–अनुराग अरुण
बाल्मीकि आश्रममा प्रकृतिको रमणीय मनोहर छठाहरु हेरेर रमाउँदै थिएँ । पर ठूलो पत्थरमा एक बृद्धा बसेको देख्छु । उनलाई एक्लै देखेपछि नजिकैमा गएर सोध्छु, “नमस्कार आमा ! सुनसान निर्जन वनमा एक्लै, हजुर को हुनुहुन्छ ?”
बिस्तारै झुकेको मुन्टो उठाउँछिन् । बुढ्यौलिले मुजा मुजा परेको अनुहार पुरै आँसुले लतपतिएको देख्छु । उनका हातहरु लगलग काम्दै थिए । लौरो बेस्सरी समाउँदै भन्छिन्, “नमस्कार बाबू ! म सीता हुँ ।”
बुढी आमाको मुखबाट “सीता” सुन्ने बित्तिकै फेरि सोध्छु, “जनक नन्दिनी, पुरुषोतम पुरुष राम कि अर्धाङ्गिनी सीता ?”
“हो बाबू !”
“नमन आमा”, भन्दै चरण स्पर्श गर्छु ।
“भाग्यमानी हुनु ।”, आशिर्वचन दिनुहुन्छ ।
पाउ छेवैमा बसेर सोध्छु, “आमा ! हजुरलाई दुखद अवस्थामा देख्दैछु ।”
“जुन स्त्रीलाई पतिले नै स्वयम् परित्याग गरेको छ । त्यसको अवस्था कस्तो हुन्छ ? यो पीडा शब्दले व्यक्त गर्न सकिँदैन बाबू ।” आँचलले आँसु पुछ्दै बोल्छिन् । झतपाईं माथि घोर अन्याय भएको छ, आमा ।”
“बाबू ! सत्यमाथि जहिले पनि अन्याय हुन्छ । जो मान्छे सत्यमा चल्छ । उसैले पटक पटक आफ्नो सत्यताको परिक्षा दिनु परेको छ ।”
“यस्तो किन हुन्छ, आमा ?”
मेरो जिज्ञासा सुनेर भन्नुहुन्छ, “सत्य अजर अमर हुन्छ । तर, पिडादायी हुन्छ । त्यसैले सत्यलाई अंगाल्न चाहाँदैनन् । मान्छे क्षणिक भौतिक सुखको लागि असत्यको बाटो हिड्न रोज्छन् । असत्यले भौतिक सुख त दिन्छ । तर आत्मिक सुख र शान्ती दिन सक्दैन ।” यसो भन्दै गर्दा आमाको आँखाबाट बलिन्द्र आँसुका धाराहरु तप्पतप्प चुहिरहेको छ ।
आँसु पुछिदिदैं सान्त्वना दिदैं भन्छु , “नरुनुस् आमा ।”
आफ्नो पीडा व्यक्त गर्न आमालाई निकै कठिन महसुस भइरहेको भान हुन्छ । असह्य वेदनाले उनका ओठहरु काम्दैछन्, “बाबू ! मलाई मेरो पतिदेखि कुनै गुनासो छैन । गुनासो त केवल यो समाज देखि छ । जसले मलाई मेरो प्राणप्रिय पतिबाट विछोड गरायो । यो निर्जन वनमा एक्लै बस्न बाध्य बनायो । म उनको यादमा जिउँदै मरेतुल्य भएर बाँचिरहेको छु ।” यसो भन्दै आँचलले मुख छोप्दै भक्कानिएर रुन थाल्छिन् ।
हात समाएर भन्छु, “नरूनुस् आमा ।”
“अविवेकी समाजमा सत्यलाई बाँच्न असाध्यै गाह्रो कठिन हुन्छ । पाइला पाइलामा विभिन्न आक्षेप र अवरोधहरुको सामना गर्नुपर्ने हुन्छ । बारम्बार निर्दोषताको अग्निपरिक्षा दिइरहनुपर्छ । हे इश्वर ! कहिले यो समाज विवेकशिल बन्छ ।” भन्दै उठेर जान लाग्छिन् । आमा केही पर पुगेपछि अलप हुन्छिन् ।
यो सपना देखेर अनायासै मेरो निन्द्रा टुट्छ । बत्ती बालेर टेबुलमा भएको अंखोरा लिएर पानी पिउन थाल्छु । निकैबेरसम्म गहिरो सोंचमग्न हुन्छु । यो अविवेकी समाजले गर्दा हाम्री सीता माताले त असाध्यै दुःख झेल्नु भो । हामीले अझ कति दुःख व्यहोर्नुपर्ने होला ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies