–हेमराज अधिकारी
टन्टलापुर घाम लागेका थिए । मण्डल माइलाको घरमा दुई बुढाहरू बसेर फिका चिया पिउँदै कुरा गरिरहेका थिए । रिजाल बुढाले ‘एक देश, एक रासिन कार्ड’को विषयमा मण्डललाई सोध्दै थिए । मण्डलले जाने बुझेको कुरा भन्दै थिए । “केही फरक पर्दैन काहिँला, आखिर तैँले अम्लिसोको कुचो पु¥याउने भनेको त्यही बजारको सुरेश कुमारकैमा हो । तेरो रछेन घुरेनमा आएर टिन प्लास्टिक, लाबरका टुक्रा, बोतल, स्टिल, सिल्बरे, पित्तल, उठाउने उनेरले नै हो । तेरो अदुवा बारीमा आएर बगान किन्ने पनि उनेरले नै हो । तँ खाईनखाई फापर, अलैंची, तोरि, अन्न पानी, तेल पिसाउने दाम तोक्ने उनेरले नै हो । तँ जस्ता लाखौं किसानले यो देशका नेताको भाग्य र भविष्य बनाउँछन् तर, आखिरमा तेरै छोराछोरीको भविष्यसँग खेलवाढ गर्ने उनेर नै हुन् । अब कसको विश्वास गर्छस् त ? तेरो छोराले घर बनाउँदै छ अहिले । अहिले त त्यो मिस्त्रीको बुढी मात्रै छ यहाँ । अब रासन पनि यहीँ पाउने भएपछि त छोराछोरी नातागोता आफन्त साफन्त सबै लाइनमा लाग्ने हुन् । आखिर यो देशमा जहीँ गएर बसे पनि भोट हाल्न पाउने अधिकार सबैकोमा छ । भोलि उनेरुले यो गाउँमा पञ्चायत बनाउछन् । अनि पञ्चायत सञ्चायत मिलेर काउन्सिलर बनाउँछन् । अनि हँुदा हुँदै एमएलए पनि कुनै ठूलो कुरा भएन । अनि त सरकार पनि उनेरूकै हुन्छ । अनि तँ जस्ता लाटासिधा माथि शासन उनेरूको हुन्छ । अहिले बजारमा गएर तेरो बारिको फलफुलको भाउ उनेरूलाई सोधपुछ गर्दैछस् भने भोलिको तेरो छोराको पालोमा के हुन्छ राम्रो सोच”, भनेर मण्डलले एकै श्वासमा रिजाललाई उचाल्नु थाल्यो ।
रिजालले मण्डलको कुरा सुनेर लामो सुस्केरा तान्दै बिँढि सल्कायो । रातो आगोको धुवा स्वाट्ट मुखभित्र निल्दै मनिपुरे बटुकाको चिया पियो । मण्डलले रिजाललाई उचाल्नु थियो उचाले । अब यति भएपछि त्यो गाउँमा रिजालले यो कुरो फुकि हाल्थ्यो । रिजाललाई बस्दै गर है भनेर टाट्नामा भएको बनमारा सरिको घाँस मण्डलले पेटारी बाख्रालाई थपिदिएर आए । रिजालले सिकुवाको खाटमा अस्कोट खोल्दै सिरानी पट्टी पट्याउँदै त्यसमाथि लमतन्न भएर टाउको राख्दै अर्को बिँढि सल्काए । मण्डलनीले अर्को कित्लिमा सेलाएको चिया दुवै बुढाको बटुकोमा थप्दै भित्र पसिन् । रिजालले सोच्नु थाल्यो । आखिर आफ्ना लागि आफैंले केही नगरे कसैले त्यसै खान दिने होइन । तेल बेच्ने, कुकर बनाउने, भाँडाकुँडा बेच्ने, दाम्ला नाम्ला बेच्ने, सिरक तोषक बेच्ने, लुगाफाटो बेच्ने, हँसिया कचिँया बेच्ने, भुष पिना बेच्ने, नुन मसला बेच्ने उनेरूनै त हुन् । हाम्राले त कुरै मात्र ठूलो गर्ने हुन् । बिपिएलको लाइनमा बसेर अनि एपिएल कुरा गर्ने । खेत खलियान जम्मै बाँजो राखेर गफले अमेरिका–अफ्रिका जान्ने । जान्नु तान्नु केही छैन अर्कालाई बाठो भयो भन्ने । मन परेको पार्टी हो भन्दैमा सुजो न बुजो काँध हालिहाल्ने । नेता करोडपति आफू चैं कुरापती, गफाढिपति । घरमा तातो छारो केही छैन देखावटी जाति । मण्डलको कुरा ठिकै हो भनेर रिजाल सोच्दै थियो । यत्तिकैमा मण्डल आएर छेउको कुर्सीमा ढल्केर बसे । मण्डल धेरै जान्नेथिए । उनले भोलि हुने कुरा आजै भन्थे । उनले गरेको कुरा सबै पुग्थ्यो । गाउँलेले उनलाई खुबै मान्थे ।
रिजाललाई कुममा हिर्काउँदै मण्डलले भने, “हेर रिजाल, यो देशमा स्कुल कलेज छुट्टी भएको १७ महिना भैसक्यो । तर कुनै पनि होस्टेलमा विद्यार्थीको फिसको छुट भएको छैन र हुने कुरा पनि छैन । यो अनलाइन शिक्षाले छोराछोरिको आँखा समाप्तितर्फ धकेल्दै छ । उज्यालो हुने बितिक्कै फोन आँखामाथि हुनुपर्ने । मान्छे सुतेर आकाश पट्टी फोन तेस्र्याएर तेस्का बाजेको च्याटिङ्ग । हामीले उहिले पात्रो हेरे जस्तो । यो फोनको तेज उज्यालोले नानीहरूको आँखा स्वाहा बनाइसक्यो । अनलाइन शिक्षा भन्छन्, कसले परीक्षा बस्दै छ गुरूबाउ गुरामालाई पत्तो छैन । ठूला घरे अन्तरेकी छोरी आठ वर्षकै उमेरमा हिजो चस्मा टँसाएर ल्याएछन् । थापा कान्छाको ठूलो केटालाई अस्ति तीन दिन अगाडि बिर्तामोड पुर्याएको अरे । आँखा जाँच गर्न । अब होशियार रहने समय आयो । के गर्नु हाम्रो पालोमा यस्तो थिएन”, भन्दै मण्डलले चिया स्वाट्ट पारे ।
मण्डलको घरमा दिनहुँ यस्तै गाउँका बुढापाका आउँथे । मण्डलनी भुटेको मकै र फिका चिया ओसार्थिन । आज पनि दाहाल काँहिला, अधिकारी जेठा, नेउपाने साँहिलो, धुप्पी कान्छो लेप्चा, गोकुल भोटिया, माकृङ कान्छो थुप्रै भेला भए । तामाङ कान्छोले सबैलाई हसाउँथ्यो । आज पनि हँसायो । मण्डल र रिजालका कुरा सुनेर सबै दङ्ग परे । एकै श्वासमा रिजालले भए भरका कुरा सार्वजनिक ग¥यो । अब हामी आफ्नो कागज पत्र दराजमा थन्क्याएर मात्रै बस्नेकी बाहिर निस्केर केही गर्ने भनेर मण्डलले लठ्ठी तेस्र्याए । गोकुल धेरै बाठो थियो, उसको छोरा नोकरी पनि गथ्र्यो । उसले भन्यो, “अब हामी बुढापाकाले नयाँ केही सोच्नुपर्छ । काँचो कचिला केटाले मुलुकलाई सोचेनन् । कुरा एकापट्टि काम अर्कै पट्टी । अब यो पाराले त हामी हाम्रो कागज पत्र बलियो छ भनेर मात्रै गजक्क परेका छौं । काम जति तमाम अर्कैले बनाइसक्यो । होनहार दैव नटार ।”
मण्डलले आँगनमा उभिएर लठ्ठी तेर्साउँदै भन्न थाले । “हेर गाउँले हो । अब पनि जागेनौ भने हाम्रो अस्तित्व खतरामा पुगिसकेको छ । ठूला–ठूला विभागका सप्लायर को छन् ? सोचेका छौ ? पैसा कसले कमाउँदै छ ? तिम्रो हाम्रो माटोलाई माया गर्नेहरू सबै गलित र लज्जित भैसके । हामी त घरमै स्वास्नी र छोराछोरिको छेउमा भुक्ने मात्र हौं । हाम्रो अदुवा, अलैंची, कुचो, फापर, मकै, गहुँ, तोरी, गोरू–बाख्रा, थोत्रो टिन प्लास्टिक मात्र उनेरको हातमा होइन हाम्रो भाग्य र भविष्य पनि उतै गइसकेको छ । हाम्राले सानोतिनो काम कम्पनीमा गर्न पाए भइगयो तर, कम्पनीको विस्तार गर्ने उनेरू नै भए । अब जग्गा जमिन कम्पनीलाई धितो नगर । छोराछोरीलाई घर घढेरी राख । अब हामी बुढाहरू तात्तिनु पर्छ । मुलुकलाई सोच्ने काम गर्नुपर्छ । यो देशको कानुन कृषकले बनाउनु पर्छ । कृषिमा आधारित हाम्रो जिवनशैली हुनुपर्छ । तिमीहरूलाई थाहा छ ? यो सिलिगुडीशहर चलाउने, कैंया मोदीलाई करोडपति बनाउने हाम्रै पहाडका हाम्रै जाति हुन् । दार्जिलिङ, सिक्किम, मनिपुर, आसाम, डुवर्स, भोटाङ, पूर्वी नेपालका हाम्रै दाज्युभाईले रातारात यिनिहरूलाई अरब खरब कमाउने बनाए । हाम्रै इस्कूस, घिरौंला, डल्ले खोर्सानी, तुलफुलले यिनिहरू मात्तिनु थाले । अब देशको बाग्डोर बुढाहरूको काँधमा आउनुपर्छ के उल्लु जस्तो लाटाले पापा हेरे जस्तै हेर्छौ ?”
आँगनमा गडगडाहट् ताली बज्यो । “मण्डल माइलो जिन्दावाद जिन्दावाद” नारा गुञ्जिन थाल्यो । गोकुलले गोजीबाट एउटा खादा झिकेर मण्डलको गलामा लगाइदियो । सबै ताली बजाउन थाले । मण्डलनिले भुटेका मकै, मुलाको साग र फिका चिया आगनको टेबुलमा राखिन् । सबै जोशमा आएर म¥याङ मर्याङ चबाउनु थाले ।