२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मतदानपछि प्रचण्ड, गगन र रवि निर्वाचन क्षेत्र पुगे

बालेन फर्किए, ओली झापा नजाने

shivam cement
२०८२ फागुन २१ गते १३:३७
Shares
मतदानपछि प्रचण्ड, गगन र रवि निर्वाचन क्षेत्र पुगे

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान उत्साहजनक रूपमा अघि बढिरहेको जानकारी निर्वाचन आयोगले दिएको छ ।

मतदान सुरु भएयता अधिकांश उम्मेदवारहरूले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । कतिपय उम्मेदवारहरू मतदाता नामावली रहेको स्थानमा मतदान गरी आफू उम्मेदवार बनेका निर्वाचन क्षेत्रमा पुगिसकेका छन् भने केही अझै जाने क्रममा छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन जिल्ला को निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी विद्यालय शान्तिपुरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए । मतदानपछि उनी हेलिकप्टरमार्फत रुकुम पूर्व जिल्ला पुगेका छन् ।

यसैगरी गगन थापाले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत मैतीदेवी स्थित मतदान केन्द्रमा मत खसालेपछि हेलिकप्टरमार्फत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ पुगेका छन् । उनका अनुसार उनी मतदान अवधिभर आफ्नो निर्वाचन क्षेत्रमा रहने कार्यक्रम छ ।

उता रवि लामिछानेले काठमाडौँ-३ अन्तर्गत उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरस्थित मतदान केन्द्रमा मत हालेर स्थलमार्ग हुँदै चितवन जिल्ला पुगेका छन् । उनी चितवन-२ बाट उम्मेदवार रहेका छन् ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले बिहानै सिनामंगल स्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रमा मताधिकार प्रयोग गरेका थिए । त्यसपछि हेलिकप्टरमार्फत झापा जिल्ला जाने प्रयास गरे पनि सुरक्षा कारण देखाउँदै उनी पुनः काठमाडौँ फर्किएको जानकारी प्राप्त भएको छ ।

यसैगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । मतदानपछि झापा जिल्ला जाने कार्यक्रम रहे पनि अन्ततः सो यात्रा स्थगित गरिएको बताइएको छ ।

सम्बन्धित खबर