२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वैदेशिक रोजगार बीमाको व्यापार वृद्धिसँगै बीमा कम्पनी पनि थपिए

ADV
२०८१ साउन २१ गते ०६:४०
वैदेशिक रोजगार बीमाको व्यापार वृद्धिसँगै बीमा कम्पनी पनि थपिए

काठमाडौं : सुरक्षित लाभको अवस्था देखिएपछि वैदेशिक रोजगारी बीमालेख बिक्रीका लागि जीवन बीमासहित लघुबीमा कम्पनीमा आकर्षण बढेको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि अनिवार्यरूपमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने प्रावधान निजी जीवन बीमा कम्पनी र लघु बीमा कम्पनीहरूका लागि व्यापारको बलियो स्रोत बनेको छ । 

प्रारम्भमै एकमुष्ट बीमाशुल्क तिर्नुपर्ने शर्त रहेको उक्त बीमा पोलिसीमा बीमा अवधिमा कुनै घटना नभए रकम फिर्ता हुँदैन । बीमा कम्पनीहरूले उक्त रकम तत्कालै आम्दानीमा बाँध्न पाउँछन् । यसअघि नेपालमा व्यवसाय गरिरहेकामध्ये ११ वटा जीवन बीमा कम्पनीले म्यादी बीमालेख बिक्री गर्दै आएकोमा यस आर्थिक वर्षदेखि थप २ जीवन बीमा कम्पनी र ३ लघुबीमा कम्पनी वैदेशिक रोजगारको म्यादी बीमा बिक्री गर्न सूचीकरण भएको वैदेशिक रोजगार विभागले बताएको छ । 

म्यादी बीमा पोलिसी बिक्रीबाट जीवन बीमा कम्पनीहरूले मासिक सरदर २ करोड हाराहारीमा कमाउने गरेको अनुमान छ । गत वर्ष ७ लाख ४१ हजार २ सय ९७ जना वैदेशिक रोजगारीमा गएका छन् । एक महिनामा मात्रै १३ वटा बीमा कम्पनीले ७१ हजार ७३ वटा वैदेशिक रोजगार बीमालेख जारी गरी २० करोड ७१ लाख ७१ हजार रुपैयाँभन्दा बढी कमाएका छन् । वैदेशिक रोजगार म्यादी जीवन बीमामा १६ देखि ६० वर्ष उमेर समूहका कामदारले १ देखि ५ वर्षसम्मको बीमा गर्ने गरेका छन् ।

देश र उमेरअनुसार म्यादी बीमाको रकम फरक–फरक तिर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा साउदी अरेबिया, कतार र यूएईसहित खाडीका देश र मलेसिया जाने कामदारहरूले म्यादी बीमाबापत १ हजार ५ सयदेखि ४ हजारसम्मको बीमा गर्नुपर्ने व्यवस्था छ ।

यस्तै कोरिया र इराजरायल जाने कामदारले २ हजार ५ सयको बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति २ वर्षको हुने भएपनि खाडी मुलुक र मलेसिया जाने कामदारको श्रम स्वीकृतिभन्दा १ वर्ष बढी अवधिको म्यादी बीमा गरिँदै आएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार हाल सूर्यज्योति लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, सानिमा लाइफ, आइएमई लाइफ, मेट लाइफ कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा जाने कामदारको म्यादी बीमा गर्ने गरेका छन् । यसका अतिरिक्त रिलायवल लाइफ, नेपाल लाइफ, नेशनल लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी)नेपाल लगायतले वैदेशिक रोजगार बीमाको पोलिसी बेच्दै आएका छन् । गत वर्षसम्म वैदेशिक रोजगारी म्यादी बीमा बिक्रीमा नजोडिएको हिमालयन लाइफ इन्स्योरेन्स यस वर्ष सूचीकृत भएको छ ।

गत वर्षसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्रीमा सूचीकृत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स चालु वर्षका लागि सूचीकृत भएको छैन । विभागका अनुसार गार्डियन माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ म्यादी बीमाको व्यापारमा थपिएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise