२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

चारै महिनामै मुख्यमन्त्रीमा फर्किए शाह

ADV
शिव विक
२०८१ साउन २१ गते ०६:५५
चारै महिनामै मुख्यमन्त्रीमा फर्किए शाह

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । उनी यसअघि पनि १४ महिना मुख्यमन्त्री भएका थिए । चार महिनापछि शाह पुनः मुख्यमन्त्रीमा फर्किएका हुन् । 

शाहले आइतबार बिहान नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । आइतबार नै प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी प्रदेश सभाको यही कार्यकालमा दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

पहिलो पटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए । उनी कैलाली क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएका हुन् । 

शाहपछि मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घबहादुर सोडारी अल्पमतमा परेपछि शुक्रबार पदबाट राजीनामा दिएका थिए । त्यसपछि शाहले फेरि मुख्यमन्त्री हुने मौका पाएका हुन् । 

५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सांसदको साथ चाहिन्छ । शाहलाई कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन छ । 

मुख्यमन्त्री शाहले मन्त्रिपरिषदलाई पूर्णता दिएर सोमबार पद तथा गोपनियताको शपथग्रहण गर्ने तयारी गरेका छन् । 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संविधानको धारा १६८ (४) मा यस सम्बन्धी व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार नै शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेसका नेताहरूका अनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएका कारण पुनः अवसर दिइएको हो ।

शाह कांग्रेस र माओवादीबीचको समीकरण फेरिएपछि चार महिना अगाडि हट्नुपरेको थियो । त्यही कारण उनले चाहेअनुसार काम गर्न पाएका थिएनन् । यसकारण फेरिन उनैलाई नै सरकारको नेतृत्व दिइएको हो । 

शाह बाहेक सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा थिए तर उनीहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्रीमा सहयोग गर्न अन्य आकांक्षीहरुलाई निर्देशन दिएका थिए । केन्द्रीय सभापति देउवाको निर्देशनपछि शाह चार महिनामै मुख्यमन्त्रीमा फर्किएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise