीतिक दलका कार्यकर्ताबीच बढ्दै गएको तनाव र विभिन्न जातीय, धार्मिक र साम्प्रदायिक द्वन्द्वले निर्वाचनको सुरक्षामाथि चुनौती थपेको सरकारको विश्लेषण छ ।
गौर घटनाको विषमयमा प्रधानमन्त्री सुशीला कार्कीले समेत चासो राखेकी छन् । उनले केन्द्रीय सुरक्षा समितिलाई आवश्यक रणनीतिसहित सुरक्षा व्यवस्था कडाईगर्न निर्देशन दिएकी छन् ।
रौतहट प्रहरीका अनुसार मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको हो । यसले गौरको वडा नम्बर ४, ५ र ६ को शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेलहरू प्रहार गर्नुपर्यो ।
झडपका क्रममा प्रदर्शनकारीहरूले केही सवारी साधनमा आगजनी सँगै व्यक्तिका तोडफोड समेत गरेका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा शेख जमशेदसहित २२ जनालाई नियन्त्रणमा लिएको रौतहट जिल्ला प्रहरी प्रमुख रविन कार्कीले जानकारी दिए ।
जनमत पार्टीका जिल्ला संयोजक समेत रहेका जमशेद वडा नम्बर ६ का पूर्वअध्यक्ष समेत हुन् । घटनामा दर्जनबढी व्यक्तिहरू घाइते भएका थिए । यो घटनाका कारण थप हिंसा फैलनेसक्ने भन्दै जिल्ला प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएपछि भएको विवादले हिंसात्मक रुप लिएको थियो ।
त्यही विषयमा शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति समेत गराएको थियो । तर शनिबार सहमति उल्लंघट गर्दै झडप भएको प्रहरीले जानएको छ । उक्त घटनामा संलग्न २२ जानलाई नियन्त्रणमा लिएर थप अनुसन्धानकालागि हिराशतमा राखिएको जिल्ला प्रहरी प्रमुख रविन कार्कीले बताए । उनले भने, ‘अहिले अवस्था सामान्य छ । घटनामा संलग्न देखिएको २२ जानलाई पक्राउ गरी थप अनुसन्धान जगर्दै छौं । स्थितिलाई सामान्वीकरण गर्न दिउसोदेखि कफ्र्यू जारी छ ।’
गौर नगरपालिका–४ मचकुटिया टोलसहित वरपरका स्थानमा प्रदर्शनकारीहरूले ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी गरेका थिए । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिएपनि भित्री भागहरूको अवस्था राती अवेरसम्म तनावग्रस्त रहेको थियो । प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कफ्र्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताएका छन् । यद्यपि यसलाई विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिबार दिउसो १ बजेबाटै जिल्ला प्रशासन कार्यालयबाट कफ्र्यू लगाएर नेपाली सेना परिचालन गर्दा समेत लामो समयसम्म आगजनीका घटना भइरहे । प्रहरी प्रशासनलाई तनाव व्यवस्थापन गर्न निकै गाह्रो भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेलहरू प्रहार गरेको थियो ।
शनिबार नै सुनसरीको भोक्राहा नरसिङ गाउपालिका ४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रहरीद्धारा लाठीचार्ज भएको छ । कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवाहरूसँग जम्काभेटपछि विवाद हुँदा हात हालाहालको अवस्था आएको थियो । हुललाई तितरवितर बनाउन प्रहरीले लाठीजार्च गरेर स्थिति सामान्य अवस्थामा लिएको जनाएको छ । बिहीबार दाङमा रास्वपाका कार्यकर्ताले एमालेको भण्डा जलाएको विषयमा शुक्रबार एमाले समर्थित युवाहरूले राँकेजुलुस गर्दै दाङस्थित रास्वपाको कार्यालय समेत ताडफोड गरेका थिए । सो घटनामा ३ जान व्यक्तिहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
यीनै घटनाका सन्दर्भमा शनिबार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । पछिल्लो समय रौतहट, सुनसरी दाङ लगायत विभिन्न जिल्लामा भइरहेका धार्मिक तथा राजनीतिक घटनासँग केन्द्रित रहेर बसेको बैठकले निर्वाचन क्षेत्रहरुमा तीनै तहका सुरक्षा संयन्त्रको समन्वयमा काम गर्न निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले चुनावी सुरक्षा तयारीको समीक्षा, शनिबार भएको रौतहट घटनाका बारेमा छलफल र निर्वाचन आचारसहित लगायतका विषयमा निर्णय गरिएको काफ्लेले बताए ।
‘सुरक्षा समितिको बैठकले संवेनदशील निर्वाच क्षेत्रमा चारवटै सुरक्षा अंगका उच्च तहका कर्मचारी खटाएर सुरक्षाको प्रवन्ध गर्ने निर्णय गरेको छ’, उनले मध्यान्हसँग भने, ‘रौतहटको घटनाको सन्दर्भमा सबैलाई संयमता अपनाउन आब्हान गर्ने, जिल्ला सुरक्षा समितिमार्फत उचित सुरक्षा समन्वय गरी आवश्यक जनशक्ति बढाउने र घटनामा संलग्नलाई कारवाही गर्न निर्देशन दिने निर्णय गरेको छ ।’ त्यस्तै मधेश प्रदेशका संवेदलनशील क्षेत्रहरूमा सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण गरी आवश्यक रिपोटिंग गर्न समितिले सम्बन्धीत सबै सुरक्षा निकायलाई निर्देशन गरेको छ । ‘तराईका निर्वाचन क्षत्रको सुरक्षा चाुनौतिका सम्बन्धमा सुरक्ष्म अध्यायान गर्न नेपाल प्रहरीका एआईजी उपमाप्रसाद चर्तुवेदीको नेतृत्वमा सुरक्षा संयन्त्रलाई परिचालन गर्ने निर्णय गरेको छ’, गृहप्रवक्ता काफ्लेले भने ।
बैठकले निर्वाचन प्रचार प्रसारको क्रममा दलहरूबाट हुने आचारसंहिता उल्लंघनका घटनालाई नियन्त्रणमा लिने समेत निर्णय लिएको छ । विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल केन्द्रित भएको थियो ।
संयमित र जिम्मेवार बन्न दलहरूको आग्रह
पछिल्ला केही दिनयताका घटनाक्रमलाई लिएर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र मधेश केन्द्रित दलहरूले समेत चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसले पछिल्ला घटनाप्रति सबै सचेत भएर निर्वाचनलाई सफल बनाउन सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ ।
‘लोकतन्त्रमा त्यस्ता गतिविधि समान्य हुँदैनन’, पार्टी प्रवक्ता देवराज चालिसेले भने, ‘चुनावको समयमा सबै पक्ष संयमित भएर निर्वाचनलाई सफल बनाउनु सबै लोकतन्त्रबादीहरूको दायित्व हो । यसमा सरकारको मुख्य जिम्मेवारी रहन्छ भने राजनीतिक दल र उम्मेदवारसहित सम्बन्धित निकाय त्यत्तिकै जिम्मेवार हुनु जरूरी छ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने पछिल्ला घटनाक्रमलाई लिएर रास्वपाको आलोचना गरेको छ । रास्वपा हुलहुज्जत र अमर्यादित व्यवहारमा उत्रिएको आरोप लगाएको छ ।
चुनावी क्षेत्र झपामा रहेका ओलीले पत्रकारहरूसँग भने, ‘आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने, तर आफ्नो पक्षमा नतिजा आउँदैन भने चुनावै हुन नदिने खालको प्रवृत्ति उहाँहरूमा देखियो’, उनले भनेका छन् ।
ओलीले रास्वपाको होहल्ला गर्ने र बलमिच्याइँ गर्ने काम गरिरहेको तीव्र आलोचना गर्दै रास्वपाले चुनावमा दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् ।
शनिबार रौतहटमा भएको घटनालाई लिएर नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार समेत रहेका नेता माधवकुमार नेपालले सबै समुदायबीच आपसी सदभाव कायम गर्दै संवादबाट समस्या समाधान खोजिनु पर्ने बताए ।
त्यस्तै आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं. ३ का उम्मेदवार प्रभु साहले गौर नगरपालिकामा देखिएको सामुदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन् ।
‘हामी हिन्दु, मुस्लिम बर्षौदेखी एउटै समाजमा मिलेर बस्दै आएका छौं । रौतहट सर्वकल्याणको भूमि हो, सबैको सहअस्तित्व स्वीकार्दै मिलेर अगाडी बढनुको विकल्प छैन,’ साहले भनेका छन् ।