
रौतहटः प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश कुमार चौधरीले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चौधरीले प्रतिस्पर्धी उम्मेदवारहरूलाई निकै पछाडि छाडेका हुन्।
हालसम्मको गणनामा रास्वपाका राजेश कुमार चौधरीले २० हजार १६२ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ता ७ हजार ७१५ मत सहित दोस्रो स्थानमा रहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार झाले ५ हजार ८३६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। यस निर्वाचन क्षेत्रका हेभिवेट उम्मेदवार तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका लागि भने प्रारम्भिक नतिजा उत्साहजनक देखिएको छैन। उनले हालसम्म ५ हजार १७० मत मात्र प्राप्त गरेका छन्, जसले उनलाई चौथो स्थानमा सीमित गरेको छ।
जसपा नेपालका योगेन्द्र राय यादवले हालसम्म् ४ हजार ७४२ मत, जनमत पार्टीका देवेन्द्र मिश्रले ७३२ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना कार्य शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ। राजेश कुमार चौधरी र अन्य प्रतिस्पर्धीबीचको मतान्तर निकै ठूलो देखिएकाले रास्वपाका कार्यकर्ताहरूमा उत्साह देखिएको छ। यद्यपि, अझै धेरै मत गणना गर्न बाँकी रहेकाले अन्तिम नतिजा आउन केही समय लाग्ने निर्वाचन अधिकृतले जानकारी दिने । क्षेत्र नम्बर १ मा यसपटकको निर्वाचनले पुराना र स्थापित राजनीतिक शक्तिहरूलाई नयाँ उदाउँदो शक्तिले कडा चुनौती दिएको देखिएको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ र सर्वसाधारणको चासो निकै बढेको छ।