
काठमाडौं : विगतमा वरीयता विवाद झिकेर पार्टीको बैठकदेखि सार्वजनिक कार्यक्रममा मञ्च बहिष्कार गर्दै आएका नेपाली कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का र डा.शेखर कोइरालाको जोडी अहिले मज्जाले जमेको छ ।
गत पुस अन्तिममा भएको पार्टीको विशेष महाधिवेशनपछि कोइराला र खड्काबीचको एकता प्रगाढ बन्दै गएको छ भने सभापति गगन थापासँग उनीहरूको सम्बन्ध वारपारको अवस्थामा पुगेको छ । १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइराला र देउवाको कार्यसमितिका उपसभापति खड्काबीच देउवापछिको वरीयतामा को हुने भन्ने लफडा लामै समय चल्यो । वरीयता विवादकै कारण डा. कोइराला उपस्थित हुने कार्यक्रममा खड्का नजाने र खड्का उपस्थित हुने कार्यक्रममा कोइराला नदेखिने क्रम झन्डै चार वर्षसम्म चल्यो । तत्कालीन सभापति देउवाले कोइरालालाई वरिष्ठ नेता त परको कुरा, पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीपछिको २६औं वरीयतामा पु¥याएपछि उनी स्थायी प्रतिपक्ष भइरहे ।
२०८० मंसिर १६ गते कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा पार्टी सभापति देउवापछिको वरीयतामा नेता कोइरालालाई आमन्त्रण गरेपछि उपसभापति रहेका खड्काले बहिष्कार गरे । सोही क्रममा भएको मधेश प्रदेश सम्मेलनमा वरीयताको कारण देखाएर कोइरालापक्षीय नेताहरूले बहिष्कार गर्ने चेतावनी दिएपछि उनैलाई वरीयतामा अघि राख्ने पक्का भयो । योसँगै पूर्णबहादुर सहभागी भएनन् भने अर्का नेता विमलेन्द्र निधिले समेत मञ्च बहिष्कार गरे । त्यस्तै, आफ्नै गृहप्रदेश कोशीको सम्मेलनमा पूर्णबहादुर गएपछि कोइराला समूहका नेताहरू सम्मेलन बहिष्कार गर्दै झापातिर हानिएका थिए । त्यसबेला महामन्त्रीको हैसियतमा सम्मेलनमा सहभागी भएका गगन थापाले कोइरालाप्रति कटाक्षसमेत गरेका थिए । त्यहीँदेखि कोइराला र गगनबीचको सम्बन्ध चिसिँदै गएको नेताहरू बताउँछन् ।
यद्यपि, गत प्रतिनिधिसभाको निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने नेता कोइरालाको अडानमा तत्कालीन महामन्त्रीद्वय गगन–विश्वप्रकाश शर्माले साथ दिएका थिए । तर देउवा पक्षले चुनावको टिकट बाँडेर मात्रै १५औं महाधिवेशन गर्ने निर्णय लिएपछि महामन्त्रीहरूले फरक मतसहित विशेष महाधिवेशन आह्वान गरेका थिए । कोइराला भने विशेष महाधिवेशनको पक्षमा आएनन् । उनले सकेसम्म नियमित महाधिवेशन नत्र आधिकारिक निर्णयबाट मात्रै विशेष महाधिवेशनमा जाँदा पार्टीले आन्तरिक समस्या झेल्नु नपर्ने तर्कसहित मध्यमार्गी भूमिका निभाए । तर, उनको भूमिकाले काम गरेन । कोइराला समूहबाट महामन्त्री जितेका गगन र प्रकाशमान सिंह समूहबाट महामन्त्री बनेका विश्वप्रकाशको अगुवाइमा विशेष महाधिवेशन भएर पार्टीको नीति र नेतृत्व नै परिवर्तन भयो । सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासहित नयाँ पुस्ताको अगुुवाइमा भएको विशेष महाधिवेशन नै अहिले कोइराला–खड्का मिलनको कारक बन्न पुगेको छ ।
विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइरालासहित नेताहरू निर्वाचन आयोग हुँदै अदालतसम्म पुुगे । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई नै आधिकारिकता दिएसँगै प्रतिनिधिसभाको निर्वाचनमा सबै सभापति गगन थापाकै हस्ताक्षरमा चुनावमा गए । तत्कालका निम्ति एकताको सन्देश लिएर मतदातामाझ पुुगे पनि नेताहरूले आन्तरिक असहयोग रोक्न सकेनन् । गगनकै हस्ताक्षरमा उम्मेदवार बनेका शेखर कोइराला र आफ्नै भाइलाई टिकट दिलाएर जिताएका पूर्णबहादुर खड्काले अहिले गगनको नेतृत्व अस्वीकार गर्न थालेका छन् ।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’को नारा लिएर मतदातामाझ गएको गगन नेतृत्वको कांग्रेस ३८ सिटमा खुम्चिएपछि देउवा नेतृत्वमा रहेका केन्द्रीय नेताहरूले समानान्तर गतिविधि थालेका छन् । कोइरालासमेत जोडिएर समानान्तर गतिविधिलाई थप सशक्त बनाएका छन् ।
सांसदको स्वागत, पुरानो कार्यसमितिको बैठक
कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरूलाई संस्थापन पक्षले प्रशिक्षण दिएपछि इतर समूहका कोइराला र खड्काले पनि छुट्टै भेटघाट आयोजना गरेका छन् । सोमबार सामूहिक रूपमा बधाई दिने कार्यक्रम राखेर दुई नेताबीचको एकताको सन्देश दिएका छन् । यो समूहले मंगलबार देउवा नेतृत्वको केन्द्रीय समितिको बैठक बोलाएको छ भने बुधबार विशेष महाधिवेशनको विपक्षमा रहेका जिल्ला सभापतिहरूको भेला राखिएको छन् । यी सबै कार्यक्रम धुम्बाहाराहीस्थित स्मार्ट प्यालेसमा हुँदै छ ।
विशेष महाधिवेशनको विपक्षमा रहेका जिल्ला सभापतिसहित केन्द्रीय नेताहरूसँग आगामी दिनमा कसरी जाने भन्ने विषयमा रणनीतिक छलफल हुने पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताए । ‘पार्टीमा गगनजीहरूले द्वन्द्व बढाएर आफू पनि सकिने र पार्टीलाई पनि सक्उने प्रयास गर्नुभयो,’ खड्काले मध्यान्हसँग भने, ‘यो विषयमा छलफल गर्न हामीले जिल्ला र केन्द्रका साथीहरूलाई बोलाएका छौं । उहाँहरूसँगको छलफलपछि कसरी अघि बढ्ने रणनीति तय गर्छौं ।’
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य नै जारी गरेका थिए । संस्थापन पक्षले कार्यवाहक सभापतिका नाममा अर्कोपटक विज्ञप्ति सार्वजनिक गरे कारबाही गर्ने चेतावनी दिएको छ । विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको अनुशासन समितिको बैठक पनि मंगलबार डाकिएको छ । सो बैठकले समानान्तर गतिविधि गरेको भन्दै खड्कालाई कारबाही गर्न सक्ने सम्भावना पनि छ ।
पार्टीलाई एकताबद्ध बनाएर लैजाने सन्दर्भमा नेताहरूबीच संवाद जारी रहेको अवस्थामा समानान्तर गतिविधि गर्ने नेताहरूलाई अनुुशासनको कारबाही हुने केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन् । पार्टी प्रवक्ता देवराज चालिसेले पनि पूर्णबहादुर खड्कासहितका नेताहरूको गतिविधि नजिकबाट नियालेको भन्दै कारबाहीको संकेत गरेका छन् । तर, केन्द्रीय समितिको चेतावनीको परवाह नगरी नेता खड्का र कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकलगत्तै, प्रदेश÷जिल्ला भेला र युवा भेलाको समेत तयारी गरेका छन् । यसले पार्टीभित्र थप विग्रहको बाटो तय हुने नेताहरूको टिप्पणी छ ।