
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आ–आफ्ना पार्टीबाट भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएका छन् । दुवैले मधेशलाई प्रभावित पार्ने प्रयास गरेका छन् । बालेनलाई मधेशको छोराको रुपमा प्रस्तुत गर्दै मधेशी मुलको पहिलो प्रधानमन्त्री भनेर प्रचार गरिरहेको छ । कांग्रेसले गगन थापालाई नयाँ पुस्ताको नेताको रुपमा प्रस्तुत गरेर मत मागिरहेको छ । सभापति थापा आफैँ सर्लाही ४ बाट उम्मेदवार बनेका छन् ।
गगन थापा र बालेन शाह भावी प्रधानमन्त्रीको कार्ड बोकेर मधेश झरेपछि चुनावी माहोल नै बदलिएको छ । यी दुई नेताको नीति र प्रचारशैलीले मधेश केन्द्रित दलहरू छायाँमा परेका छन् ।
मधेश केन्द्रित दलको प्रभाव घटाएर आफ्नो वर्चस्व बढाउन नेपाली कांग्रेस र रास्वपाका अलावा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसहित दलहरू लागि परेका छन् । परिणाममा विगतका निर्वाचनमा प्रभावी रहेका मधेश केन्द्रित दलहरू यसपटक असहज महसुस गर्ने अवस्थामा पुगेका छन् ।
यसपटक मधेशमा कांग्रेस–रास्वपा र एमाले मुख्य प्रतिस्प्रर्धी बन्ने देखिएको छ । प्रतिनिधि सभाका ३२ निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशमा विभिन्न दल र स्वतन्त्र गरी एक हजार ५४ जना उम्मेदवार छन् ।
नयाँ, पुराना दलका र स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, सभा–सम्मेलन र रणनीतिक भेटघाटलाई तीब्र बनाउँदा मधेशको माहोल तातेको छ ।
तराईका मतदाताले जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत, राष्ट्रिय मुक्ति पार्टी नेपाल, आम जनता पार्टी (आजपा)सहित दल र तीनका उम्मेदवारलाई पूरानै रूपमा हेरेका छन् । रास्वपा नयाँ दाबी गर्दै तराई झरेको छ भने कांग्रेस बदलिएर मधेशका मुद्दालाई राष्ट्रिय मुद्धा बनाउने योजनासहित अगाडि बढेको दाबी गरिरहेको छ ।
ओझेलमा उपेन्द्र र राजेन्द्र
२०६४ पछि उपेन्द्र यादव मधेशबाट उदाएका नेता हुन् । अर्का नेता महन्थ ठाकुर उपेन्द्र नेतृत्वकै पार्टीमा मिलिसकेका छन् । अर्का नेता राजेन्द्र महतो चनावी मैदानमा छन् । तर, उनीहरू यसपटक ओझेलमा छन् ।
यी नेताहरूले आफ्ना मुद्दलाई राष्ट्रिय मुद्दा बनाउन नसकेको स्थानीयको आरोप छ । गुटगत राजनीतिले जकडीएका उनीहरूबीच टुटफुटले बढी प्राथमिकता पाएका कारण पनि अब राष्ट्रिय राजनीतिमा प्रभाव पार्न नसक्ने अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन् । उनीहरूमाथि पनि भ्रष्टाचार, कुशासन, गुटबन्दी र जनअपेक्षा पूरा गर्न नसकेकोजस्ता आरोप छन् । त्यसकारण यी दलहरूलाई संगठनको मत जोगाउन चुनौति देखिएको हो ।
परम्परागत पार्टी र उम्मेदवार रोज्ने कि नयाँ भन्ने विषयमा अधिकांश मतदाताहरूमा अझै अन्योलता देखिएको मधेशको राजनीतिका जानकार समेत रहेका पत्रकार नविन झाले बताए ।
‘पछिल्लो पटक चलेको हावाले कहाँ पुर्याउँछन भन्न सक्ने अवस्था छैन्’, उनले भने, ‘तर, मधेश केन्द्रित दलहरूलाई यो पटक निकै चुनौति छ । उपेन्द्र यादव नेतृत्वको जसपाको केही सिट ल्याउने देखिएपनि अरू मधेशकेन्द्रित दलको अवस्था कमजोर हुँदै गएको छ ।’
जसपाले अघिल्लो निर्वाचनमा मधेश प्रदेशबाट ७ सहित प्रतिनिधिसभामा १२ सिट प्राप्त गरेको थियो । त्यस्तै पार्टी अध्यक्ष सिके राउतले जितेर मधेशबाट जनमतको एक सिट जोगाएको थियो । यस पटक यी दलहरूले प्रत्यक्षमा जित्ने सम्भावना कम रहेको स्थानीय नेताहरू बताउँछन् । सिके रनउको जितमा ब्रेक लागे जनमतको सिट शुन्य हुन सक्ने आँकलन कतिपयको छ ।
तर, जसपा नेपालका प्रवक्ता मनिष सुमनले मधेशमा आफ्नो दल सबैभन्दा ठूलो हुने दाबी गरे ।
‘जसपा नेपालले यसपटक साविकको अवस्थालाई कायम राख्ने मात्रै होइन’, उनले मध्यान्हसँग भने, ‘हामीले १५ सिट जित्ने अपेक्षामा छौं । अरू निर्वाचन क्षेत्रपनि प्रतिस्पर्धामै छौं ।’ जसपा र लोसपा मिलेकाले यो सिट पाउनेमा नेताहरू आशाबादी छन ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, आम जनता पार्टी (आजपा)सहित दलहरू पनि आफ्नो पक्षमा माहोल तयार गर्न खटेका छन् । तर उनीहरूको अवस्था पनि सोचेअनरूुप नरहेको बताइएको छ । राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो र नेकपाका नेता महेन्द्र राय यादव सर्लाहीको क्षेत्र नं–२ बाट उम्मेदवार छन् । उक्त निर्वाचन क्षेत्रमा यादवकै पक्षमा जनमत बलियो रहेकाले महतोलाई नै कठिन देखिएको स्थानीय नेताहरू बताउँछन् ।
सिकेलाई पनि छैन सहज
२०७९ सालको निर्वाचनमा सप्तरी २ बाट जसपाका उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका जनमत पार्टीका अध्यक्ष सिके राउतलाई समेत यो निर्वाचन सहज छैन् । राउत अघिल्लो निर्वाचनबाट संसदीय राजनीतिमा आएका नेता हुन् । दोस्रो निर्वाचनमा नै उनको अवस्था खस्कने अवस्था बनेको कतिपयको आकलन छ ।
राउतले नै आफ्नो जोडबलमा पार्टीबाट मधेश प्रदेशमा मुख्यमन्त्री बनाएका सतिश सिंह जनमत छाडेर स्वाभिमान पार्टीबाट राउतसँगै प्रतिस्पर्धा गर्न सप्तरी–२ बाट उम्मेदवार बनेका छन् । यसले उनको जितलाई रोक्ने सँम्भावना बढेको देखिन्छ ।
रौतहट २ बाट चुनाव लडेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई समेत यसपटक चुनाव जित्न चुनौति छ । त्यहाँ जसपा र कांग्रेसले जनमत बढाएको दाबी स्थानीयको छ ।
त्यस्तै सप्तरी ३ बाट उम्मेदवार बनेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कांग्रेस र रास्वपाका उम्मेदवारले चुनौति बढाएको छन् । यसले उनको समेत जितमा ब्रेक लाग्न सक्ने अनुमान छ ।
मधेश केन्द्रित दलहरूको प्रतिस्पर्धामा कांग्रेस, एमाले र माओवादी हुँदे आएकोमा यस पटक रास्वपा समेत थपिएका कारण सोचेजस्तो अवस्था नरहेको मधेशको राजनीतिका जानकार समेत रहेका राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बताए ।
उनले भने, ‘मधेश केन्द्रित दलहरूको प्रतिष्पर्धामा पहिला कांग्रेस, एमाले र माओवादी हुन्थे अहिले रास्वपा पनि हामीसँगै प्रतिष्पर्धामा आएको छ । त्यसकारण मधेश केन्द्रित दलहरूलाई चुनौति थपिएको छ ।’
तर राष्ट्रिय मुक्ति पार्टी, अशोक राई नेतृत्वको जसपा र नागरिक उन्मुक्ति पार्टीबीच चुनावी तालमेल भएकाले आफ्नो पक्षमा सकारात्मक माहोल बनेको उनले बताए । हामी मधेश, लुम्बीनी र सुदुरपश्चिम प्रदेशबाट राम्रो सिट ल्याएर संसदमा कम्तीमा १२–१५ सिट पर्याउने लक्ष्यमा छौं ।’
मधेश केन्द्रित दललाई रोकेर मधेश प्रदेशबाट कांग्रेसलाई पहिलो बनाउने पार्टी बनाउने सभापति गगन थापाको दाबी छ । ३२ मध्ये अधिकांश निर्वाचन क्षेत्रबाट कांग्रेसले जित निकाल्ने कांग्रेसका पूर्व सहमहामन्त्री महेन्द्र यादवले दाबी गरे ।
उनले भने, ‘मधेशमा कांग्रेसको लहर दैनिक बढ्दोक्रममा छ । हामी यस पटक मधेशका अधिकांश क्षेत्र जित्छौं ।’
त्यस्तै भावी प्रधानमन्त्रीको बालेन कार्ड देखाएर मधेशको मत पाउने रास्वपाको आशा छ भने एमालेले पुरानै जनमतलाई कायम राख्दै राम्रो सिट ल्याउने अपेक्षा गरेको छ ।
ठूला दलको पछिल्लो चुनावी प्रचार र रणनीतिक शैलीले मधेश केन्द्रित दलहरू छाँयामा परेका हुन् ।