२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

रौतहट–१ मा करिब ५०० जना नेकपामा प्रवेश

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन १६ गते २२:३८
Shares
रौतहट–१ मा करिब ५०० जना नेकपामा प्रवेश

रौतहट : रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा राजनीतिक ध्रुवीकरणले नयाँ मोड लिएको छ । यमुनामाई गाउँपालिका–५ झुन्खुन्वामा आयोजित एक कार्यक्रममा नेकपा एमाले परित्याग गरी करिब ५०० नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

ncell

स्थानीय युवा नेता नौसाद हाफीको नेतृत्वमा उनीहरूले एमालेको साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका हुन् । नवप्रवेशीहरूले एमालेको कार्यशैली तथा स्थानीय विकासप्रति देखिएको उदासीनताप्रति असन्तुष्टि जनाउँदै मुलुकको समृद्धिका लागि माधव कुमार नेपालको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं रौतहट–१ का उम्मेदवार नेपाल स्वयं उपस्थित भई नवप्रवेशीहरूलाई तारा अंकित रातो टोपी, माला र खादा लगाएर स्वागत गरेका थिए ।

सम्बोधनका क्रममा उनले रौतहटको विकास र मधेसको हकहितका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको दोहोर्‍याए । “आजको यो जनलहरले विकास र निष्ठाको राजनीतिको पक्षमा जनता उभिएको स्पष्ट देखाएको छ,” उनले भने, “रौतहटलाई नमुना निर्वाचन क्षेत्र बनाउने हाम्रो लक्ष्य हो ।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको संघारमा यति ठूलो संख्यामा एमाले कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । स्थानीय विश्लेषकहरूका अनुसार यमुनामाई क्षेत्रमा देखिएको यो राजनीतिक फेरबदलले नेपाल पक्षलाई चुनावी समीकरणमा थप बल पुर्‍याएको आकलन गरिएको छ ।

कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, बुद्धिजीवी तथा सयौँ स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। नवप्रवेशीहरूले आगामी निर्वाचनमा नेपाललाई भारी मतले विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर