२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

नयाँ संसद्‍मा युवाको वर्चस्व

shivam cement
दिवाकर अधिकारी
२०८२ फागुन २४ गते ०६:३५
Shares
नयाँ संसद्‍मा युवाको वर्चस्व

काठमाडौं : नयाँ संसद्मा युवाको वर्चस्व हुने भएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट अधिकांश युवा उमेरका उम्मेदवारहरू निर्वाचित भएका छन् । 

एमालेका प्रभावशाली नेता इश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई रोक्दै काठमाडौं ५ बाट २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भए । सस्मितले ३० हजार ७३७ मत ल्याएर चुनाव जितेका हुन् । 

२८ वर्षका सुलभ खरेलले रुपन्देही २ बाट चुनाव जितेका छन् । पूर्व अर्थमन्त्री समेत रहेका एमालेका नेता विष्णु पौडेललाई हराउँदै खरेलले चुनाव जितेका हुन् । 

कांग्रेसका डा. शेखर कोइरालालाई हराउँदै रास्वपाकी ३१ वर्षीय रुविना आचार्य निर्वाचित भइन् । 

पूर्वमन्त्री समेत रहेका एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै रास्वपाका सागर ढकाल निर्वाचित भए । ३४ वर्षीय ढकालले २९ हजार ६४२ मत पाउँदा ज्ञवालीले १५ हजार १८१ मत पाए । ३० वर्षीय सोविता गौतम चितवन ३ बाट निर्वाचित भएकी छन् । उनी विघटित प्रतिनिधिसभामा पनि थिइन् । 

यसअघि काठमाडौं–२ बाट जितेकी गौतमले यसपटक चितवन ३ बाट चुनाव जितेकी हुन् । 

२०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी गौतमले कानुनमा स्नातक गरेकी छन् । अधिवक्ता गौतमसँग टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता भएर काम गरेको अनुभव छ ।

नवलपुर २ बाट निर्वाचित मनीष खनाल २६ वर्षका भए । ४१ हजार ३४७ मत ल्याएर उनी निर्वाचित भएका हुन् । ३९ वर्षीय रहबर अन्सारीले पनि चुनाव जिते । अन्सारीले बारा ४ बाट चुनाव जितेका हुन् । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई हराउँदै झापा ३ बाट रास्वपाका ३७ वर्षीय प्रकाश पाठक निर्वाचित भएका छन् । पाठकले ३८ हजार ६७४ मत ल्याएर विजयी हुँदा राप्रपा अध्यक्ष लिङ्देन १७ हजार २९४ मतमै समेटिए । 

अर्घाखाँची १ बाट ३७ वर्षीय हरिप्रसाद भुसाल निर्वाचित भए । उनले ३५ हजार २३ मत प्राप्त गरे । 

मुस्ताङ १ बाट कांग्रेसका योगेश गौचन थकालीले चुनाव जिते । थकाली ३२ वर्षका भए । जाजरकोट १ बाट चुनाव जितेका खड्कबहादुर बुढा ४० वर्षका भए । २० हजार १४२ मत पाएर उनी निर्वाचित भए । 

जुम्ला १ बाट राप्रपाका ज्ञानेन्द्र शाहीले चुनाव जिते । उनी १४ हजार ८१६ मत ल्याएर विजयी भएका हुन् । उनी विघटित प्रतिनिधिसभामा पनि थिए । 

गत चुनावमा विजय भइसकेपछि उनले कर्णालीका स्थानीयसँगको सम्बन्ध अझ बलियो बनाउने प्रयास गरिराखे । संसद्मा आफूलाई देखिने र सुनिने गरी प्रस्तुत गरे । कर्णालीका समस्या उठाए । कर्णालीको स्याउलाई काठमाडौंमा ब्रान्डिङ गर्ने प्रयास गरे । यसलाई जनताले समर्थन गरे र फेरि जिताएर पठाएका छन् । 

मतपरिणाम सार्वजनिक भइसकेका र मतगणना जारी रहेका क्षेत्रमा युवा उम्मेदवारहरूको अग्रता रहेको छ । जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा युवाको वर्चस्व हुने गरी चुनावी नतिजा आएको हो । 

सम्बन्धित खबर