
काठमाडौं : यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ संकेत दिएको छ– सांसद् जित्न पुरानो अनुहार हुनुपर्दैन । चुनावी परिणामले लामो समयदेखि दोहोरिँदै आएका राजनीतिक समीकरण मात्र होइन, संसद्मा देखिँदै आएका परिचित अनुहारहरूको सूची पनि फेरिएको छ ।
प्रत्यक्षतर्फ निर्वाचित १६५ सांसदमध्ये झन्डै १४० जना पहिलोपटक संघीय संसद्मा प्रवेश गर्दै छन् । अर्थात्, संसद्को ठुलो हिस्सा नयाँ पुस्ताको हातमा पुगेको छ । यही नयाँ पुस्ताको सूचीमा समेटिएकी छन्– दैलेख निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसकी नेतृ बासना थापा ।
पहिलोपटक संसदीय चुनाव लडेकी उनी दैलेख–१मा एमाले नेता रवीन्द्रराज शर्मालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । १२ हजार ३७२ मत ल्याएर उनले जित निकाल्दा निकटतम प्रतिद्वन्द्वी शर्मा ११ हजार ७९६ मतमै रोकिए । संसदीय राजनीतिमा अनुभवी मानिने उम्मेदवारहरूबीच पहिलो प्रयासमै जित निकाल्नु बासनाका लागि ठुलो उपलब्धि बनेको छ ।
१२ वर्षपछि ‘रुख’को उम्मेदवार
दैलेख–१ कुनै समय नेपाली कांग्रेसको बलियो प्रभाव क्षेत्र मानिन्थ्यो । तर पछिल्ला दुई निर्वाचनमा राजनीतिक गठबन्धनका कारण कांग्रेसले यहाँ आफ्नै उम्मेदवार खडा गर्न पाएको थिएन ।
२०७४मा एमाले र माओवादी केन्द्रबीच बनेको वाम गठबन्धनका कारण कांग्रेस कमजोर देखियो । २०७९को निर्वाचनमा भने वाम गठबन्धन टुटिसकेको थियो । एमाले र माओवादी अलग–अलग भए । त्यसपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बन्यो । त्यही गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा उम्मेदवार बने र १८ हजार २९७ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
यी दुई चुनावमा कांग्रेसका मतदाताले ‘रुख चिह्न’मा मत हाल्न पाएका थिएनन् । यसपटक भने पार्टीले १२ वर्षपछि आफ्नै उम्मेदवार अघि सा¥यो– बासना थापा । कांग्रेसी कार्यकर्ता र समर्थकहरूका लागि यो चुनाव त्यसैले पनि विशेष थियो ।
काठमाडौंमा जन्म, कर्णालीमा राजनीति
२०३७ जेठ १५ गते काठमाडौंमा जन्मिएकी बासना थापाको जीवनयात्रा भने राजधानीमा मात्रै सीमित रहेन । २०५९ सालमा विवाहपछि उनी दैलेख पुगिन् । त्यसपछि उनको बसोवास र सक्रियता कर्णालीमै केन्द्रित भयो । हाल उनी दैलेखको नारायण नगरपालिकाकी स्थायी बासिन्दा हुन् । काठमाडौंमा हुर्किएकी भए पनि दैलेखको समाजसँग घुलमिल हुँदै उनले आफ्नो राजनीतिक आधार त्यहीँ बनाइन् ।
बासनाको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । २०५७ सालमा उनी कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघमा आबद्ध भइन् । २०६१ सालमा दैलेख जिल्लाबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेपछि भने उनी पार्टी राजनीतिमा सक्रिय रूपमा लागिन् । त्यसयता उनले पार्टी संगठन, सामाजिक संस्था र स्थानीय गतिविधिमा निरन्तर सक्रियता देखाउँदै आएकी छन् ।
कांग्रेसको १२औं, १३औं र १४औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भइन् । १४औं महाधिवेशनसम्म आइपुग्दा उनी महासमिति सदस्यसमेत बनेकी थिइन् । त्यही महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन्, तर त्यसमा भने सफल हुन सकिनन् ।
संसदीय चुनावअघि उनले स्थानीय तहको चुनावमा पनि प्रतिस्पर्धा गरिसकेकी थिइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नारायण नगरपालिकाको उपमेयर उम्मेदवार बनेकी थिइन् । त्यतिबेला उनले ४ हजार ८६६ मत ल्याएकी थिइन् । तर एमालेकी सावित्री मल्लसँग ५७७ मतले पराजित भइन् । त्यो पराजयले उनलाई राजनीतिबाट टाढा बनाएन । बरु त्यसपछि उनले पार्टी र समाजमा आफ्नो सक्रियता अझै बढाइन् ।
राजनीतिक सक्रियतासँगै उनी व्यवसाय र सामाजिक क्षेत्रमा पनि सक्रिय छिन् । बासनाले होटेल व्यवसाय सञ्चालन गर्दै आएकी छन् । त्यस्तै, लायन्स क्लबलगायत सामाजिक संस्थामार्फत विभिन्न सामाजिक गतिविधिमा पनि उनी जोडिएकी छन् । भारतको भीमराव विश्वविद्यालयबाट उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनी कांग्रेसबाट चुनाव जित्ने एक मात्र महिला सांसद् भएकी छिन् ।