
काठमाडौं : ‘जेनजी र सरकारबीचको सम्झौता कार्यान्वयन गर्न जेनजी नै सदनमा पुग्नुपर्छ ।’ यो नवलपुर–२ का २६ वर्षीय मनीष खनालको भनाइ हो । अहिले उनी स्वयं सदनमा पुुगेका छन् ।
भदौ २३ र २४को आन्दोलनमा सक्रिय खनाल नेपाल जेनजी फ्रन्टका संवाद समिति संयोजक मात्र थिएनन्, अधिवक्तासमेत रहेका उनले सरकार र जेनजीबीचको सम्झौताको मस्यौदा तयार पार्नसमेत मुख्य भूमिका खेलेका थिए । जेनजी आन्दोलनपछि सरकारसँग सम्झौतामा सबैको स्वामित्व स्थापित गर्न राजनीतिक दलहरू पनि सामेल गराइनुपर्ने प्रस्ताव उनले राखेका थिए । तर, त्यसो हुन नसकी सरकार र जेनजीबीच मात्र उक्त सम्झौता भयो ।
चुनावी सरकारमै जेनजीको प्रतिनिधित्व गरेका त्यस्तै अर्का जेनजी हुन्, २८ वर्षीय बब्लु गुप्ता । उनलाई पनि आफ्नो आवाज उठाउन संसदको रोस्ट्रम प्राप्त हुँदै छ । सिरहा–१बाट सांसदका रूपमा निर्वाचित भएका उनी मन्त्री पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका थिए । जेनजी समूहबाटै युवा तथा खेलकुदमन्त्री भएपछि बनेको सार्वजनिक छवि र देशभर आएको राष्ट्रिय स्वतन्त्र पार्टीको लहरको बलमा ४१ हजार तीन सय ३३ मत प्राप्त गरी निर्वाचित भएका हुन्, बब्लु । युवा तथा खेलकुद मन्त्रालय सम्हाले पनि जनस्वास्थ्यमा स्नातक अध्ययनरत बब्लुले सदन र सरकारलाई उक्त विषयमा विशेषज्ञका रूपमा सहयोग गर्न सक्छन् ।
मकवानपुर–२बाट २५ वर्षीय प्रशान्त उप्रेती ३० हजार ५० मतसहित निर्वाचित भए । मुख्यतः जेनजी प्रतिनिधिका रूपमा निर्वाचनमा होमिएका उनले यसअघि आमाघर र सामुदायिक सचेतना नेपालजस्ता संस्थामार्फत सामाजिक कार्यको थालनी गरेका थिए । साथै, मैनादेवी फाउन्डेसन तथा हन्ड्रेड ग्रुपसँग पनि आबद्ध भएर काम गरेका थिए ।
सामाजिक सेवातर्फको अनुभवका आधारमा नागरिकमैत्री नीति निर्माणदेखि कार्यान्वयनका लागि काम गर्ने योजना उप्रेतीको छ । ‘छिटो छरितो सेवा, सुशासनका साथै पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाहका लागि सदन मार्फत काम गर्नेछु,’ उनले भने ।
जेनजी आन्दोलनको रापतापमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले युवा उमेरका जनप्रतिनिधिको संख्या उल्लेख्य पाएको छ । अघिल्ला निर्वाचनमा एकाधको संख्यामा युवा उमेरका सभासद हुन्थे । यसपटक आठजना त जेनजी मात्रै निर्वाचित भएका छन् । कैलाली–२ बाट १९ हजार ५७ मतसहित २६ वर्षका केपी खनाल र ५६ हजार पाँच सय ५० मत पाएर निर्वाचित रुपन्देही–२का २८ वर्षका सुलभ खरेलसमेत यो पंक्तिमा सामेल छन् ।
जेनजी आन्दोलनको केन्द्रविन्दु राजधानीले पनि यसपटक जेनजीलाई आफ्नो प्रतिनिधि चुनेको छ । काठमाडौं–५बाट विद्यार्थी राजनीतिबाट उदाएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको ठाउँमा यसपटक २९ वर्षका सस्मित पोखरेल ३० हजार सात सय ३७ मतसहित निर्वाचित भए । त्यस्तै झापा–१बाट २९ वर्षकी निशा डाँगी ४५ हजार ६ सय ८० मतसहित निर्वाचित भएकी छिन् । त्यस्तै, खोटाङ–१बाट २९ वर्षका आरेन राई १६ हजार ६ सय १२ मत लिएर निर्वाचित भएका छन् । राई श्रम संस्कृति पार्टीबाट उम्मेदवार थिए । अन्य निर्वाचित जेनजी भने रास्वपाबाट उठेका थिए ।
राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई ‘युवा’ मानिन्छ । नेपालको कुल जनसंख्यामध्ये १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा करिब ४०.३५ प्रतिशत छ । २०७९को प्रतिनिधिसभा निर्वाचनमा एक सय ६५मध्ये ४० वर्षमुनिका १० जना मात्रै निर्वाचित भएका थिए । त्यसबेला ७० वर्षमाथिका १४ जना सांसद निर्वाचित भएका थिए भने बाँकी ४० देखि ७० वर्षका सांसद थिए ।
लक्ष्य जेनजीको माग सम्बोधन
कक्षा ११ पढ्दै गर्दा विवेकशील अभियानसँग जोडिएका मनीषको पहिलो प्रयास जेनजी मागलाई सम्बोधन गर्न भूमिका खेल्नु हुनेछ । त्यसपछि आफूूले विगतदेखि उठाउँदै आएका सामाजिक र राजनीतिक मुद्दाको विषयमा थप काम गर्ने उनको लक्ष्य छ । डा. गोविन्द केसीको भ्रष्टाचारविरोधी सत्याग्रहको समर्थन, निर्मला पन्तको न्यायका लागि भएका अन्दोलनका सहभागी मात्र होइन विभिन्न भ्रष्टाचारविरोधी मुद्दामा समेत सक्रिय उनी ती पृष्ठभूमिका आधारमा सदनमा भूमिका खेल्न चाहन्छन् । ‘विगतदेखि नै सामाजिक तथा राजनीतिक मुुद्दा उठाउँदै आएको थिएँ, त्यही दौरानमा भदौ २३को आन्दोलन संस्थागत गर्न आफैँ सरिक भएर केही भूमिका खेलेको हुुँ,’ उनले भने ।
राजनीतिक दलहरूले यसहघि विचारका धैरै कुरा गरेको र अब भने व्यवहारमा लागू गर्नुपर्ने उनको भनाइ छ । ‘विचारमा मात्रै सीमित नरहेर डेलिभरी दिने खालको राजनीतिमा लाग्नुपर्छ,’ उनले भने, ‘विधानबाट समृद्धि भन्ने मेरो बटमलाइन लिएर अगाडि बढ्ने तयारी गरिराखेको छु । म जेनजी विद्रोहको मागलाई स्थापित गर्ने लक्ष्यसहित पाँच वर्ष काम गर्ने प्रतिबद्धता जनाउँछु ।’
पूर्वमन्त्री बब्लु अन्तरिम सरकारमा हुँदाका अनुभवका आधारमा योजनाबद्ध काम गर्न संसद्मै जानुपर्छ भन्ने लागेर निर्वाचनमा उठेको बताउँछन् । मन्त्री हुँदा उनले खासगरी आफ्नो पहलमा लामो समयदेखि अलपत्र अवस्थामा रहेको लहानस्थित रामकुमार सारडा–उमाप्रसाद मुरारका स्मारक अस्पतालको जग्गा नामसारी प्रक्रिया अघि बढाएका थिए ।
मकवानपुर–२का २५ वर्षीय प्रशान्त उप्रेती ३० हजार ५० मतसहित निर्वाचित भए । जेनजी उमेरकै भएका कारण जेनजीको प्रतिनिधित्व गर्न निर्वाचनमा होमिएको उनी बताउँछन् । उनले सुरुआतमा आमाघर र सामुदायिक सचेतना नेपालमार्फत सामाजिक कार्यको थालनी गरेका थिए । मैनादेवी फाउन्डेसन तथा हन्ड्रेड ग्रुपसँग पनि आबद्ध भएर काम गरेका थिए । उनी सामाजिक क्षेत्रमा क्रियाशील थिए । नागरिकमैत्री नीति निर्माणदेखि कार्यान्वयनका लागि काम गर्ने योजना उनले बनाएका छन् । ‘छिटोछरितो सेवा, सुशासनलगायतको योजना छ,’ उनले भने, ‘सामाजिक सेवामा गरेको प्रत्यक्ष अनुभवका आधारमा पारदर्शी, जवाफदेही र जनमुखी काम गर्नेछु ।’