
बझाङ : जयपृथ्वी नगरपालिका–१ कैलासमा रहेको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न तथा त्यससँग जोडिएका आर्थिक गतिविधिको निष्पक्ष छानबिन गर्न माग गरिएको छ । जेनजी अभियन्ता सुनिल सिंहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निवेदन पेस गर्दै यस्तो माग अघि सारेका हुन् ।
निवेदनमा उक्त उद्योग स्थानीय सीप, स्रोत र सांस्कृतिक पहिचानसँग गाँसिएको महत्वपूर्ण हस्तकला केन्द्र भएको उल्लेख गरिएको छ । विगतमा यहाँ उत्पादित हातेकागज गुणस्तरीय मानिँदै आएको र यसले स्थानीयस्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा समुदायको पहिचान प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको जनाइएको छ ।
तर पछिल्लो समय उद्योग पूर्ण रूपमा बन्द भएपछि त्यसको प्रत्यक्ष असर स्थानीय बासिन्दाको जीविकोपार्जनमा परेको सिंहले बताएका छन् । यति महत्वपूर्ण उद्योग संरक्षण र सञ्चालनमा सम्बन्धित निकायले अपेक्षित चासो नदिएको आरोप पनि निवेदनमा गरिएको छ ।

साथै उद्योग सञ्चालनका क्रममा सर्वसाधारणबाट संकलित रकमको उपयोगमा अनियमितता भएको आशंका व्यक्त गरिएको छ । अहिलेसम्म स्पष्ट र पारदर्शी हिसाब सार्वजनिक नगरिएको भन्दै उनले आर्थिक कारोबारको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
उद्योगलाई पुनर्जीवित गर्न ठोस कार्ययोजना ल्याउनुपर्ने, सम्भावित अनियमिततामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा दिगो सञ्चालनका लागि आवश्यक बजेट, प्रविधि र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिइएको छ । भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कडा अनुगमन र उत्तरदायित्व प्रणाली विकास गर्नुपर्ने मागसमेत गरिएको छ ।
