
रौतहट : रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई तेब्बरभन्दा बढी मतान्तरले पछि पार्दै अग्रस्थान बनाएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म कुल ५ हजार ८२ मत गणना भइसकेको छ । गणनाअनुसार रास्वपाका गणेश पौडेलले २,७२५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिनाले ९८२ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराईले ८८४ मत पाएका छन् ।
सुरुवाती चरणदेखि नै अग्रता लिइरहेका पौडेलले अन्य उम्मेदवारलाई उल्लेख्य मतान्तरले पछि पारिरहेका छन् ।
चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा कडा सुरक्षाबीच मतगणना जारी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ ।
रौतहटका मतदाताहरूले यसपटक परम्परागत राजनीतिक शक्तिभन्दा बाहिर गएर नयाँ विकल्प रोजेको प्रारम्भिक रुझानले संकेत गरेको छ । स्थानीयस्तरमा विकास सुशासन र राजनीतिक शुद्धीकरणको मुद्दा उठाउँदै आएका पौडेलको पक्षमा देखिएको यो रुझानले पुराना राजनीतिक दलहरूलाई ठुलो चुनौती दिएको छ ।