२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

गुल्मी सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै

himalayanlife
तिलु शर्मा पौडेल
२०८२ चैत ११ गते २१:१०
Shares
गुल्मी सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै

दोहा कतार : कतारमा स्थापित गुल्मेलीहरूको साझा सामाजिक संस्था गुल्मी सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले आफ्नो स्थापनाको २३औं स्थापना दिवसको अवसर पारेर आगामी शुक्रवार बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । कतारमा रगत अभावका कारण समस्यामा परेका नागरिकको जीवन रक्षार्थ यहाँको नेपाली समुदायद्वारा समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

जनवरीको तेस्रो साता यता नेपाली समुदायका तर्फबाट रक्तदान कार्यक्रम हुन् नसकिरहेको अवस्थालाई चिर्दै रक्तदान, जीवनदान भन्ने मूल मन्त्रसहित लुम्बिनी प्रदेश समन्वय परिषद् कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त समन्वयमा हुने रक्तदान कार्यक्रमको तयारी पुरा भएको समाजले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवामा समर्पित रहँदै रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको समाजका अध्यक्ष मित्र बिएसले मध्यान्ह दैनिकलाई जानकारी दिए । रक्तदान आफैमा पुण्यको काम भएको र प्रत्यक्ष पुण्य आर्जनका लागि रक्तदानजस्तो ठुलो दान अर्को नहुने हुँदा कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई समयमै उपस्थित भई रक्तदान गरी मानव सेवामा हातेमालो गर्न बिएसले आग्रह गरेका छन् ।

कतारको सरकारी हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजेदेखि दिउँसो १ बजे सम्म चल्ने छ । रक्तदान सम्बन्धी केही जिज्ञासा भएमा कार्यक्रम संयोजक दीपक घिमिरे ७७३०८४५० लाई सम्पर्क गर्न सकिने समाजले जनाएको छ ।

के छ रक्तदानको फाइदा ?

विभिन्न अध्ययन अनुसन्धानहरूले जनाए अनुसार  रक्तदान गरेमा मुटुको रोग जोखिम कम हुनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा समेत कम गर्छ । त्यस्तै, नियमित रक्तदान गर्ने व्यक्तिमा कलेजो, कोलोन, फोक्सो, अन्न नली तथा पेटको क्यान्सरको जोखिम कम हुन्छ भने सन् २००८ मा गरिएको एक अध्ययनले बताएको छ ।  सन् २०१६ मा भएको एक अनुसन्धानले पनि रक्तदान गरेमा इफ्लेमेसन कम हुने शरीरमा एन्टीअक्सिेडेन्टको मात्रा बढ्ने पाइएको छ ।

१ - रक्तदानको समयमा तीन सय मिली लिटर रगत मात्र दान गरिन्छ, जसको भरपाई शरीरले २४ देखि ४८ घण्टा भित्रमा गरिसक्छ ।

२- रक्तदान पश्चात् शरीरमा रगतको कोशिका तीव्र गतिमा बढ्न थाल्छ ।

३ - शरीरमा रातो रक्तकोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ । जसले गर्दा रक्तदान गरे लगत्तै शरीरमा स्फूर्ति बढ्छ ।

४- रक्तदान गरेमा सङ्क्रमित रोग समेत पत्ता लाग्छ ।

५-रगतहरूमध्ये ओ नेगेटिभ रगत भएका व्यक्ति युनिभर्सल डोनर हुन्, अर्थात् उनीहरू जो कसैलाई आफ्नो रगत दान दिन सक्छन् ।

६- एक जनाले दान दिएको रगतले तीन जनाको ज्यान बचाउन सकिन्छ ।

रक्तदान गर्न चाहनु हुने रक्तदाताले ध्यान दिनु पर्ने कुराहरू

१) रक्तदाता रक्तदान गर्न आउँदा आफ्नो कतारी आइडी, ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य हुनुपर्नेछ ।

२) रक्तदाता कतार प्रवेश गरेको ४ महिना पुरा भएको हुनुपर्नेछ ३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पुरा भएको हुनुपर्नेछ ।

४) रक्तदाता कम्तीमा ८ घण्टा सुतेको, कुनै पनि एन्टिबायोटिक औषधि सेवन नगरेको र पछिल्लो २४ घण्टा भित्र मदिरा पान सेवन नगरेको हुनुपर्नेछ ।

५) रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तीमा ५० केजी सम्म हुनु पर्नेछ ।

सम्बन्धित खबर