२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

निर्णायक बन्दैछन् नयाँ मतदाता

shivam cement
सपना बोहरा
२०८२ फागुन ११ गते ०६:२०
Shares
निर्णायक बन्दैछन् नयाँ मतदाता

काठमाडौं : कानुन पढ्दै गरेकी रामेछापकी सुनिता कार्की घर जान आतुर छिन् । उनी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न गाउँ जान लागेकी हु्न् । १८ वर्षिया कार्कीका लागि यो पहिलो मतदान हो । त्यसैले उनी उत्साहित छिन् । ‘१६ वर्ष पुगेर नागरिकता पाउँदा निकै खुशी लागेको थियो । १८ वर्ष लागेकै वर्ष मतदान गर्न पाउँदा त्यस्तै उत्साहित छु’ उनले भनिन् । 

नियमित चुनाव हुँदो हो त कार्कीले भोट हाल्न अझै दुई वर्ष कुर्नु पथ्र्यो । २०८४ मा मतदान गर्न पाउँछु भन्ने उनको मनमा थियो । तर, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण दुई वर्षअघि नै चुनाव हुने स्थिति आयो । त्यसैले यसपटकको चुनावलाई उनले ऐतिहासिक ठानेकी छिन् । ‘म खासै राजनीति बुझ्दिन्, तर नेपालको प्रशासनिक सिस्टम देख्दा दिक्क लाग्थ्यो,’उनी भन्छिन्, ‘अबको निर्वाचनले केही परिवर्तन हुन्छ कि ?’ चुनावमा सुशासनप्रति दृढ उम्मेदवारलाई भोट दिन आफू रामेछाप जान लागेको कार्की बताउँछिन् । 

कार्कीजस्तै संखुवासभाका विवेक पराजुली पनि घर जाने तरखरमा छन् । उनी आफू मात्र होइन्, साथीहरुलाई पनि मतदान गर्न गाउँ जान भनिरहेका छन् । पुतली सडकमा रहेको भाषा सेन्टरमा पढेर युरोपमा थप अध्ययन गर्न जाने तयारीमा रहेका पराजुली भन्छन्, ‘यति ठुलो आन्दोलन गरेर विशेष निर्वाचन हुँदैछ । एक भोटले हार जिन हुन्छ । त्यसैले जानुपर्छ ।’ १९ वर्षमा उनले पहिलो पटक मतदान गर्दैछन् । ‘समय जति लागोस् बाल, मत मतदान गर्न जाने हो,’ उनले भने, ‘जेजनीको भावनाअनुसार जसले योजना ल्याएको छ, त्यसैलाई मतदान गर्नुपर्छ ।’ उनी युरोपको जस्तो विकास र प्रणाली नेपालमा देख्न चाहन्छन् । 

पहिलोपटक मतदान गर्न लागेकी काठमाडौँ मैतीदेवीकी संगिता श्रेष्ठले भोट दिने उम्मेदवारसमेत चुनिसकेको बताइन् । ‘चुनावमा एक मतको पनि महत्व हुन्छ । मतदान मेरो अधिकार मात्र होइन्, कर्तव्य पनि हो,’उनले भनिन् । मतदाता नामावली सूचीमा नाम दर्ता गर्न उनी आफै आयोग पुगेकी थिइन् । पहिलो मतदान भएकाले उत्सुक रहेको उल्लेख गर्दै श्रेष्ठ आफ्नो मत सदुपयोग गर्न युवा पुस्तालाई आग्रह गर्छिन् । ‘हामीले पार्टी हेर्ने होईन्, उम्मेदवार हेर्ने हो । जसको राम्रो योजना छ, उसैलाई मतदान गर्नु पर्छ,’उनले भनिन् ,‘सहि समय सान्दभिर्क भिजन भएको नेता छान्ने हो । यो अवसर गुमाउनु हुदैन् ।’ 

सुनिता, विवेक र संगिताजस्ता नयाँ मतदाताहरु फागुन २१ गते हुने निर्वाचनका लागि उत्साहित छन् । मतदाता नामावलीमा नाम दर्ता भएका फागुन २० गतेसम्म १८ वर्ष पुरा भएकाले मतदान गर्न पाउने प्रावधान रहेको निर्वाचन आयोगले जनाएको छ । अध्ययन गर्न सहर पसेका उनीहरु योग्य नेता चुन्न गाउँ जाने तयारीमा छन् । उनीहरु जस्तै यसपटक देशभर ९ लाख १५ हजार १ सय १९ जना नयाँ मतदाताहरु छन् । जो पहिलो पटक मतदान गर्दैछन् । नयाँ मतदातामध्ये अधिकांश जेनजी उमेर समूहका भएकाले यसपटकको निर्वाचनमा यो समूहलाई निर्णायक मानिएको छ । 

निर्वाचन आयोगका सुचना अधिकारी सुमन घिमिरेका अनुसार, नेपालमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९  मतदाता छन् । जनसंख्यामा पुरुषभन्दा महिला धेरै भए पनि मतदाता नामावलीमा महिलाको संख्या कम छ । पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३ सय ५८ छ रहेकोमा महिला मतदाताको संख्या ९२ लाख ४० हजार १ सय ३१ छ । झण्डै २ सय यौनिक अल्पसंख्यक मतदाता सूचीकृत छन् । सबैभन्दा बढी १ लाख ८७ हजार ९ सय ५२ मतदाता रामेछापमा छन् । सबैभन्दा कम झण्डै ७ हजार मतदाता मनाङ जिल्लामा छन् । 

निर्वाचन कार्यालय अनुसार, सबैभन्दा बढि बागमती प्रदेशमा ३६ लाख ८२ हजार ३ सय १० जना मतदाता छन । त्यस्तै मधेश प्रदेशमा ३६ लाख ३६ हजार ४ सय १४ जना, कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३ सय १०, लुम्बिनी प्रदेशमा ३३ हजार ८६ हजार ६ सय ८० मतदाता छन् । त्यसैगरी गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ सय मतदाता छन् भने सुदुरपश्चिममा १७ लाख १६ हजार ६ सय ६० जना र सबैभन्दा कम कर्णाली १० लाख ३७ हजार २ सय ५० जना मतदाता छन् । 

सम्बन्धित खबर