
काठमाडौं : गर्भवती अवस्थामा भएकाले रञ्जु न्यौपाने दर्शनाले सुरुमा समानुपातिक बन्दसूचीमा बस्न चाहेकी थिइन् । सुरुमा माथि नै रहेको उनको नाम सूचीमा तल पारियो । त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचनमा होमिएकी दर्शना अन्ततः प्रतिनिधिसभा निर्वाचनमा जित्ने पहिलो सांसद् भएकी छिन् ।
दुई साताकी आलो सुत्केरी ज्यान लिएर उनी शुक्रबार प्रमाणपत्र बुझ्न र शुभेच्छुक–समर्थकको बधाई ग्रहण गर्न निस्किन । काठमाडौं क्षेत्र न. १ को चुनावी मैदानमा गर्भवती ज्यान लिएर खटिँदा नै उनले धेरैको ध्यान तानेकी थिईन् । त्यतिबेला उनले मध्यान्हसित भनेकी थिइन्, ‘हाम्रा आमाहरुले काम गर्दागर्दै बच्चा जन्माए । म पनि कतिन्जेल सकिँदो रहेछ भनेर घरदैलोमै छु ।’
चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुगेका बेला उनी अस्पताल भर्ना भइन् र ११ फागुनमा सुत्केरी भइन् । त्यसको एक सातापछि नै मौन अवधि सुरु भइहाल्यो । दर्शना घरदैलोमा नभए पनि उनका पति र रास्वपा नेता कार्यकर्ताले उनका लागि भोट मागिरहे । २१ फागुनमा मतदान गर्न जाँदासमेत उनको काखमा नवजात शिशु थिए ।
उनको विजय अहिलेको चुनावमा देखिएको रास्वपा लहरको परिणाम मात्र होइन । प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापालाई दोब्बरभन्दा बढी मतले पछि पार्नुको पछाडी रञ्जुको राजनीतिक पृष्ठभूमी र वैकल्पिक राजनीतिप्रति उनले देखाएको लगावको परिणाम समेत हो ।
विवेकशील नेपाली पार्टीमार्फत १७ वर्षको उमेरमै उनी २०७० सालमा राजनीतिमा जोडीएकी उनी राज्यका नकारात्मक पक्षका विरुद्ध सडकबाटै खरो विरोधमा सक्रिय थिइन् । त्यस बाहेक उनले समाज सेवामा पनि सक्रिय भइन् । डा. गोविन्द केसीले भ्रष्टाचारविरुद्ध अनसन बस्दा रञ्जु सहयोगी भूमिकामा देखिएकी थिइन् ।
पार्टीमा पनि उनको प्रभाव बढ्दै थियो । २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । जसमा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनिन् । त्यसबेला उनी २२ वर्षकी थिइन् । विसं २०७४ मा काठमाण्डौंमा मेयर पदमा उठेकी दर्शनाले २३ हजारभन्दा बढी मत ल्याएकी थिइन् । उनको चर्चा झनै चुलियो । त्यसबेला काठमाडौं महानगरको मेयरमा भने नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भए ।
नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनकै अगुवाइमा विवेकशील साझा र रास्वपाबीच पार्टी एकता गराइन् । रास्वपाले सुरुमा उनलाई समानुपातिक बन्दसूचीमा राखिएको थियो । तर दर्शनाजस्तो जुझारु नेता समानुपातिक सूचीमा राखिएको भन्दै साइबर बुलिङ गरियो । उनले आफू गर्भवती रहेकाले समानुपातिकमा बसेको प्रस्टीकरण दिइरहिन् । तर आलोचना रोकिएन । त्यहीबेला सभापति रवि लामिछानेले बन्दसूची सच्याउँदा दर्शनाको क्रमसंख्या धेरै तल झारिदिए । त्यसले असन्तुष्ट रहेकी उनी अन्ततः प्रत्यक्ष निर्वाचन लड्ने निर्णयमा पुगिन् र निर्वाचित पनि भईन् ।
वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा होमिएकी दर्शना यस पटक भने सफल भएकी छन् । लामो समयदेखि संघर्ष, सामाजिक सक्रियता र राजनीतिक अभियानमा बिताएकी रञ्जु दर्शनाले राजनीतिको नयाँ यात्रा सुरु गरेकी छन् । मातृत्व र नेतृत्वको दोहोरो भूमिकामा रहेकी दर्शनाले यो जित परिवर्तनको पक्षमा बताएकी छन् ।