
काठमाडौं : गत भदौ २३ गते काठमाडौंको सडकमा उत्रिएका हजारौं निशस्त्र युवाहरूमाथि घातक बल प्रयोग गर्न तत्कालीन प्रहरी प्रमुखले नै प्रत्यक्ष आदेश दिएको बीबीसीको एक विशेष अनुसन्धानले खुलासा गरेको छ । बीबीसी आई इन्भेस्टिगसनको हप्तौं लामो अनुसन्धानले त्यो दिन मारिएका १९ जनामध्ये सबैभन्दा कम उमेरका १७ वर्षीय श्रीयम चौलागाईंको मृत्यु कसरी भयो भन्ने विस्तृत तथ्य बाहिर ल्याएको छ ।
'पिटर १' को त्यो घातक आदेश बीबीसीले प्राप्त गरेको प्रहरीको विशेष 'लग बुक' अनुसार, सो दिन दिउँसो १२:४० बजे 'पिटर १' कल साइन प्रयोग गर्ने अधिकारीले फिल्डमा खटिएका प्रहरीलाई स्पष्ट निर्देशन दिएका थिए । लग बुकमा लेखिएको छ, "कर्फ्यु लागू भइसकेको छ। अब थप अनुमति लिइरहनु पर्दैन । आवश्यक बल प्रयोग गर्नुस् ।"
बीबीसीका अनुसार, यो 'पिटर १' कल साइन अरू कसैको नभई तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुवेर खापुङको थियो । यद्यपि, नेपाल प्रहरीले बीबीसीलाई पठाएको पत्रमा खापुङले सुरक्षा समितिको निर्णय बिना त्यस्तो आदेश नदिएको दाबी गरेको छ, जबकि सुरक्षा समितिका तत्कालीन अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आफूले गोली चलाउने आदेश नदिएको बयान अदालतमा दिएका छन् ।
डिजिटल पुस्ताको विद्रोह र प्रहरीको कमजोरी यो प्रदर्शन कुनै राजनीतिक दलले नभई सामाजिक सञ्जाल 'डिस्कर्ड' मार्फत 'जेन जी' अर्थात् नयाँ पुस्ताका युवाहरूले संगठित गरेका थिए । भ्रष्टाचार र राजनीतिक बेथितिविरुद्ध वाक्क भएका करिब ३० हजार युवा सडकमा उत्रिएका थिए, जुन संख्या प्रहरीले अनुमान गरेको भन्दा १० गुणा बढी थियो ।
प्रहरीका उच्च अधिकारीहरूले बीबीसीसँगको कुराकानीमा उनीहरूले यो नयाँ पुस्ताको परिचालन शैली र प्रविधिलाई बुझ्न नसकेको स्वीकार गरेका छन् । कतिसम्म भने, संसद् भवन नजिकैको कन्ट्रोल रुममा रहेका अधिकारीहरूसँग स्थिर इन्टरनेट जडान समेत थिएन, जसका कारण उनीहरूले बाहिरको वस्तुस्थिति राम्ररी नियाल्न पाएका थिएनन् ।
बीबीसीले ४ हजारभन्दा बढी तस्बिर र भिडियोहरूको विश्लेषण गर्दै १७ वर्षीय श्रीयम चौलागाईंको मृत्युको समयरेखा तयार पारेको छ । हरियो स्कुल स्विटर र ढाडमा झोला बोकेका श्रीयम "भ्रष्टाचार विरुद्ध युवा" लेखिएको ब्यानर बोकेर शान्तिपूर्ण रूपमा प्रदर्शनमा सहभागी थिए ।
भिडियो फुटेजमा देखिए अनुसार, दिउँसो २:०९ बजे श्रीयम प्रदर्शन भइरहेको अग्रभागबाट शान्तपूर्वक पछाडि हट्दै थिए । सोही बेला उनको टाउकोको पछाडिपट्टि प्रहरीको गोली लाग्यो र उनी ढले । बीबीसीको विश्लेषणले सो समयमा श्रीयमले कुनै पनि हिंसात्मक गतिविधि नगरेको पुष्टि गरेको छ ।
श्रीयमका बुबाले बीबीसीसँग भावुक हुँदै भनेका छन्, "उसले भ्रष्टाचारले देश खोक्रो बनायो भन्थ्यो, उ मभन्दा बढी जानकार थियो ।" उनकी आमा अझै पनि आफ्नो छोरा स्कुलकै पोसाकमा झोला हल्लाउँदै घर फर्किने आसमा छिन् ।
राजनीतिक भूकम्प र अनुत्तरित प्रश्नहरू भदौ २३ को त्यो हिंसा र त्यसपछिको प्रदर्शनले गर्दा भोलिपल्टै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो र सरकार ढलेको थियो । त्यसपछिका दिनमा भएका हिंसामा देशैभरि कुल ७७ जनाले ज्यान गुमाएका थिए ।
बीबीसीको रिपोर्टले यो घटनामा अहिलेसम्म कोही पनि जवाफदेही नबनेको औंल्याएको छ । तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन आइजिपी खापुङ सबैले यसको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । हाल यो घटनाको सार्वजनिक छानबिन भइरहे पनि पीडित परिवारले न्याय पाउनेमा अझै अन्योल छ । बीबीसीसँग कुरा गर्दै एक प्रहरी अधिकारीले भनेका छन्, "हाम्रा अफिसरहरूले उनीहरूमाथि (प्रदर्शनकारी) शत्रुलाई जस्तै गरी गोली चलाए ।"
बीबीसीको अनुसन्धानले भदौ २३ गतेको त्यो घटनापूर्ण दिन र त्यसपछिको राजनीतिक घटनाक्रमलाई समयरेखा अनुसार यसरी प्रस्तुत गरेको छ :
भदौ २३ : प्रदर्शन र रक्तपातको समयरेखा
बिहान ९:०० बजे : काठमाडौंको माइतीघर मण्डलामा युवाहरूको भेला सुरु भयो । प्रहरीले ३ हजार जति आउने अनुमान गरे पनि करिब ३० हजार प्रदर्शनकारी सहभागी हुन आइपुगे ।
बिहान ११:४७ बजे : प्रदर्शनकारीको एक समूह प्रहरीको ब्यारिकेड (घेरा) तोडेर अघि बढ्यो । प्रहरी अलमलमा परेर ब्यारिकेड छाड्न बाध्य भयो ।
दिउँसो १२:१५ बजे : प्रदर्शनकारीको एउटा समूह संसद् भवनको पर्खाल नाघेर भित्र पस्यो । प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्यो । सोही समयमा विद्यालय पोसाकमा रहेका श्रीयम चौलागाईं संसद्को गेटबाहिर "भ्रष्टाचार विरुद्ध युवा" लेखिएको ब्यानर बोकिरहेका देखिन्थे ।
दिउँसो १२:३० बजे : प्रमुख जिल्ला अधिकारीले तत्काल लागू हुने गरी कर्फ्युको घोषणा गरे । त्यही समयतिर संसदको गेट हाउसमा आगो लगाइयो र केही प्रहरी अधिकारीहरू घाइते भए ।
दिउँसो १२:४० बजे : प्रहरीको आन्तरिक लग बुक अनुसार, 'पिटर १' (तत्कालीन आइजिपी)ले "आवश्यक बल प्रयोग गर्न" र अब थप अनुमति लिइरहनुनपर्ने आदेश दिए ।
दिउँसो १:१५ बजे : पहिलो मृत्यु रेकर्ड गरियो । ३४ वर्षीय बिनोद महर्जनको टाउकोमा गोली लागेर घाइते भएको भिडियो सार्वजनिक भयो, जसको पछि अस्पतालमा मृत्यु भयो ।
दिउँसो २:०९ बजे : १७ वर्षीय श्रीयम चौलागाईं प्रदर्शनको अग्रभागबाट शान्तपूर्वक पछाडि हट्दै गर्दा उनको टाउकोको पछाडिपट्टि गोली लाग्यो र उनी ढले ।
दिउँसो २:२१ बजे : भिडियो फुटेजमा प्रहरीले संसद भवन भित्रैबाट प्रदर्शनकारीमाथि गोली चलाएको देखियो । बीबीसीले सो समयमा प्रहरीले ७ राउन्ड गोली चलाएको पुष्टि गरेको छ ।
अपराह्न ४:०० बजे : बीबीसीले रेकर्ड गरेको अन्तिम गोली प्रहारको घटना यही समयमा भएको थियो र साँझ परेपछि संसद बाहिरको प्रदर्शन कम हुँदै गयो ।
भदौ २३ : सत्ता परिवर्तन र थप हिंसा
बिहानैदेखि : अघिल्लो दिनको हत्याबाट आक्रोशित नागरिकहरू सडकमा उत्रिए र शान्तिपूर्ण प्रदर्शन हिंसात्मक झडपमा परिणत भयो । प्रहरी चौकीहरू जलाइए र ३ जना प्रहरीको हत्या भयो ।
दिउँसो २:३० बजे : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए र सरकार ढल्यो ।
रातको ९:०० बजे : काठमाडौंको स्थिति अनियन्त्रित भएपछि सेनाले सुरक्षाको जिम्मा लियो ।
(बीबीसीमा प्रकाशित सुबिना श्रेष्ठ र दीपक खरेलको विशेष रिपोर्ट)