२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अमेरिका र क्यानडाका चर्चित विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को-हजबेन्ड’

ADV
मध्यान्ह
२०८१ साउन २० गते १५:११
अमेरिका र क्यानडाका चर्चित विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को-हजबेन्ड’

काठमाडौं : नेपालको बहुपति प्रथाका बारेमा गणेश पाण्डेले निर्माण गरेको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ अमेरिका र क्यानडाका चर्चित क्याम्पस र विश्व विद्यालयले अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराइदिने भएको छ । 

५६ वर्षअघि (सन् १९६८) अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउन लागेको खबर थाहा पाउँदा निकै खुसी लागेको को-हजबेण्डका निर्देशक पाण्डेले बताए । ‘मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामग्रीको रुपमा को-हजबेण्ड रहनेछ,’ उनले भने, ‘नेपालमा बनेको सामग्री विश्वका चर्चित विश्वविद्यालयका लागि एजुकेशनल रिसोर्सेस हुनु देशका लागि पनि गर्वको कुरा हो ।’ यसबापत ‘को–हजबेण्ड’ टिमले रोयल्टी प्राप्त गर्नेछ ।

को-हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को-हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । निर्देशक पाण्डेले करिब ४ वर्षको छायाँकन र रिसर्चबाट को-हजबेन्ड निर्माण गरेका हुन् । साइन मिडिया प्रा.लि.ले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवम् दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् । यसैगरी चन्द्रमान डंगोल, अविनाश लामाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise