२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एमाले उम्मेदवारका प्रचार सामाग्रीमा छैन ओलीको तस्बिर  

shivam cement
सपना बोहरा
२०८२ फागुन १५ गते ११:४१
Shares
एमाले उम्मेदवारका प्रचार सामाग्रीमा छैन ओलीको तस्बिर  

काठमाडौ : नेकपा एमालेका सामान्य कार्यक्रममा समेत मञ्चका ब्यानरमा देखिने अध्यक्ष केपी शर्मा ओली यसपटक आफनै उम्मेदवारको पोस्टरबाट हराएका छन् । उनी उम्मेदवार रहेको झापा क्षेत्र नं. ५ बाहेक अन्यत्र ओलीको तस्बिर देखिँदैन् । 

एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । विगतका चुनावमा एमालेका प्रचार सामाग्रीमा ओलीका तस्बिर हुन्थे । तर यस पटक त्यस्तो देखिएको छैन् । उनका विश्वासका पात्र मानिने शंकर पोखरेल, महेश बस्नेत, महेश बर्तौला, पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेलले समेत ओलीको पोस्टर नराखेरै चुनावी मैदानमा उत्रिएका छन् । 

एमालेको घोषणा पत्रमा बाहेक अरु प्रचार सामाग्रीमा ओलीको तस्बिर खासै चलाइएको छैन । एमाले महासचिव पोखरेल २०७९ को निर्वाचनमा अध्यक्ष ओलीको तस्बिरसहितको प्रचार सामाग्री लिएर मैदानमा उत्रिएका थिए ।  ओलीकै नाममा उनी भोट माग्थे । अहिले पनि उनी उम्मेदवारको रुपमा मतदाताको घर–घरमा प्रचार प्रसारमा छन् । तर ओलीको तस्बिर गायब छ ।  उनले भोट माग्नेबेलामा पनि ओलीको बारेमा खुले माग्दैनन् । ओलीकै फोटो बिना नै उनी भोट माग्न गईरहेका छन् । 

पछिल्लो जेनजी आन्दोलनमा दमन हुँदा ओली प्रधानमन्त्री थिए । ठूलो भौतिक तथा मानविय क्षति भएको सो आन्दोलनपछि ओलीप्रति जनआक्रोश देखियो । तत्कालीन प्रधानमन्त्रीका रुपमा उनी चर्को आलोचनामा परे । सोही कारण एमालेका उम्मेदवारहरुले ओलीको तस्बिर लिएर चुनावमा जान डराएका हुन् । 

लमजुङमा उम्मेदवार बनेका तत्कालीन सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ पनि चुनावी प्रचार प्रसारमा व्यस्त छन् । ओलीकै नेतृत्वमा एमाले सरकार बनाउनेभन्दै विगतमा चुनावी मैदानमा होमिएका उनले यसपटक भने पोस्टरमा समेत फोटो राखेका छैनन् । मतदाताहरुलाई चुनावी प्रचारप्रसारको आफनो पोस्टर बाँड्छन् तर ओलीको तस्बिर नराखेरै । 

त्यस्तै अर्का उपाध्यक्ष एवं रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णुप्रसाद पौडेलले रुपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको गतिशील केन्द्र र विकासको अग्रणी जिल्लाको रुपमा विकास गर्ने लक्ष्यसहित २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरे । उनले सार्वजनिक गरेको पोस्टरमा पनि यसपटक ओलीको तस्बिर छैन । 

ओलीको पक्षमा खरोरुपमा उत्रिने अर्का पात्र हुन् महेश बस्नेत । जो एमाले सचिव पनि हुन् । प्रधानमन्त्रीबाट हटेपछि ओली उनकै साथ लिएर भक्तपुरको गुण्डुमा बस्न थालेका छन् । ओलीका प्रिय पात्र बस्नेतले समेत चुनावी प्रचार सामाग्रीमा ओलीको तस्बिर राखेका छैनन् । मतदाताको घरदैलोमा जाँदा उनले आफूले गरेको विकास निर्माणको कामकै प्रचार गर्ने गरेका छन् । ओलीको बचाऊमा लाग्दा भोट गुम्ने भय अधिकांश उम्मेदवारमा देखिन्छ । ओलीका निकटदेखि ११ आँै महाधिवेशनमा ओलीको प्यानलबाट निर्वाचित नेताहरुसमेत आफ्ना अध्यक्षको तस्बिर राख्न हिच्किचाइरहेका छन् ।  

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व ल्याएपछि नेपाली कांग्रेसमा भने पार्टी सभापति गगन थापा तस्बिरसहितका प्रचार सामाग्री बनाउने काम भइरहेको छ । कांग्रेसका उमेदवारहरु गगनकै नाम र तस्बिर राखेर मत मागिरहेका छन् । अरु राजनीतिक मुद्दाभन्दा कांग्रेसले बदलिएको कांग्रेसको नारा अघि सारेको छ । राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा)ले भने सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को तस्बिर राखेर चुनावी प्रचार अघि बढाएको छ ।  त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम  र तस्बिर राखेर उम्मेदवारको चुनावी प्रचारप्रसार गरिरहेको छ । 

एमाले उम्मेदवार मात्र किन पार्टी अध्यक्ष ओलीको तस्बिर राख्न चाहेनन् ? निर्वाचन परिचालन कमिटीका सचिव विष्णु रिमाल प्रत्यक्ष निर्वाचनमा पार्टी नेतृत्वभन्दा उम्मेदवारकै प्रचारलाई महत्व दिइने बताउँछन् । उनले मध्यान्हसँग भने, ‘सबै दलका आआफ्नै रणनीति हुन्छन् । हामीले अध्यक्षको सन्देश र तस्बिरसहितको घोषणापत्र नै तयार पारेका छौं । उम्मेदवारले आफ्नै तस्बिर र नाम प्रचार गर्नु स्वभाविक छ ।’   

सम्बन्धित खबर