२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

निर्वाचनको मुखमा रौतहटमा जनमत पार्टीलाई धक्का, उम्मेदवारसहित दर्जनौंको सामूहिक राजीनामा

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन १० गते २१:५३
Shares
निर्वाचनको मुखमा रौतहटमा जनमत पार्टीलाई धक्का, उम्मेदवारसहित दर्जनौंको सामूहिक राजीनामा

रौतहट : प्रतिनिधिसभा निर्वाचन हुन ११ दिन मात्र बाँकी रहँदा रौतहट क्षेत्र नम्बर २ मा राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ । जनमत पार्टीका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार ई.सोनु कुशवाहासहित जिल्ला अध्यक्ष र दर्जनौं नेता–कार्यकर्ताले आइतबार सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् । 

निर्वाचनको अन्तिम तयारी भइरहेका बेला आएको सामूहिक राजीनामाले रौतहटमा जनमत पार्टीलाई ठूलो धक्का पुगेको राजनीतिक वृत्तमा चर्चा छ । पार्टी छाड्नेमा ई. सोनु कुशवाहा (प्रतिनिधिसभा उम्मेदवार तथा जिल्ला अध्यक्ष), पूर्व प्रतिनिधिसभा उम्मेदवार राम यास झा, ईशनाथ नगरपालिकाका पूर्व मेयर प्रत्याशी राम उदय साह, वडा नम्बर ३ का वडाध्यक्ष दिलबहादुर मण्डल लगायत रहेका छन् । 

उनीहरूसँगै ईशनाथ नगरपालिकाका दर्जनौं स्थानीय अगुवा तथा सक्रिय कार्यकर्ताले पनि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । 

राजीनामा दिने नेताहरूले पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन् । उनीहरूका अनुसार पार्टीभित्र आन्तरिक लोकतन्त्र समाप्त भएको, महत्वपूर्ण निर्णयमा स्थानीय कार्यकर्ताको भावनालाई बेवास्ता गरिएको र विकास तथा समृद्धिको स्पष्ट ‘रोडम्याप’ प्रस्तुत गर्न नसकिएको आरोप लगाइएको छ । साथै परिवर्तनका एजेन्डा बोकेर आएका युवाहरूलाई पार्टीभित्रै दमन गरिएको दाबी गरिएको छ ।

राजीनामापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ई. कुशवाहाले राजनीति पदका लागि नभई जनताको सेवा र समाज परिवर्तनका लागि हुनुपर्ने बताए । पार्टीभित्र युवाको आवाज नसुनेको र जनभावनामाथि खेलबाड भएको महसुस भएपछि नयाँ निर्णय लिन बाध्य भएको उनको भनाइ थियो । 

निर्वाचनको संघारमा भएको यस घटनाले रौतहट क्षेत्र नम्बर २ को चुनावी गणितमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ । कुशवाहा समूहको बहिर्गमनले अन्य प्रतिस्पर्धी दललाई फाइदा पुग्न सक्ने अनुमान गरिएको छ ।

यस विषयमा जनमत पार्टीको केन्द्रीय नेतृत्वले हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । राजीनामा दिएको समूहले अब कुन बाटो रोज्ने वा कसलाई समर्थन गर्ने भन्ने विषयले रौतहटको चुनावी माहोल थप तातेको छ ।

सम्बन्धित खबर