२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘हजुर आउनु पँधेरीमा’ गजल चोरी भएकोप्रति गायिका पन्तसहित सर्जकको आपत्ति

ADV
मध्यान्ह
२०८१ साउन १८ गते १६:२३
‘हजुर आउनु पँधेरीमा’ गजल चोरी भएकोप्रति गायिका पन्तसहित सर्जकको आपत्ति

काठमाडौं : गजलकार शिशिर भट्टराईको रचना तथा गायिका अञ्जु पन्तको स्वरमा पाँच वर्षअघि सार्वजनिक भएको गजल ‘हजुर आउनु पँधेरीमा’लाई हुबहु नक्कल गरी युट्युबमा सार्वजनिक गरिएकोप्रति सर्जकहरुले आपत्ति जनाएका छन् ।

गजलकार भट्टराई, गायिका पन्त र संगीतकार मुरारी गुरागाईंले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सिर्जनात्मक सम्पत्ति चोरी गर्नेमाथि कारबाहीको माग गरेका छन् ।

उक्त गजल ‘नेपाल मिडिया’ नामक युट्युब च्यानलमा अरुकै संगीत र स्वरमा रेकर्ड गरी म्युजिक भिडियोसमेत बनाए एक वर्षअघि नै सार्वजनिक गरिएको हाल थाहा पाइएको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

विज्ञप्तिमा भट्टराईको रचना रहेको उक्त गजल ‘हजुर आउनु’ २०७० साल जेठ २९ गते लेखिएको, सन् २०१८ मा केही शब्द सच्याई पुनर्लेखन गरिएको र सन् २०१९ मा अकस्टिक रेकर्डिङ स्टुडियोमा अञ्जु पन्तको आवाजमा रेकर्ड भएको उल्लेख गरिएको छ ।

गजल दर्शक स्रोतामाझ नपुगेको आशंकामा एक साताअघि अन्जु पन्तको युट्युब च्यानलमा राखेपछि उल्टै आफूहरुलाई चोरीको आरोप लागेको र सोक्रममा ‘नेपाल मिडिया’ नामक युट्युब च्यानलमा गजल एक वर्षअघि नै राखिएको भेटिएको उनीहरुले बताएका छन् । गजल अर्को च्यानलमा राखिएपछि गजल चोरी भएको भन्ने कमेन्ट आउन थालेपछि चोरीबारे पत्ता लागेको उनीहरुको भनाइ छ ।

‘यो गजल अत्यन्तै राम्रो बनेको, तर अझै पनि स्रोता दर्शकमाझ नपुगेको हो कि भन्ने लागेर गलकार, संगीतकार, निर्माता र गायिकाको सहमतिमा एक हप्ताअघि अन्जु पन्त अफिसियल युट्युब च्यानलमा राखिएको छ । यसरी पुनः अर्को च्यानलमा राखिएपछि गजल चोरी भएको भन्ने कमेन्टहरु आउन थाले । यस्ता कमेन्टहरु आएपछि यसमा हाम्रो टिमको गम्भीर ध्यानाकर्षण भएको छ । तत्पश्चात थाहा हुन आयो कि, नेपाल मिडिया ग्रुप प्रिजेन्ट्स भनि नेपाल मिडिया भन्ने युट्युब च्यानलमा गजलको सम्पूर्ण भाग हुबहु राखी अरुकै संगीत र स्वरमा रेकर्ड गरी म्युजिक भिडियो समेत बनाइ एक वर्षअघि मात्र राखिएको रहेछ । अहिले आएर उल्टै हामीमाथि नै चोरी गरेको भनि सामाजिक सञ्जालमा प्रस्तुत भएको देख्दा हामी आश्चर्यमा परेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले नेपालको प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार सत्य तथ्य पत्ता लगाइ सिर्जनात्मक सम्पत्तिको चोरी गर्नेहरू माथि हदैसम्मको सजायको माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘जानाजान अरुको सिर्जनालाई चोरी गर्नु एक अपराध मात्र होइन, स्रष्टामाथिको अन्याय पनि हो । तसर्थ नेपालको प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार सत्य तथ्य पत्ता लगाई सिर्जनात्मक सम्पत्तिको चोरी गर्नेहरू माथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछौं ।’

ADVADV

सम्बन्धित खबर

Advertise