२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चुनावी समीक्षा : कुनै दललाई छैन बहुमतको आस

shivam cement
जीवन शर्मा
२०८२ फागुन १२ गते ०६:४०
Shares
चुनावी समीक्षा : कुनै दललाई छैन बहुमतको आस

काठमाडौं : गत संसद्मा २१ सिटसहित चौथो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा १ सय ५१ सिट ल्याउने दाबी गरेको छ । सार्वजनिकरूपमा यस्तो दाबी गरेपनि उसको आन्तरिक आकलन भने फरक छ । 

चुनावी प्रक्रिया सुरु हुँदा रास्वपाप्रतिको क्रेज जसरी बढेको थियो, चुनाव नजिकिँदै जाँदा त्यही अवस्था कायम राख्न सकेको छैन । तर, कांग्रेस–एमाले, नेकपासहितका पुराना दलहरूको माहोल एकाएक बढ्दै गएको दाबी गरेका छन् । कांग्रेस र एमालेले पनि आफ्नो पक्षमा बहुमत आउने दाबी छाडेका छैनन् । यद्यपि भित्रीरूपमा उनिहरू एक अर्काप्रति त्रसित छन् । निर्वाचनमा कसले कति सिट प्राप्त गर्छ भन्ने आकलन गरिहाल्न नसकिने भएपनि विश्लेषक, विज्ञहरू र सरकारी तथा गैरसरकारी क्षेत्रका सूचना अधिकारीहरूले समेत आ–आफ्नै तर्क पेस गर्दै आएका छन् ।  

चुनावमा भाग लिएका दलहरूले भने आफ्नो आन्तरिक र बाह्य विश्लेषणलाई हेरेर मोटामोटी संख्याको आकलन गरेका छन् । जुन विषय अहिले नै उनीहरू बाहिर ल्याउन चाहँदैनन् । वास्तविक आकलनले निर्वाचन परिणामलाई घाटा हुने दल तथा उम्मेदवारहरूको ठम्याई छ । तर, सार्वजनिकरूपमा भने सबै दलहरूले आफ्नो पक्षमा बहुमतदेखि ठुलो दल बन्ने अपेक्षासहितको घोषणा गरेका छन् । २०७९ मा मुख्य प्रतिस्पर्धी रहेका कांग्रेस–एमाले यस पटक खुम्चिने अवस्थामा छन् भने त्यसबेलाको संसद्मा २१ सिटसहित चौथो बनेको रास्वपामा उभरा देखिन्छ । २७५ मध्ये १५१ सिट जित्ने औपचारिक दाबी गरेपनि आन्तरिक आकलन भने ४० देखि ४५ सिट प्रत्यक्ष र ४० लाखभन्दा बढी समानुपातिक मत पाउने रास्वपाको अपेक्षा छ ।

रास्वपाका एक पदाधिकारीले भने, ‘हामीले अहिले १ सय ५१ सिट पाउँछौं भनेका छौं । सार्वजनिकरूपमा त्यसबाट तल झर्ने कुरा भएन । तर, आन्तरिक आकलन चाहिँ पहिलो बन्ने नै हो । दुबैगरी कम्तीमा ८५–९० सिटको वरपर लिएर पहिलो दल बन्ने अपेक्षा छ ।’ वर्तमान निर्वाचन प्रणालीले नै कसैलाई पनि बहुमत दिलाउन सक्ने अपेक्षा गर्न नसकिने उनको प्रतिक्रिया थियो ।

त्यस्तै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दुई हप्ता अघि नै अबकी बार १०० पार भनेका थिए । तर, पछिल्लो चुनावी माहोल हेर्दा सकारात्मक भएकाले एकल बहुमतको सरकार बनाउनेगरी पार्टीमा उभार आएको कांग्रेसको सार्वजनिक दाबी छ ।  पार्टीका प्रवक्ता देवराज चालिसेले भने, ‘हाम्रो चुनावी अभियानमा माहोल निकै राम्रो हुँदै गएकाले बहुमत ल्याउने अपेक्षामा पुगेका छौं । कांग्रेस बदलिएर देश बदल्ने योजनासहित मतदातामा पुगेसँगै पहिलो पार्टी बन्ने कुरामा हामी ढुक्क छौं ।’ तर, कांग्रेसले बाहिर बनेजस्तो सजिलो भने छैन् ।  आन्तरिक आकलनमा कांग्रेसले आफूलाई अहिलेसम्म दोस्रोमै राखेको बुझिन्छ । उक्त दलले प्रत्यक्षमा ५०–५५ र समानुपातिकमा २५–२८ लाख मत पाउने अपेक्षा राखेको छ । यसरी हेर्दा कांग्रेस ८०–८५ सिटसहित दोस्रो स्थानमा आउने अनुमान गरेको छ । राजनीतिक विश्लेषक र सरकारी अधिकारीहरू पनि यो संख्यालाई मिल्दो जुल्दे भएको बताउँछन् । राजनीतिक विश्लेषक मुमाराम खनालले रास्वपाको ह्वीम र सुधारिएको कांग्रेसबीच धेरै अन्तर नहुने बताए । उनले भने, ‘ठुलो पार्टी चाहिँ कांग्रेस नै बन्छ होला । किनकि रास्वपामा जाने धेरै भोट कांग्रेसमा गगन थापा आएपछि रोकेका छन् ।’   

गत निर्वाचनमा दोस्रो स्थानमा रहेको नेकपा एमालेले पनि आफू सहज बहुमत ल्याउने बताउँदै आएको छ । एमाले नेता महेश बर्तौलाले भने, ‘यो पटक प्रत्यक्ष र समानुपातिक गरी सरकार बनाउन पुग्ने (१३८) बहुमत प्राप्त हुन्छ ।  एमालेले सरकार बनाउन बनाउँछ ।’ तर एमालेले विगतको मत जोगाउँदै मुस्कील हुने पार्टीकै कतिपय नेताहरूले बताएका छन् । एमालेले आन्तरिक आकलनमा भने ५५–६० सिटको अपेक्षा राखेको बताइएको छ ।  ‘पार्टीप्रति चौतर्फी आक्रमण बढिरहेको अवस्थामा पार्टीले ५५ देखि ६० सिट जित्यो भने पनि हाम्रो उपलब्धि हो’, एमालेका एक पदाधिकारीले मध्यान्हलाई बताए । अहिले पुराना नेताप्रति आमनागरिकको वितृष्ण बढ्दै गएकाले एमालेले नयाँ व्यक्तिलाई अघि सारेर गएको भए उसलाई फाइदा हुने विश्लेषक मुमाराम खनाल बताउँछन । 

त्यस्तै नेकपाले पनि आफुले सरहकार बनाउने सिट पाउने सार्वजनीक उद्घोष गरेको छ ।  तर, उसलाई विगतको अवस्थामा रहँनै चुनौति रहेको आन्तरिक विश्लेषण गरेको छ । उक्त दलले दुबै तर्फबाट ३५ सिटकको हाराहारी प्राप्त गर्ने नेताहरूले आनैपचारिकरूपमा बताएका छन् । यद्यपि गत निर्वाचनमा ३१ सिट रहेको नेकपा माओवादी, १० सिट रहेको नेकपा एकीकृत समाजवादी सहित २१ वटा वाम तथा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले पहिला भन्दा निकै सुधार हुने अपेक्षा राखेको नेकपाका नेता जगन्नाथ खतिवडाले बताएका छन् ।      

नयाँ दलहरू श्रमसंस्कृति पार्टी र उज्यालो नेपाल पार्टी बाहिर हौसिएपनि राम्रो कत पाउँनेमा कम आशाबादी छन् । राप्रपा र मधेश केन्द्रित दललहरूको अवस्था पनि विगतको भन्दा कमजोर हुने विश्लेषकहरू बताउँछन् । सुरक्षा निकायका अनुसन्धान अधिकारीको आँकलनले कुनै दललाई बहुमत प्राप्त हुने अवस्था नदेखिएको बताउँछन् ।  बाहिर जति हल्ला छ मतदान प्रकृयामा त्यस्तो नदेखिने उनिहरूको भनाई छ । 

चुनावकोबेला सरकारी संयन्त्रदेखि विभिन्न गैरसरकारी क्षेत्रले समेत चुनावी माहोललाई नजिकबाट केलाएर आँकडा निकाल्ने गरेका छन् । ती आँकडाहरू करिव चुनावी परिणामसँग मिल्दो जुल्दो हुने गरेका छन् । तर, आचारसंहिताले चुनाव अघि त्यस्तो तथ्यांक सार्वजनीक गर्न मिल्दैन् र सूचना अधिकारीहरूले पनि सार्वजनीक गर्दैनन । आन्तरिक छलफल र अनौपचारिकरूमा भने चुनावी आँकलनको विश्लेषण हुने गरेका छन् । प्रत्यक्षको १६५ सिनर्वाचन क्षेत्रमा चुनाव हुँदैछ भने समानुपाितकमा  १ सय १० सिटका लागी मतदान हुनेछ । जम्मा २ सय ७५ सिट रहेको प्रतिनिधिसभामा सरकार बनाउनका लागि १३८ सिट  प्रप्त गर्नु पर्ने हुन्छ । तर, कुनै पनि दलले आफ्नो पक्षमा बहुमत जुटाउन सक्ने भित्री अपेक्षा राखेका छैनन् । वर्तमान (मिश्रित) निर्वाचन प्रणालीले कुनै दललाई बहुमत प्राप्त गर्न निकै कठिन अवस्था छ ।  

निर्वाचनको परिणामले आगामी पाँच वर्ष मुलुकको शासनसत्ताको नेतृत्व कसले गर्ने भन्ने निर्धारण गर्नेछ । जेनजी आन्दोलनले तत्कालीन सरकार ढलेसँगै २०८४ मंसिरमा हुनुपर्ने आवधिक निर्वाचन दुई वर्षअघि नै हुन लागेको हो । लोकतन्त्रमा निर्वाचन केवल प्रतिनिधि छान्ने प्रकृया मात्रै नभई देशको राजीतिलाई सही दिशानिर्देश गराउने नेतृत्व छनोटको विधि हो । यही विधिको कँसीमारहेर यतिबेला लामो राजनीतिक इतिहास र विराशत बोकेका दलहरूसहित नयाँ शक्तिकारूपमा उदायका दलहरू मैदानमा छन् । दल र उम्मेदवारहरू मतदाता फकाउन निर्वाचनक्षेत्र केन्द्रित छन् । चुनावपछिको परिणामले कति स्थायीत्व दिन्छ र जेनजीको म्याण्डेट नयाँ बन्ने सरकारले पूरा गर्छ कि पूरानै अवस्था दोहोरिन्छ ? यो प्रश्न अहिले राजनीतिक बृत्तमा निकै बलियो छ ।  जेनजी आन्दोलनको जगबाट बनेको नागरिक सरकारले गर्न लागेको यो निर्वाचनमा परम्परागत पार्टीलाई नयाँ दाबी गर्दै आएका दल र स्वतन्त्र उम्मेदवारहरूले काउन्टर दिने प्रयासमा छन् ।

सम्बन्धित खबर