२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चुनाव छल्न सुटुक्क सिंगापुर

shivam cement
जीवन शर्मा
२०८२ फागुन १६ गते ०६:४०
Shares
चुनाव छल्न सुटुक्क सिंगापुर

काठमाडौं : जेनजी आन्दोलनले छैटौंपटक प्रधानमन्त्री हुन रोकिएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा डडेल्धुराबाट अन्तिमपटक चुनाव लड्न चाहन्थे । २०४८ यताका कुनै चुनाव नहारेका देउवाले विशेष महाधिवेशनले पार्टीसत्ता पनि उल्टाएपछि टिकटसमेत पाएनन् । देशभर चुनावी माहोल गर्माउँदा उनी मौन थिए । तैपनि, उनी चुनावी प्रचार वा भोट हाल्न सुदूरपश्चिम जाने धेरैको विश्वास थियो । त्यसैले देउवाले कहिले मुख खोल्छन भन्ने कांग्रेस पङ्तीले चासोका साथ कुरिरहेका थिए । तर, उनी चुपचापै एकाएक सिंगापुर उडेका छन् ।  

देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । उनको नियमित क्षेत्र डडेलधुरामा यसपटक नैनसिंह महर उम्मेदवार छन् । आम निर्वाचनपछि नियमित महाधिवेशन गर्ने अड्डी कसेका देउवालाई धक्का लाग्नेगरी निर्वाचन आयोगले कांग्रेसमा विशेष महाधिवेशनलाई बैधता दिएपछि उनी मौन थिए । विशेष महाधिवेशनले गगन थापा नेतृत्वमा नयाँ नेतृत्व चुनेपछि कांग्रेसभित्रको एउटा तप्का बाहिर रहेको छ । देउवा समूह विशेष महाधिवेशनविरूद्ध अदालत गएका छन् । 

तत्कालीन सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, रमेश लेखकलगायत धुप्रै नेताहरू निर्वाचन र पार्टी संरचना दुुबै भूमिकाबाट बाहिर छन् । चुनावको समयमा उनीहरूको मौनताले कांग्रेसको आन्तरिक राजनीतिमा मात्रै होईन्, आगामी निर्वाचनको परिणामलाई समेत असर पार्ने संकेत गरेको छ । अझ पूर्वसभापति देउवा र कर्णाली प्रदेशका शक्तिशाली नेता खड्काको सहयोगविना कांग्रेसलाई सुदूरपश्चिम र कर्णाली प्रदेशमा चुनावी परिणाम निकाल्न सकस हुने विश्लेषण भइरहेको छ । 

तर, नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले सबैलाई मिलाएर जाने नेतृत्वले सामथ्र्य राख्नुपर्ने बताए । ‘कांग्रेस अहिले चुनावको अभियानमा छ’, उनले भने, ‘यतिबेला सबै एक भएर आपसी सदभाव र सम्मानपूर्वकढंगले लाग्नु पर्दछ । हामी चुनौतिपूर्ण अवस्थामा चुनावी मैदानमा छौ भन्नेकुरा सबै नेता कार्यकर्ताले बुझेर लाग्न जरूरी छ । चुनावपछि बाँकी समीक्षा गरौंला ।’ उनको यो सन्देशले पनि कांग्रेसभित्रको असहजतालाई संकेत गरेको छ ।   

देउवालाई गृहजिल्ला र गृहप्रदेशमा लगेर मत माग्ने योजनामा रहेका सभापति गगन थापासहितका नेताहरूलाई देउवाले पत्याएनन् । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिएर गगन थापालाई सभापति स्वीकार गरेपछि टिकट लिन देउवा तयार भएका थिएनन भने गगनले पनि देउवालाई टिकट नदिने पक्षमा थिए । आफू चुनाव नलड्दा निकटस्थ नेताहरूले पनि टिकट नलिउन भन्ने देउवाको चाहना विपरित कञ्चनपुरबाट एनपी साउद, डडेलधुराबाट नैनसिंह महर, नुवाकोटमा प्रकाशशरण महतलगायन केही नेताहरूले टिकट लिएको विषयमा उनी असन्तुष्ट थिए । टिकट वितरण भइरहेकै बेला सचिवालयमार्फत् देउवाले निर्वाचन नलड्ने घोषणा भने गरेका थिए ।  

देउवाको असन्तुष्टिलाई मल्हम लगाउदै सुदुरपश्चिममा उपस्थित गराएर चुनाव जित्ने उम्मेदवार र सुदुरपश्चिम कांग्रेसको योजना अन्ततः असफल भएको छ । निर्वाचनको सन्निकटमा विदेश भ्रमणमा निस्केका देउवा चुनावअघि फर्कने सोंचमा छैनन् । उनको अनुपस्थितिले सुदुरपश्चिममा कांग्रेसको सिट घट्ने भय प्रदेशका नेताहरूले व्यक्त गरेका छन् । देउवा पक्षको बाहुल्य रहेको सुदूरपश्चिममा चुनावी सभा गर्न सभापति गगन थापासमेत नजाने भएका छन् । जसका कारण यसपटक उम्मेदवारहरूले आफ्नै बलबुताले चुनाव जितेर आउनु पर्नेछ । 

गत भदौंमा भएको जेनजी आन्दोलनको अघिल्लो दिन (भदौ २२)सम्म देउवालाई भावी प्रधानमन्त्रीका रूपमा हेरिएको थियो । तर, २३ भदौको आन्दोलन र २४ गतेको विध्वंशसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गराएपछि देउवाको सपना एकाएक तुहियो । त्यो आन्दोलनले देउवाको छैटौं पटक प्रधनमन्त्री हुने सपनामा ‘ब्रेक’ मात्रै लगाएन, उनको ज्यानै खतरामा पर्ने स्थिति बन्यो । जेनजी आन्दोलनका क्रममा घरमै बसीरहेका देउवा र तत्कालीन परराष्ट्रमन्त्री पत्नी आरजू देउवा राणामाथि सांघातिक आक्रमण भएपछि उनी उपचारका लागि १८ दिन सिंगापुर बसेर नेपाल फर्किएका थिए । सोही आन्दोलनको आक्रोश देखाएर देउवालाई पार्टीबाटै अपदस्त गरेपछि उनी पिडामा छन् । त्यसो त, उनले असोज २८ मै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएका पनि हुन् । तर, अन्तिमपटक चुनाव जितेर राजनीति छाड्ने चाहनाले कांग्रेसमा कलह जन्माएको थियो । 

कार्यबाहक सभापति खड्काले ५० दिन लामो केन्द्रीय समितिको बैठक बसाउँदा समेत १५औं नियमित महाधिवेशन कि विशेष महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने भन्ने निर्णय लिन नसक्दा पार्टीले बिद्रोहको सामना गर्नु परेको नेताहरुको दाबी छ । फागुन २१ को निर्वाचनमा बदलिएको कांग्रेसको नारा लिएर मतदातासँग पुगेको कांग्रेसले १०० सिट पार गर्ने अपेक्षा राखेको छ । तर, त्यो अपेक्षा पूरा गर्न कांग्रेसको आन्तरिक समस्या चुनौति बनेको राजनीतिक विश्लेषकहरू बताउँछन् । देउवा चुनावबाहिर हुँदा कांग्रेसलाई डडेल्धुराको साख जोगाउन निकै संघर्ष गर्नु परिररहेको छ । देउवानिकट केही कार्यकर्ताहरूले चुनावी अभियानमा जिल्ला आउन आग्रह गरे पनि उनले बेवास्ता गरिरहेका थिए, जसका कारण कांग्रेसलाई यसपटक सकस हुने देखिएको छ ।

सुदूरपश्चिमबाट चुनाव लडेर देशकै राजनीतिमा प्रभाव पार्ने कांग्रेसकै रमेश लेखक पनि यसपटक निर्वाचनबाट बाहिर छन् । लेखकको चुनाव लड्ने चाहना हुँदाहुदै उनलाई कांग्रेस नेतृत्वले टिकट दिन चाहेन । जेनजी आन्दोलनका क्रममा लेखक गृहमन्त्री थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका थिए । सो क्षेत्रमा कांग्रेसले हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ कांग्रेसको गढ नै मानिन्छ । कांग्रेसले वर्चश्व जमाएको क्षेत्रबाट लेखक २०५६, २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । 

कांग्रेसले २०७९ को निर्वाचनमा माओवादीसँगको चुनावी गठबन्धनमा सुदूरपश्चिमका १६ क्षेत्रमध्ये ८ सिट जितेको थियो । अहिले एक्लै प्रतिस्पर्धा र देउवाको अनुपस्थितिले यो प्रदेश कांग्रेसका लागि थप जोखिम बढाएको छ । देउवाको मौनताले सभापति गगन थापामाथि समेत राजनीतिक दबाब बढेको छ । पार्टीभित्रको गुटबन्दी, नेतृत्व परिवर्तन र चुनावी रणनीतिको सन्दर्भमा यो विषयलाई अर्थपूर्णरूपमा हेरिएको छ । 

सम्बन्धित खबर