काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार मुद्दा दायर हुनेमा यातायात व्यवस्था कार्यालयका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेका छन् ।
उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट सच्याएर ५ सय ३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएको अख्तियारको दाबी छ ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यस्तै हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यउपर पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies