
क्यानडा : क्यानडाको व्यस्त सहर टोरन्टोस्थित क्विन एलिजाबेथ थिएटर सोमबार साँझ नेपाली सांगीतिक समूह नेपथ्यको प्रस्तुतिसँगै उत्साह, भावना र ऊर्जाले भरियो । दुई साताअगावै ‘हाउसफुल’ भएको कन्सर्टपछि हलबाट बाहिरिँदै गर्दा दर्शकका अनुहारमा सन्तुष्टि र खुसी स्पष्ट देखिन्थ्यो ।
उक्त कन्सर्ट धेरैका लागि केवल मनोरञ्जन मात्र नभई जीवनकै अविस्मरणीय अनुभव बन्यो । झापाको बिर्तामोडबाट क्यानडा पुगेकी २२ वर्षीया रिया बस्नेतका लागि यो साँझ विशेष रह्यो । पाठेघरको क्यान्सरसँग जुधिरहेकी उनले शारीरिक पीडाका बाबजुद आफूले बाल्यकालदेखि चाहेको ब्यान्डलाई प्रत्यक्ष सुन्ने सपना पूरा गरिन् । उभिन समेत कठिन अवस्थामा रहेकी रियाले अन्ततः आफूलाई नाच्ने ठाउँसम्म पुर्याउँदै संगीतसँगै रमाउने इच्छा पनि पूरा गरिन् ।

उनले भनिन्, ‘अरू दर्शकजस्तो सहज थिएन मेरो अवस्था, तर त्यो क्षण बाँच्नका लागि म आफैंसँग लडिरहेकी थिएँ ।’ क्यान्सरले मानसिक स्वास्थ्यमा समेत असर पारेपछि उनी हाल डिप्रेसनको औषधि सेवन गरिरहेकी छन् । यद्यपि, उक्त कन्सर्टलाई उनले जीवनकै अमूल्य सम्झनाका रूपमा सँगाल्ने बताइन् ।
कन्सर्टमा सहभागी अर्की दर्शक सोनिया तिवारीका लागि पनि यो पहिलो नेपाली सांगीतिक अनुभव थियो । उत्तर अमेरिकामै जन्मे–हुर्केकी उनी घरमा सानैदेखि नेपथ्यका गीत सुन्दै आएको बताउँछिन् । ‘स्टेजबाट गायक अमृत गुरुङले फैलाउने ऊर्जा कल्पनाभन्दा धेरै प्रभावशाली रहेछ,’ उनले भनिन् । कार्यक्रमको व्यवस्थित आयोजना र समयको कदरले आफूलाई अझ प्रभावित बनाएको उनले सुनाइन् ।

कार्यक्रमभर दर्शकहरू गीतसँगै नाचिरहेका मात्र थिएनन्, कलाकारका सन्देशमा पनि उत्तिकै तल्लीन देखिन्थे । गायक अमृत गुरुङले ‘गाउँ गाउँबाट उठ’ गीत अघि राखेको मन्तव्यले हलमा विशेष उत्साह थप्यो । उनले नेपालको राजनीतिक परिवर्तनमा संगीतको भूमिकाबारे चर्चा गर्दै नयाँ पुस्तालाई सन्देश दिएका थिए ।
काठमाडौंबाट टोरन्टो पुगेका समीर श्रेष्ठले कन्सर्टलाई निरन्तर बगिरहने सांगीतिक यात्राजस्तो अनुभव गरेको बताए । ‘पुराना सम्झनासँग जोडिएका गीतहरूले आज फेरि आफूलाई हराउने मौका दिए,’ उनले भने ।

टाढाबाट आएका दर्शकहरू पनि कन्सर्टमा उत्तिकै उत्साहित देखिन्थे । भ्यानकुभरबाट आएका अनुप घिमिरेले पहिलोपटक नेपथ्यको लाइभ प्रस्तुति हेर्न पाएकोमा खुसी व्यक्त गरे । जर्ज ब्राउन कलेजकी स्नातक उज्वला प्रधानले कन्सर्टले आफूलाई आफ्नो जरासँग जोडेको अनुभूति दिलाएको बताइन् ।
कन्सर्टको अन्त्य ‘रातो र चन्द्रसूर्य’ गीतसँगै भयो, जहाँ दर्शकहरू नेपाली झण्डा फहराउँदै सामूहिक रूपमा गुनगुनाइरहेका देखिन्थे । अन्तिमसम्मै दर्शकले ‘नेपथ्य, नेपथ्य’ भन्दै कलाकारलाई सम्मान प्रकट गरे ।

मञ्चमा गायक अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए ।
कार्यक्रमका आयोजक छिरिङ शेर्पाले विदेशी भूमिमा यति ठूलो सहभागिता र उत्साह देख्नु गर्वको विषय भएको बताए ।
टोरन्टोको सफल प्रस्तुतीपछि नेपथ्यको टोली अब क्यानडा यात्राकै अन्तिम कन्सर्टका लागि ओन्टारियो राज्यको लन्डनतर्फ प्रस्थान गर्नेछ । अप्रिल १८ मा ‘लन्डन म्युजिक हल’मा हुने उक्त कन्सर्टमा टोरन्टोबाट पनि दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।