२०८२ चैत १६ गते सोमवार / Mar 30 , 2026 , Monday
२०८२ चैत १६ गते सोमवार
Ads

सुधारगृहबाटै एसइई परीक्षाको तयारी

himalayanlife
सपना बोहरा
२०८२ चैत १६ गते ०६:२५
Shares
सुधारगृहबाटै एसइई परीक्षाको तयारी

काठमाडौं : आगामी बिहीबारबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन हुँदै छ । कास्कीका विभिन्न बाल सुधारगृहका कैदी विद्यार्थी पनि एसइईको तयारीमा जुटेका छन् । त्यसका लागि सहजीकरण गरिदिएको छ, बाल सुधारगृह कास्कीले । 

विभिन्न आपराधिक गतिविधिमा संलग्न भएर बाल सुधारगृहमा कैद भुक्तान गरिरहेका विद्यार्थीहरू एसइईको तयारीमा जुटेका हुन् । सुधारगृह प्रमुख दुर्गा सुवेदीका अनुसार यसपटक ६ जना बालकले एसइई दिने भएका छन् । एक जना भने प्राविधिक कारणले एसइई दिनबाट वञ्चित भएको उनले बताए । 

सो सुधारगृहबाट गत वर्षको एसइईमा ११ विद्यार्थी सहभागी भएका थिए । ‘११ जनाले नै एसइई उत्तीर्ण गरेका थिए,’ उनले भने, ‘उनीहरूको रुचिअनुसारको थप पढाइका लागि फर्म भरेर प्रोत्साहन गर्ने गरेका छौं ।’ 

बाल सुधारगृहमा अहिले एक सय ६ जना बालक छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नौजना कैदी विद्यार्थी जेल तोडेर फरार भएका थिए ।

सुधारगृहमा कक्षा ६ देखि १० सम्म पढाइ भइरहेको छ । अहिले ३८ जना बालक अध्ययन गरिरहेका छन् । सुवेदीका अनुसार कक्षा ६मा आठजना बालक अध्ययन गरिरहेका छन् । तीमध्येका दुईजना भने हाल फरार छन् । 

कक्षा ७मा नौजना, कक्षा ८मा ६ जना, ९ मा आठजना र कक्षा १०मा सातजना बालक अध्ययन गरिरहेको सुधारगृहले जनाएको छ । 

२०७३ सालदेखि कैदी बालकहरूका लागि अध्ययनको व्यवस्था गरिएको सुधारगृह प्रमुख सुवेदी बताउँछन् । उनीहरूलाई अध्यापन गराउन तीनजना शिक्षकको व्यवस्था गरिएको छ । त्यसका लागि स्थानीय तहले नै दरबन्दी स्वीकृत गरेको छ । 

सरकारले तोकेको मापदण्डअनुसार नै पढाइ हुने गरेको प्रमुख सुवेदीले बताए । उनले भने, ‘पोखरा महानगरअन्तर्गतका तीनजना माध्यमिक शिक्षकहरू हुनुहुन्छ, सामुदायिक विद्यालयसरह पढाइ हुन्छ ।’ 

एसइई परीक्षाको केन्द्र बाल सुधारगृहमा नै हुने गरेको र महानगरले निरीक्षकको (गार्ड)को व्यवस्था गर्ने गरेको उनले बताए । 

एसइई उत्तीर्ण गरेपछि प्लस टुमाथिको अध्ययन गर्न चाहनेलाई सुधारगृहले नै फर्म भर्न सहजीकरण गर्दै आएको छ । 

त्यस्तै, १९७१ सालमा केन्द्रीय कारागारभित्र स्थापना भएको जगन्नाथ माध्यमिक विद्यालयमा अध्ययनरत १० जना कैदी बालक पनि एसइईको तयारीमा जुटेका छन् । केन्द्रीय कारागारका सूचना अधिकारी वैकुण्ठ रेग्मीले भने, ‘१० जना कैदी विद्यार्थीका लागि परीक्षा केन्द्रको पनि तयारी गरिरहेका छौं,’ उनले भने । 

त्यस्तै, जगन्नाथ माध्यमिक विद्यालय, महिला बन्दी विकास आधारभूत विद्यालयलगायतमा गरी करिब आठ सय कैदी विद्यार्थी कक्षा १ देखि १२सम्म अध्ययनरत छन् ।  

परीक्षा नियन्त्रण कार्यालय कक्षा १०का अनुसार बिहीबारबाट सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा देशभरबाट पाँच लाख १२ हजार चार सय २१ जना विद्यार्थी सहभागी हुँदै छन् ।

तीमध्ये दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार आठ सय एक छात्र र सातजना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । 

चैत १९ देखि सुरु हुने परीक्षा २९ मा सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डले गत माघ ७ मा परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

सम्बन्धित खबर