२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एकातिर लहर, अर्कोतिर पहिरो

shivam cement
जीवन शर्मा
२०८२ फागुन ११ गते ०६:२५
Shares
एकातिर लहर, अर्कोतिर पहिरो

काठमाडौं : माघ ५ मा जनकपुर सभाबाट मधेस छिर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुन लहर थियो, एक महिनापछि त्यो चुनावी ज्वरो ओर्लिंदै गएको छ । फागुन ६ मा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गर्दै रास्वपा नेतृत्वको सुशासनप्रति प्रश्न उठाइन् । पार्टीले नारामा ‘जान्नेलाई छान्ने’ भने पनि व्यवहारमा उल्टो भएकोभन्दै आफूले पार्टी छाडेको उनले दाबी गरेकी छन् ।  

उम्मेदवार छनौट प्रक्रियाप्रति प्रश्न उठाउँदै केही दिनअघि प्रणयशमशेर राणाले पनि रास्वपा छाडे । उनले पनि नेतृत्वमाथि संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाए । ‘थितिको थालनी र वेथितिको अन्त्य’ भन्ने नारासहित स्थापना भएको पार्टी उल्टो बाटोतर्फ गएको राणाको टिप्पणी छ । उम्मेदवारी छनोट प्रक्रिया संगठनको आधारमा प्राइमरी निर्वाचनबाट हुने भनिए पनि व्यवहारमा लागू नभएकोप्रति उनी असन्तुष्ट थिए ।

रास्वपा छाडेका ममता र प्रणय दुबै नेता कांग्रेस प्रवेश गरेका छन् । मधेशकी नेतृ शर्मा फागुन ६ मा जनकपुरमा चुनावी सभाबाट कांग्रेस प्रवेश गरेकी हुन् भने प्रणय काडमाडौं ५ मा चुनावी कार्यक्रमबाट । यी दुवै नेतालाई कांग्रेस सभापति गगन थापाले सदस्याता दिएर स्वागत गरे । यी दुई मात्र होइन्, पछिल्लो समय रास्वपाका प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरुले पार्टी छाडिरहेका छन् । 

वागमती प्रदेशका उपसभापति दिनेश हुमागाईले दुई दिनअघि रास्वपा छाडे । उनले रास्वपा आफ्नो सिद्धान्तबाट विचलित भएको आरोप लगाउदै सो दलबाट अलग भएको बताएका छन् । उनी २०७९ को चुनावमा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । नुवाकोटका रास्वपा नेता अशोककुमार थापाले फागुन ९ मा पार्टी परित्याग गरे । थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै गएको तथा नेतृत्व नीतिभन्दा ‘आशीर्वाद’का आधारमा चयन हुन थालेको आरोप लगाएका छन् । उनी पनि २०७९ सालको निर्वाचनमा नुवाकोट २ बाट रास्वपा उम्मेदवार थिए ।  

यी प्रतिनिधि पात्र मात्रै हुन् । प्रतिनिधिसभाको निर्वाचनको समय नजिकिँदै जाँदा सामाजिक सञ्जालमा रास्वपाको पक्षमा जसरी लहर देखिएको छ, अर्कोतर्फ त्यसैगरी पहिरो जानेक्रम जारी छ । चुनावको मुखमा धमाधम पार्टी छाड्ने लहरले चुनावी परिणाममा धक्का लाग्ने त्रास बढेको रास्वपा नेताहरू बताउँछन् । छाड्नेहरुले पार्टी सञ्चालनको विधि, पद्धति र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुका साथै समयको पदचापलाई पार्टीले पछ्याउन नसकेको आरोप लगाएका छ । त्यसो त, चुनाव सरगर्मी सुरु नहुँदै रास्वपा छाड्ने क्रम सुरु भइसकेको थियो । जसमा पूर्वमन्त्रीदेखि पूर्वप्रमुख सचेतकसमेत छन् । पूर्वमन्त्री सुमना श्रेष्ठले गत भदौको जेनजी आन्दोलनपछि पार्टी छाडेकी थिईन भने पूर्वप्रमुख सचेतक सन्तोष परियारले निर्वाचनको समानुपातिक बन्दसूची बुझाउने बेलामा पार्टी त्यागेका थिए । त्यस्तै, फागुन ६ मा संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला)ले वक्तव्य जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरिन् । 

केही समयअघि केन्द्रीय सदस्यहरू हरि भट्ट र डा. प्रभाव अधिकारीले राजीनामा दिएका थिए । पार्टी स्थापनाको दुई महिनामै संस्थापक केन्द्रीय सदस्य गीता रेग्मीले पार्टी छाडेकी थिइन् । पार्टीको विचार र नेतृत्वको गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनी बाहिरिएकी हुन् । त्यस्तै अर्का केन्द्रीय सदस्य महेश्वर घिमिरेले पनि पार्टी छाडेका छन् । २०८० वैशाख १० को उपनिर्वाचनमा बारा–२ मा रास्वपाबाट उम्मेदवार बनेका पूर्वएआईजी रमेश खरेलले पनि अहिले रास्वपामा छैनन् । उनी स्वार्थ बाझिने गरी पार्टीले गृह मन्त्रालयको जिम्मेवारी लिन नहुने अडानमा थिए । तर, सभापति रवी लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेपछि निरन्तर टिप्पणी गरेपछि रास्वपाले खरेललाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउनुका साटो उनले ‘पार्टीको नीति तथा सिद्धान्त आफ्नो प्राथमिकतासँग नमिलेको’ भन्दै पार्टी छाडेर टिभी कार्यक्रमतिर लागेका थिए । अहिले उनी कांग्रेसका उम्मेदवारलाई सहयोग गर्दै हिडेका छन् । 

त्यस्तै, रास्वपाले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निस्काशन गरेपछि पार्टीमा थप असन्तुष्टि चुलिदै गएको थियो । गत संसद्मा गएको सुरुमै रास्वपा विवादमा परेको थियो । मन्त्री बन्न पार्टीलाई पैसा बुझाउन मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो बाहिरिएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले कारबाही गरेको थियो । लगत्तै उनले पार्टी छाडे । त्यसपछि निर्वाचन आयोग प्रमुखको जिम्मेवारीमा रहेका डा. अतीन्द्र दाहाल, पूर्वअनुशासन आयोग प्रमुख डा. भरतमणि देवकोटाले समेत सदस्यता त्याग गरेका थिए । कोशी प्रदेश सभापति राजेश तिमिल्सिना, कोशी प्रदेश निर्वाचन परिचालन समिति सभापति सञ्जीव भट्टराई, कोशी निर्वाचन परिचालन समिति उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगर सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश समिति सदस्य शिल्पा भट्टराईसहित अन्य कार्यकर्ताहरू थिए । 

२०८० पुसमा रास्वपा सुदूरपश्चिमका उपसभापति सृष्टि महरा र महामन्त्री भोजराज जोशीले पार्टी छाडे । २०८१ असारमा प्यूठान जिल्ला सभापति सुमन सुवेदीले पार्टी त्याग्दा चितवनका सभापति धर्मेन्द्र सापकोटाले समेत पार्टी छाडेका थिए । ०८० माघमा बर्दिया जिल्लाका झन्डै दुई दर्जन नेता–कार्यकताले रास्वपा छाडेका थिए । पार्टी–पङ्क्तिमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुट–उपगुट मौलाएको कारण पेश गर्दै २१ जनाले पार्टी परित्याग गरेको बताएका थिए । यता रास्वपा मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहितको टोली पनि २०८१ असारमा रास्वपाबाट बाहिरिएको थियो । सोही भदौमा दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत ५० भन्दा बढी स्थानीय नेताहरूले रास्वपा छाडेका थिए ।  

पार्टी स्थापनाको छोटो समयमै एकपछि अर्को संस्थापक नेताहरू पलायन हुनुका साथै कतिपय नेता कारबाहीमा पर्दा समग्र पार्टीको आकार खिइँदै गएको भए पनि शीर्ष नेताहरूमै सुधार नदेखिएको रास्वपाका एक केन्द्रीय सदस्यले बताए । फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलो दल बन्नेगरी देशभरको माहोल तयार गर्दै आएको रास्वपामा चुनावी माहोलसँगै अन्तर कलह पनि चुुलिँदै गएको छ । पार्टी सभापति रवी लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह चुनावी माहोल बनाउन देश दौडाहामा लागेका छन् । त्यसको ठिकविपरित रास्वपामा असन्तुष्टी जनाउँदै पार्टी स्थापनकालका जिम्मेवार नेताहरु धमाधम पार्टी परित्याग गर्ने लहर चलाएका हुन् । निर्वाचनपछि शक्तिशाली दल बन्ने माहोल देखिए पनि चुनावको मुखमा पार्टी छाड्ने लहरले रास्वपाको आन्तरिक कलह छताछुल्ल हुने त्रास बढेको केन्द्रीय समितिका नेताहरूले बताएका छन् । यद्यपि उनीहरू असन्तुुष्ट नेताहरूलाई चुनावसम्म मात्रै भए पनि रोक्न चाहान्छन् । संस्थापक नेताहरुले नै धमाधम पार्टी छोडेको घोषणा गरेपछि चुनावी परिणाममा असर पर्नसक्ने विश्लेष्णसहित आन्तरिक रणनीतिमा रास्वपा लागेको छ ।  

पार्टी छाडेका नेताहरूले नयाँको नारा दिएर जनता र जेनजी आन्दोलनमाथि नै धोका हुँदै आएको टिप्पणी गरेका छन् । वागमती प्रदेश उपसभापतिसहित साधारण सदस्यता छाडेका दिनेश हुमागाईले टिप्पणी गरे,  ‘फागुन २१ गतेको निर्वाचनमा चटकदारलाई मत हाल्ने होइन, राजनीतिक व्यक्ति, देश बुझेको व्यक्ति र समाज बुझेको व्यक्ति तथा पार्टी छान्नुहोस् । चुपचाप फलानो छाप भन्ने होइन, धेरै अध्ययन गरेर मत हाल्नुस् । दुईचार दिन सोंचे पनि हुन्छ । तर देशले निकास पाउनुपर्छ, स्थायी सरकार बन्नुपर्छ ।’ 

देश हाल गम्भीर अवस्थामा पुगेको भन्दै उनीहरूले सामाजिक सञ्जालको भ्रमबाट बाहिर निस्केर सोचविचार गर्न अपिल गरे । अध्ययन–विश्लेषण गरेर मात्र मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन उनीहरूले आह्वान गरेका छन् । त्यस्तै ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएको बताइन् । ‘थितिको थालनी, वेथितिको अन्त्य भनेको साढे तीन वर्षमै उल्टो भयो’, उनले भनिन्, ‘पार्टीले पारदर्शिताको कुरा गथ्र्यो, तर भित्र अपारदर्शिता धेरै देखियो । त्यसैले रास्वपामा लागेका साथीहरू दैनिक रूपमा पार्टी छाड्दै छन् ।’ पार्टीका सदस्यलाई स्क्याम गरेर चुनावको मुखमा नेतृत्व छान्ने अधिकार संगठनबाट खोसेर नेता विशेषका मान्छेहरूलाई भित्र्याएको असन्तुष्ट नेताहरूले टिप्पणी गरेका छन् ।

रास्वपा संस्थापन पक्षले भने छिटपुट व्यक्तिले पार्टी छाड्दैमा खासै असर नपर्ने दाबी गरेका छन् ।  ‘पार्टीका कुनै एक–दुई जनाले पार्टी छाड्दैमा खासै फरक पर्दैन्’, नेता विराजभक्त श्रेष्ठले भने, ‘एक जना निस्कँदा सयजना भित्रिरहेका छन् । लाखौंको समर्थन जुटिरहेको छ । हामी यो निर्वाचनमा बहुमत ल्याउने योजनाका साथ लागेका छौं ।’

सम्बन्धित खबर