
लिस्बन : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचार, एजेन्डा र सिद्धान्तविहीन लोकप्रियतावादले आम नेपाली जनतालाई भ्रमित पार्ने दुस्प्रयास गरिरहेको बताएका छन् ।
प्रवासी जनप्रगतिशील मञ्च युरोपले शुक्रबार सामाजिक सञ्जाल टिकटक मार्फत आयोजना गरेको उम्मेदवारसँग चुनावी विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले लोकप्रियतावादले विचार, नीति, एजेन्डा र तिनको महत्त्वलाई अवमूल्यन गर्ने काम गरिरहेको बताए । उनले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग गरेर सस्तो लोकप्रियताको माध्यमबाट आम नेपाली जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको धारणा व्यक्त गरे ।
दाहालले विदेशमा रहेका प्रवासी नेपालीलाई अनुचित रुपमा उपयोग गरेर देशको राजनीतिलाई गलत दिशामा लैजान खोजिएको आरोप समेत लगाए । उनले उत्पीडित वर्गको हक–अधिकारका लागि संघर्ष गरेर युगान्तकारी परिवर्तनको नेतृत्व गरेको शक्तिलाई तथाकथित लोकप्रियतावादको हावाहुरी चलाएर कमजोर पार्ने प्रयास भइरहेको बताउँदै त्यस्ता प्रवृत्तिलाई रोक्न सचेत र जिम्मेवार भूमिका खेल्न आह्वान समेत गरे । साथै, उनले प्रवासी नेपालीलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन र निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल समेत गरे ।
जनतालाई अधिकार सम्पन्न बनाउने र देशको समृद्धिको यात्रा प्रारम्भ गर्ने शक्तिलाई सुदृढ बनाए मात्रै नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न सकिने विश्वास व्यक्त गर्दै संयोजक दाहालले राष्ट्र हित र स्वाधीनताको रक्षाका लागि सम्पूर्ण नेपाली एक हुनुपर्नेमा जोड दिए ।
फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै मञ्चले राजनीतिक दलका शिर्ष नेता तथा उम्मेदवारहरूसँग डिजिटल माध्यम मार्फत अन्तरक्रिया गर्दै आएको छ । मञ्चले गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि समसामयिक राजनीतिक विषयमा निरन्तर बहस, अन्तरक्रिया र चुनावी विमर्श चलाउँदै आएको प्रस्तोता एवं नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव अशिम लोप्चन तामाङले जानकारी दिए ।
यसअघि नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वअर्थमन्त्री वर्षमान पुन, झापा–३ का उम्मेदवार डिल्लीराम घिमिरे, सुर्खेत–२ का झकबहादुर मल्ल, सल्यानका रमेशकुमार मल्ल, लमजुङका हरिजंग तामाङ, कालीकोटका महेन्द्रबहादुर शाही, उदयपुरका विनोद कटुवाल, चितवन–३ की रेनु दाहाल, नुवाकोट–२ का हीरानाथ खतिवडा, झापा–५ का रञ्जित तामाङलगायतका उम्मेदवार अन्तरक्रियामा सहभागी भएको मञ्चले जनाएको छ ।