
रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ मा रहेको चौरजहारी विमानस्थल विगत आठ वर्षदेखि सञ्चालनमा आएको छैन । वि.सं. २०२८ मा निर्माण भएको यो विमानस्थलमा सुरुमा कच्ची धावनमार्गबाट नियमित उडान हुँदै आएको थियो । तर धावनमार्ग कालोपत्रे गरिएपछि भने अपेक्षाविपरीत सेवा ठप्प भएको स्थानीयको गुनासो छ ।
धावनमार्ग कालोपत्रे भएपछि उडान संख्या बढ्ने, व्यापारिक तथा पर्यटकीय गतिविधि विस्तार हुने र आवागमन सहज बन्ने आशा गरिएको थियो । तर वर्षौंसम्म विमानस्थल बन्द रहँदा स्थानीय बासिन्दा निराश बनेका छन् । चौरजहारी–१ का महेश गिरीले राज्यको करोडौं लगानी खेर गएको भन्दै विमानस्थल बन्द हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनका अनुसार जहाज सञ्चालन हुँदा चहलपहल हुने क्षेत्र अहिले सुनसान जस्तै बनेको छ ।
२०२८ सालदेखि सञ्चालनमा रहेको विमानस्थलमा २०७० सालपछि नियमित उडान बन्द भएको हो । २०७० फागुनदेखि २०७२ भदौसम्म करिब पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपैयाँ लागतमा धावनमार्ग कालोपत्रे गरिएको थियो । त्यसपछि केही समय अनियमित उडान भए पनि कोभिड–१९ महामारीपछि विमानस्थल पूर्ण रूपमा बन्द अवस्थामा पुगेको छ ।
चौरजहारी नगरपालिकाका अनुसार तत्कालीन समयमा नेपालगञ्जस्थित वायु सेवा निगमको क्षेत्रीय कार्यालयले विमानस्थलका महत्वपूर्ण उपकरण समेत हटाएको थियो । जहाजको अभाव र न्यून यात्रु संख्यालाई कारण देखाउँदै कार्यालयसमेत सारिएको बताइएको छ ।
यस विमानस्थलबाट जाजरकोट, रुकुम पश्चिम र सल्यानका बासिन्दाले सेवा लिँदै आएका थिए । हाल भने उनीहरूलाई हवाई यात्रा गर्न नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ, जसले समय र खर्च दुवै बढाएको स्थानीयको भनाइ छ ।