२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

बढे प्रत्यक्ष निर्वाचित महिला सांसद

shivam cement
सपना बोहरा
२०८२ फागुन २५ गते ०६:२०
Shares
बढे प्रत्यक्ष निर्वाचित महिला सांसद

काठमाडौं : सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाकी पुष्पाकुमारी चौधरी ३८ हजार १९५ मतसहित निर्वाचित भईन् । सप्तरी जिल्लाकी सक्रिय महिला राजनीतिकर्मी उनी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएकी थिईन्  । 

उनले पार्टीकी सक्रिय सदस्यका रूपमा स्थानीय र राष्ट्रिय राजनीति दुवै क्षेत्रमा कृयाशिल भएकै आधारमा उनि भारी मतले निर्वाचित भईन् । 

४६ वर्षीया चौधरी पार्टीले विश्वास गरेर टिकट दिए  भने महिला पनि सहजै जित्न सक्ने बताउँछिन् । ‘जिल्लास्तरमा राजनीति गर्दै आएको थिएँ, चुनाव लड्न पार्टीमा दावी गरेँ । टिकट लिएर मैदानमा होमिएँ र जितेँ’ उनले भनिन् । उनी पहिलोपटक चुनावमा प्रतिस्पर्धा गरेकी हुन् । 

प्रत्यक्ष निर्वाचनमा महिलाले जित्दैनन् भनेर पार्टीले टिकट दिदैनन् । तर, फागुन २१ गतेको निर्वाचनले प्रत्यक्षमा नै १४ जना महिला उम्मेदवार निर्वाचित भएका छन् । 

प्रत्यक्षतर्फका १६५ क्षेत्रका लागि ३ हजार ४०६ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये ३८८ जना महिला उम्मेदवार थिए । जसमा विभिन्न दलबाट २३१ उम्मेदवार बनेका थिए भने १५७ जना स्वतन्त्र महिला उम्मेदवार थिए । 

यी मध्ये १४ जना महिला उम्मेदवार विभिन्न दलबाट निर्वाचित भएका छन् । निर्वाचित हुने महिला उम्मेदवारमा १२ जना रास्वपाका हुन् भने एक जना नेपाली कांग्रेसकी हुन् ।  नेपाली कांग्रेसले ११ जना महिला उम्मेदवारलाई चुनावमा उठाएको थियो । तीमध्ये दैलेख १ बाट बासना थापा निर्वाचित भएकी हुन् ।  

यस्तै, नेकपा एमालेले १० जना महिला उम्मेदवार बनाएको भए पनि कसैले पनि चुनाव जितेनन् । नेकपाले ११ जना र राप्रपाले १० जना महिला उम्मेदवारलाई चुनाव उठाएको थियो । तर, यी कुनै उम्मेदवारले पनि चुनाव जित्न सकेनन् । 

रास्वपाले प्रत्यक्षतर्फ १७ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा उठाएको थियो । तीमध्ये १२ जना निर्वाचित भएका हुन् । 

बढ्दो ग्राफ

यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटका लागि ३८८ जना महिला उम्मेदवार थिए । त्यसमध्ये १४ जना महिला उम्मेदवार निर्वाचित भए । यो अघिल्लो निर्वाचनको तुलनामा बढी हो ।

२०७९ को चुनावमा २२७ जना महिला उम्मेदवार थिए । तर, जम्मा ९ जनाले चुनाव जितेका थिए । २०७४ मा महिला उम्मेदवारको संख्या १४६ थियो तर, ६ जनाले मात्रै चुनाव जितेका थिए । 

२०६४ र २०७० मा संविधानसभा ६०१ सदस्यीय थियो । त्यसबेला २०७० मा ६६७ महिला उम्मेदवार थिए तर १० जनाले मात्रै चुनाव जिते । २०६४ मा भने ३० जना महिला उम्मेदवारले चुनाव जितेका थिए । त्यसबेला महिला उम्मेदवारको संख्या भने ३६३ थियो । 

२०५६ मा १४२ जना महिला उम्मेदवार मैदानमा हुँदा १२ जनाले चुनाव जितेका थिए । २०५१ मा ८६ जना महिला उम्मेदवार हुँदा ७ जनाले चुनाव जितेका थिए । २०४८ मा महिला उम्मेदवार ८० जना हुँदा ८ जनाले चुनाव जितेका थिए । पहिलो आम निर्वाचन २०१५ मा ७ जना महिला उम्मेदवार हुँदा एक जनाले चुनाव जितेका थिए । 

गुणात्मक उपस्थितिको खाँचो

संख्यात्मक रुपले पहिलेका निर्वाचनभन्दा सकारात्मक देखिए पनि त्यो उपस्थिति गुणात्मक हुनुपर्ने समाजशास्त्री डा मिना पौडेल बताउँछिन् ।

‘युवा महिलाहरु आए पनि अनुभव नभएको उनले बताईन् । ‘पार्टीहरु लैगिंक संवेदनशिल भएर एजेण्डाप्रति संवेदनशिल भएर, राजनीति विचार बोकेका महिलाहरुलाई हेरेर उठाएका हैनन्,’ उनले भनिन्, ‘भेलमा आएका हुन्, मुख्य कुरा सदनमा के मुद्दा उठाउँछन् भन्ने महत्वपुर्ण कुरा हुन्छ ।’ 

महिलाले अवसर पाए गर्छन भन्ने विश्वास गर्छिन्, अधिकारकर्मी डा रणु अधिकारी । तर टिकट दिन रास्वपाले पनि कञ्जुस्याई गरेको उनको टिप्पणी छ । 

‘महिलालाई ३३ प्रतिशत उठाउनु पर्ने हो, १७ प्रतिशत मात्रै सिट दिएका छन्’, उनले भनिन् ‘दिनुपर्ने सिट दिएको भए अलि धेरै महिला सहभागिता हुन्थ्यो ।’

पार्टीको स्पष्ट अडान, निर्देशन नहुँदा कहिलेकाँही केही अफठेरो अलमल पर्न सक्ने उनले बताईन् । 

‘तर अनुभव भएका पनि छन्, पहिलोचोटी आएका पनि छन्, काम गर्छन भन्ने विश्वास लागेको छ,’ अधिकारीले भनिन् ।
 

रास्वपाबाट धेरै

चुनाव जित्ने महिला उम्मेदवारहरूमा रास्वपाका धेरै छन् । झापा– २ बाट रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित विजयी भइन् । 

उनले निवर्तमान सभामुखसमेत रहेका एमालेका देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पछि पार्दै जित हासिल गरिन् । चितवन– ३ बाट रास्वपाकी सोविता गौतमले जित हासिल गरेकी छन् । निवर्तमान सांसदसमेत रहेकी गौतमले नेकपाकी रेनु दाहाललाई भारी मतान्तरले पछि पार्दै जित हासिल गरेकी हुन् । सोविताले ५९ हजार २७७ मत ल्याउँदा रेनु २० हजार ६१५ मत मात्र ल्याएकी थिईन् । 

मोरङ– ६ बाट ५५ हजार ५१३ मतसहित रास्वपाकी रुविना आचार्य विजयी भएकी छन् । उनले कांग्रेसका शेखर कोइरालामाथि जित निकालेकी हुन् । उनले कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पछि पारेर जित निकालेकी हुन् ।

झापा– १ बाट ४५ हजार ६८० मतसहित रास्वपाकै निशा डाँगी विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेलाई झण्डै ३५ हजार मतान्तरले पछि पारिन् । सर्लाही– १ बाट नीतिमा भण्डारी कार्की ४४ हजार १८१ मतसहित विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत मात्रै पाएका छन् ।

ललितपुर– ३ बाट डा तोसिमा कार्की ४३ हजार ९६ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् । धादिङ– १ बाट एमालेका भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै रास्वपाकी आशिका तामाङ विजयी भएकी छन् । उनले ३९ हजार १२८ मत प्राप्त गर्दा त्रिपाठीले १५ हजार ३१ मत मात्रै ल्याएका छन् ।

सप्तरी– १ मा पनि रास्वपाकै महिला उम्मेदवार पुष्पाकुमारी चौधरी विजयी भइन् । उनले ३८ हजार १९५ मतसहित स्वाभिमान पार्टीका सुमित कुमारलाई पराजित गरेकी हुन् । कास्की– ३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी भएकी छन् । उनले कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई पराजित गरेकी हुन् । गुरुङले १२ हजर ७८० प्राप्त गरे । मोरङ– ५ बाट आशा झा ३० हजार ४३४ मतसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका फूलकुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गरका थिए ।

कैलाली– १ बाट पनि रास्वपाकी महिला उम्मेदवार विजयी भएकी छन् । सो निर्वाचन क्षेत्रमा कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भइन् । उनले कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पराजित गरेकी हुन् । चौधरीले १२ हजार ८७६ मत प्राप्त गरे । काठमाडौं– १ बाट रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । यस क्षेत्रमा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रवल थापाले ६ हजार ३६४ मत पाएका छन् । रास्वपाकी अर्की महिला उम्मेदवार गौरी कुमारीले महोत्तरी– ४ मा अग्रता बनाएकी छन् । उनले अहिलेसम्म २६ हजार ८९० मत पाएकी छन् भने जनता समाजवादी पार्टी नेपालका सुरेन्द्रकुमार यादवले अहिलेसम्म ६ हजार ३०८ मत पाएका छन् ।

कांग्रेसबाट बासना 

कांग्रेसबाट एक जना मात्रै महिला उम्मेदवारले प्रत्यक्ष चुनाव जितेकी छन् । दैलेख– १ बाट बासना थापाले १२ हजार ३७२ मतसहित चुनाव जितेकी हुन् ।

उनले एमाले उम्मेदवार रवीन्द्रराज शर्मालाई ४७६ मतले पछि पार्दै जित आफ्नोपक्षमा परेकी हुन् । एमाले उम्मेदवार शर्माले ११ हजार ७९६ मत ल्याएका थिए । 

बासनाको यो जितसँगै १२ वर्षपछि कांग्रेसले कम्युनिस्टको गढ भत्काएको छ । उनी यस भन्दा पहिले पनि मेयरमा पनि उठेकी थिईन् तर त्यसबेला निर्वाचित हुन सकेकी थिइनन् । 

सम्बन्धित खबर