२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

तिलोत्तमामा ग्यास अभावको गुनासोपछि अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाहीको चेतावनी

Nada
सूर्यप्रसाद भुसाल
२०८२ फागुन २९ गते १५:४१
Shares
तिलोत्तमामा ग्यास अभावको गुनासोपछि अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाहीको चेतावनी

बुटवल : बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो आएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुगमनलाई तीव्र बनाएको छ ।

ncell

उपभोक्ताले केही स्थानमा ग्यास सहज रूपमा नपाएको, विक्रेताले लुकाएर राखेको तथा खरिद गर्न जाँदा उपलब्ध नभएको गुनासो गरेपछि नगरपालिकाको टोलीले ग्यास डिलर, विक्रेता तथा उद्योगमा पुगेर अनुगमन गरेको हो ।

अनुगमन टोलीमा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरीदेवी चौधरी, नगरपालिकाका कर्मचारी, तिलोत्तमा व्यापार संघ, उद्योग व्यापार संगठन तिलोत्तमा, तिलोत्तमा उद्योग वाणिज्य संघका प्रतिनिधि तथा नगर प्रहरी सहभागी थिए ।

अनुगमनका क्रममा उपप्रमुख चौधरीले कृत्रिम ग्यास अभाव सिर्जना गर्ने जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिँदै त्यस्ता गतिविधि नगर्न आग्रह गरिन् । उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न पनि आग्रह गरिन् । उनका अनुसार उद्योगहरूमा ग्यासको पर्याप्त मौज्दात रहेकाले उपभोक्ताले आत्तिनुपर्ने अवस्था छैन ।

तिलोत्तमामा सञ्चालित सिद्धार्थ ग्यास उद्योगका व्यवस्थापक लक्ष्मण पाण्डेले बजारमा ग्यासको आपूर्ति सामान्य अवस्थामा रहेको बताए । वितरण नियमित भइरहेकाले हल्लाका आधारमा अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न उनले उपभोक्तालाई आग्रह गरे ।

त्यस्तै स्वस्तिक ग्यास उद्योगका व्यवस्थापकले पनि ग्यास पर्याप्त मात्रामा आयात भइरहेको जनाउँदै वितरण प्रक्रियामा देखिने अस्थायी समस्या वा उपभोक्ताले बढी भण्डारण गर्दा अभावजस्तो देखिएको हुन सक्ने बताए ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मुक्तिराम खनालका अनुसार गुनासो आएका करिब पाँच वटा पसलमा अनुगमन गर्दा कृत्रिम अभाव सिर्जना गरिएको प्रमाण फेला परेको छैन । यद्यपि बजारको अवस्थाबारे निगरानी राख्न अनुगमनलाई थप सूक्ष्म बनाइएको उनले बताए ।

अनुगमनमा राजस्व शाखा प्रमुख इन्द्रदत्त सापकोटा, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग व्यापार संगठन तिलोत्तमाका अध्यक्ष प्रेम जीएम, तिलोत्तमा व्यापार संघका प्रतिनिधि तथा नगर प्रहरीको पनि सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर