
दसैं नेपालमा घर फर्किने, आफन्त भेट्ने, मान्यजनबाट टीका–जमरा थाप्ने र परिवारसँग सुख–दुःख साट्ने पर्व हो । तर कतारमा रहेका नेपालीका लागि दसैंको अर्थ केही फरक छ । प्रवासमा रहेका धेरै नेपालीलाई दसैंमा घर फर्किन सम्भव हुँदैन । परिवारसँग एउटै आँगनमा बसेर टीका लगाउन, गाउँघरमा मालश्री सुन्न र पिङ खेल्न पाइँदैन । त्यसैले कतारका नेपालीले परदेशमै अर्को ‘घर’ बनाएर दसैं मनाउने परम्परा विकास गरेका छन् । आजका भव्य सांस्कृतिक कार्यक्रम, सामूहिक टीका, भोज र खेलकुद प्रतियोगिताको पछाडि श्रमिक क्याम्पका साना कोठामा साथीभाइ मिलेर मनाएको दसैंको लामो इतिहास छ ।
कतारमा नेपालीको उपस्थिति विशेषगरी सन् १९९० को दशकको अन्त्यतिर बढ्न थालेको थियो । नेपालीको संख्या बढ्दै जाँदा उनीहरूका सामाजिक तथा श्रमिक समस्या सम्बोधन गर्न स्थायी नेपाली कूटनीतिक नियोगको आवश्यकता महसुस भयो । नेपाल सरकारका अनुसार, सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कतार भ्रमणका क्रममा नेपाली समुदायले प्रवासी नेपालीको अवस्था र रोजगारीसम्बन्धी विषय उठाएको थियो । त्यसपछि कतारमा स्थायी नेपाली नियोग खोल्ने निर्णय भयो । सन् २००० जुलाई ११ मा दोहामा नेपाली राजदूतावास स्थापना भयो । यस अवधिमा नेपाली समुदायका सामाजिक गतिविधिले पनि क्रमशः संस्थागत रूप लिन थाले ।
त्यतिबेलाको दसैं भने आजजस्तो थिएन । सीमित आम्दानी, लामो कामको समय र परिवारबाट टाढाको जीवनका कारण धेरै नेपालीले श्रमिक क्याम्प वा आफू बस्ने कोठामै दसैं मनाउँथे । साथीभाइ मिलेर जमरा राख्ने, आफूभन्दा ज्येष्ठ व्यक्तिबाट टीका लगाउने, नेपाली खाना पकाउने र नेपालमा रहेका परिवारसँग फोनमा कुरा गर्ने नै दसैं मनाउने मुख्य आधार थियो ।
करिब डेढ दशकदेखि कतारमा कार्यरत स्याङ्जाका टेक गैह्रेले अहिलेसम्म नेपाल पुगेर दसैंको टीका ग्रहण गर्न पाएका छैनन् । उनी पनि क्याम्प र घरमा जमरा राख्ने, विजयादशमीमा टीका लगाउने र नेपाली परिकार बनाएर साथीभाइसँग पर्व मनाउने गरेको बताउँछन् । परिवारसँग दसैं मनाउन नपाएका कतिपय नेपालीले नेपालमा रहेका आफन्तका लागि कपडा, मिठाई र अन्य उपहार पठाएर परदेशबाटै खुसी बाँड्ने गर्छन् ।
कतारमा नेपाली समुदाय विस्तार हुँदै जाँदा दसैं पनि कोठाको चार पर्खालबाट बाहिर निस्कन थाल्यो । चितवनका सागर नेपालका अनुसार सन् २००० पछिको दशकमा नेपाली संघसंस्था स्थापना र विस्तार हुँदै गएपछि पर्वहरू सामूहिक रूपमा मनाउने वातावरण बनेको हो ।
सन् २००५ मा दोहामा भएको गैरआवासीय नेपालीसम्बन्धी क्षेत्रीय सम्मेलन पनि कतारमा नेपाली समुदायको संगठित गतिविधिको महत्त्वपूर्ण पृष्ठभूमि बन्यो । त्यसपछि विभिन्न जिल्ला, जातीय, सामाजिक तथा सांस्कृतिक संस्थाका गतिविधि विस्तार भए । यही संस्थागत विकासले दसैं, तिहार, ल्होसार, नेपाल संवत् र छठजस्ता पर्व सामूहिक रूपमा मनाउने आधार तयार गर्यो ।
कतारमा दसैंको सार्वजनिक तथा सांस्कृतिक स्वरूप सन् २०१४ देखि स्पष्ट रूपमा देखिन थाल्यो । त्यस वर्ष नेपाली राजदूतावासले दसैंको अवसरमा स्वागत कार्यक्रम आयोजना गरेको थियो । तत्कालीन कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले सहभागीलाई टीका र जमरा लगाइदिएका थिए। गोर्खा वेलफेयर सोसाइटी र दाङ देउखुरी वेलफेयर सोसाइटीले पनि दसैंका अवसरमा चियापान कार्यक्रम आयोजना गरेका थिए ।
सन् २०१५ मा कतारको नेपाली दसैं अझ ठुलो सार्वजनिक कार्यक्रमका रूपमा देखियो । सलवा रोडस्थित क्वालिटी हाइपर मार्केटमा आयोजित कार्यक्रममा ५०० भन्दा बढी नेपाली सहभागी भएका थिए । नेपालबाट आएका र कतारमै रहेका नेपाली कलाकारले प्रस्तुति दिएका थिए । दोहामा रहेका २० भन्दा बढी कलाकारले पनि कार्यक्रममा आफ्नो कला प्रस्तुत गरेका थिए । यसले दसैंलाई पारिवारिक भेटघाटसँगै नेपाली कला, संगीत र मनोरञ्जन जोड्ने सामुदायिक अवसरका रूपमा स्थापित गर्न सहयोग गर्यो ।
सन् २०१६ मा कतारको नेपाली दसैंले अर्को महत्त्वपूर्ण मोड लियो। एनआरएनए एनसीसी कतारको समन्वयमा गल्फ प्याराडाइज होटेलमा आयोजित कार्यक्रममा ६५ भन्दा बढी नेपाली संघसंस्था सहभागी भएका थिए । जिल्ला, सामाजिक, साहित्यिक तथा जातीय संस्थाको सहभागिता रहेको उक्त कार्यक्रममा दसैंसँगै तिहार, नेपाल संवत् र छठलाई पनि जोडिएको थियो । यसले पर्वहरूलाई छुट्टाछुट्टै संस्थाका कार्यक्रमबाट माथि उठाएर समग्र नेपाली समुदायलाई जोड्ने साझा सांस्कृतिक मञ्चका रूपमा विकास गर्न मद्दत गर्यो ।
दसैंसँग जोडिएको अर्को पक्ष श्रमिकको बिदा र फुर्सद पनि हो । सन् २०१८ मा विजयादशमी शुक्रबार परेको थियो । कतारमा साप्ताहिक बिदाको दिन भएकाले नेपाली श्रमिकका लागि त्यो दिन विशेष अवसर बन्यो । त्यही वर्ष अलखोरस्थित बरवा वर्कर्स स्पोट्र्स कम्प्लेक्समा दसैं, तिहार, छठ र अन्य नेपाली पर्वलाई लक्षित गरी २८ टोली सहभागी हुने खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । यसले दसैंलाई टीका र भोजमा मात्र सीमित नराखी खेलकुद तथा सामुदायिक भेटघाटसँग पनि जोड्यो ।
कोभिड–१९ महामारीका बीच सन् २०२१ मा पनि कतारको नेपाली समुदायले दसैं मनाउने परम्परालाई निरन्तरता दियो । नेपाली राजदूतावासमा शुभकामना आदानप्रदान तथा टीका कार्यक्रम आयोजना गरिएको थियो । महामारीका कारण अघिल्ला वर्षमा जस्ता ठूला सामूहिक गतिविधि सम्भव नभए पनि संस्कृति र परम्परा जोगाउने प्रयास जारी रह्यो । यसले दसैं नेपाली समुदायका लागि मनोरञ्जनको अवसर मात्र नभई सांस्कृतिक निरन्तरताको माध्यमसमेत भएको देखाउँछ ।
नेपाली राजदूतावासको पछिल्लो उपलब्ध तथ्यांकअनुसार कतारमा नेपालीको संख्या ३ लाख ६४ हजार पुगेको छ । समुदायको आकारसँगै दसैं मनाउने शैली पनि फेरिएको छ । कतै संस्थागत सामूहिक टीका आयोजना हुन्छ, कतै सांस्कृतिक कार्यक्रम र भोज, त कतै फुटबल तथा भलिबल प्रतियोगिता। श्रमिक क्याम्पमा साथीभाइ भेला भएर दसैं मनाउने चलन पनि कायमै छ ।
तर कार्यक्रमको स्वरूप जति फेरिए पनि परदेशी नेपालीको दसैंको मूल भावना उस्तै छ– परिवारको सम्झना, आफ्नो संस्कृति र समुदायसँग जोडिइरहने चाहना । घर फर्किन नपाए पनि साथीभाइसँग टीका लगाउने, नेपाली परिकार खाने र आफन्तसँग सम्पर्क गर्ने माध्यमबाट उनीहरूले पर्वको आत्मीयता जोगाइरहेका छन् ।