
काठमाडौं : बालेन नेतृत्वको सरकारले ३३ प्रतिशत महिला सहभागिता पाएको छ । १५ सदस्यीय मन्त्रिमण्डलमा पाँच महिला मन्त्री बन्न सफल भएका छन् । तीमध्ये एक प्रत्यक्ष निर्वाचित हुन् भने बाँकी चारजना समानुपातिकतर्फका हुन् । प्रत्यक्ष निर्वाचित सोविता गौतमलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमा प्रतिभा रावल, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता बादी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निशा मेहता मन्त्री बनेका छन् ।
नीतिगत सुधारमा स्पष्ट सोविता कानुनमन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी पाएकी छन् । गौतम चितवन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले भरतपुरकी पूर्वमेयर रेनु दाहाललाई पराजित गरेकी थिइन् । गौतमले ५९ हजार २७७ मत प्राप्त गरेकी थिइन् । वि.सं. २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम २०७९को निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भएर पहिलो कार्यकालमा सांसदमै सीमित भएकी थिइन् । उनले कानुन विषयमा स्नातक (एलएलबी) उत्तीर्ण गरेकी छिन् भने हाल काठमाडौं स्कुल अफ लमा एलएलएम अध्ययनरत छिन् ।
राजनीतिमा प्रवेश गर्नुअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहँदै आएकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् । कानुनी समस्या र अधिकार उल्लंघनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग रहेको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्वसदस्यका रूपमा उनले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरेकी छिन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी परामर्शदाताका रूपमा अनुभव हासिल गरेकी उनले युवा संस्थाहरूको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी तथा नीतिगत दबाब सिर्जनामा समेत सक्षम नेतृत्व देखाएकी छिन् ।
संयुक्त राष्ट्रसंघसँग आबद्ध कार्यक्रम तथा अन्तर संसदीय संघको स्वास्थ्य समितिमा सदस्यका रूपमा उनले योगदान दिएकी छिन् । सार्वजनिक स्वास्थ्यसम्बन्धी विषयमा संवादमार्फत जनचेतना फैलाउने कार्यमा उनको सक्रियता उल्लेखनीय छ ।
युवाको सहभागीता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्ने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिँदै आएकी छिन् । निर्वाचनका क्रममा उनले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सारेकी थिइन् ।
सन् २०२३ मा ‘वन यङ वल्र्ड–पोलिटिसियन अफ द इयर’ अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित भएकी छिन् । रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहेकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिक–केन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व गर्छिन् ।
नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उनलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ ।
कृषक परिवारकी गीता कृषिमन्त्री
कञ्चनपुरकी गीता चौधरीले शुक्रबार कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्रीको पदभार ग्रहण गरिन् । सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा उनले पद बहाली गरेकी हुन् । सामान्य कृषक परिवारकी उनी कमैया परिवारकी हुन् । स्कुल पढ्दै गर्दा उनी सानैदेखि बालक्लब हुँदै युवा क्लबलगायत विभिन्न संघसंस्थामा आबद्ध थिइन् ।
उनी सामाजिक कार्यमा पनि सक्रिय थिइन् । विभेद, हिंसाका विरोध जनाउँदै उनले आवाज उठाउ थिइन् । जसले गर्दा उनलाई गाउँलेले ‘नेता’को उपमा समेत दिएका थिए । ३३ वर्षीया गीतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएको छ । उनले एसएलसी उत्तीर्ण गरेपछि कानुनबाटै स्नातकोत्तरसम्म अध्ययन गरिन् । त्यसपछि काठमाडौंमै वकालत गर्न थालिन् । नेता हुनकै लागि कानुन पढेर वकालतमा लागेकी हुन् । मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताएकी छिन् । युथ एड्भोकेसी नेपाल नामक संस्थाकी संस्थापकसमेत रहेकी उनी वकालतसँगै मानव अधिकारका क्षेत्रमा कार्यरत थिइन् ।
नर्सबाट स्वास्थ्यमन्त्री बनेकी निशा
२०४४ साउन २२ गते जन्मिएकी निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेकी छिन् । उनी पेसागत रूपमा नर्स हुन् । रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीमा आबद्ध भएकी थिइन् । अघिल्लो निर्वाचनमा रास्वपाले उनलाई सामानुपातिक सूचीमा समेत राखेको थियो । त्यो समयमा उनको नाम पर्न सकेन ।
सुरुदेखि नै राजनीतिक रुचि राख्ने उनी पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय थिइन् । मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेसँगै उनी स्वास्थ्यमन्त्रीसमेत बनेकी छिन् ।
भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनी विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा कार्यरत थिइन् । निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र लिएपछि मात्रै उनले राजीनामा दिएकी थिइन् ।
२०७९को निर्वाचनमै समानुपातिक सूचीमा परे पनि सांसद बन्न सकिनन् । उनी निरास भइनन्, धैर्य गरेर पर्खिन् । संसद् प्रवेश गर्दा मेहताले आफ्नो यात्रालाई एकपटकको अवसर होइन, लगातारको प्रयासको परिणाम भएको बताएकी थिइन् । उनको उपस्थितिले संसद्मा नयाँ पुस्ता, विशेषगरी मधेशी महिला र स्वास्थ्य क्षेत्रका प्रतिनिधित्वलाई थप सशक्त बनाएको मानिन्छ ।
स्वास्थ्य क्षेत्रमै काम गरेको अनुभवले नीति निर्माणमा व्यावहारिक दृष्टिकोण दिने अपेक्षा गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ, कोशी प्रदेशमा प्रशासन सचिवका रूपमा उनले स्वास्थ्य शिविर, महिला तथा बालबालिकाकेन्द्रित कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरिन् ।
उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा डिएसपी हुन् । परिवारको साथ र बुझाइले उनको राजनीतिक यात्रालाई थप सहज बनाएको छ । मधेशी महिला र बालबालिकाका मुद्दामा उनको रुचि छ ।
बादी समुदायकी पहिलो मन्त्री सीता
सुर्खेतकी सीता बादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै बादी समुदायकी पहिलो मन्त्रीको इतिहास रचेकी छिन् । दलित महिला क्लस्टरतर्फ समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनेकी बादीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएको हो ।
बादी समुदायबाट पहिलोपटक संघीय संसद्मा प्रतिनिधित्व गर्दा मात्रै पनि उनले देशभर चर्चा पाएकी थिइन् । अब त मन्त्री बनेर अर्को रेकर्ड बनाएकी छिन् । अब आफ्नो समुदायका आधारभूत मुद्दा मात्रै होइन शिक्षा, स्वास्थ्य, रोजगारी र भूमिको हक नपाएकाहरूका लागि काम गर्ने उनले बताएकी छिन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनी लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छिन् । अहिले पनि दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकालाई शिक्षा र महिला दिदीबहिनीलाई व्यावसायिक तालिम दिइरहेकी छन् । चुनिखेल क्षेत्रमा उनले हस्तकला व्यवसायमार्फत थुप्रै महिलाका लागि पनि रोजगारी सिर्जना गरेकी छिन् । एक दशकभन्दा बढी समयदेखि उनले बादी समुदायका हितमा प्रत्यक्ष रूपमा काम गरिन् ।
‘सुन्दर सहज नेपाल’ नामक संस्था स्थापना गरी बाल संरक्षण, शिक्षा र महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा पहल गरिन् । महिला, दलित, बादी समुदायको आवाज त्यही समुदायबाट गएको प्रतिनिधिले सत्य र साहसका साथ राख्न सक्ने उनको विश्वास छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सामाजिक सुरक्षा, लैंगिक समानता र बालअधिकारका क्षेत्रमा नीति निर्माण गरे पनि सीतासँग संरचनागत कमजोरी, सीमित स्रोत र समन्वयको अभावलगायत समस्या चिर्दै अघि बढ्नुपर्ने चुनौती छ ।