
पर्सा : प्रतिनिधि सभा निर्वाचनको मुखमै पर्सा क्षेत्र नं. ४ मा राजनीतिक हलचल तीव्र बनेको छ । यसक्रममा नेपाली कांग्रेसप्रति जनसमर्थन बढ्दै गएको दाबी गरिएको छ भने जनता समाजवादी पार्टी नेपाललाई ठुलो झटका लागेको बताइएको छ ।
शुक्रबार कालिकामाई गाउँपालिका–हरिहरपुर बिर्तामा आयोजित पार्टी प्रवेश कार्यक्रममा कालिकामाई गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष संजय पटेलले जसपा नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । संघीयता कार्यान्वयनपछि सम्पन्न स्थानीय तह निर्वाचनमा उनी दुई पटक वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
त्यसैगरी, स्थानीय तह निर्वाचनमा जसपाबाट पोखरिया नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका राजु साह तेली तथा पोखरिया वडा नं. ३ बसन्तपुरका वडाध्यक्ष पदका उम्मेदवार रवि भूषण तिवारीसहित सयौंको संख्यामा नेता–कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग, वाणिज्य मन्त्री एवम् पर्सा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश रिजाल, पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष एवं क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, धोबिनी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बशिष्टनारायण कुर्मी, कालिकामाई गाउँपालिका उम्मेदवार अजय पटेललगायत नेताहरूले गम्छा, अबिर र फूलमाला लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा कांग्रेस मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्साका सचिव नवीन सिंह, जिल्ला कोषाध्यक्ष प्रेम बहादुर थापा, गाउँपालिका उपाध्यक्ष प्रतिनिधि राधाकृष्ण चौरसिया, किशोरी साह कानु, किशोर जैसवाल, वडाध्यक्ष संजय साह गोढलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव बलिष्टर अहमदले गरेका थिए ।
पर्सा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जनताको सुख–दुःखमा साथ दिँदै आएको भन्दै मतदाताबीच सकारात्मक सन्देश फैलिरहेको दाबी गरिएको छ ।