२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

कथा : सेतो हिमालको कालो भविष्य

Nada
विश्वनाथ खरेल
२०८३ वैशाख १२ गते ०६:००
Shares
कथा : सेतो हिमालको कालो भविष्य

हिमालकन्याका आँखामा बिहानको सेता घाम झल्झलाएको थियो । कक्षा १० मा पढ्ने उनी सगरमाथाको छेउमै रहेको सानो गाउँ थाम्सेकी चञ्चल र जिज्ञासु छात्रा थिइन् । गाउँका प्रत्येक मान्छेको जीवन, संस्कार र खुसी–दुःख हिमालसँगै जोडिएको थियो । बाल्यकालदेखि नै उनले सेतो हिमाललाई भगवानझैँ मानेकी थिइन् ।

ncell

तर अहिले हिमाल त पहिलेजस्तो देखिँदैनथ्यो ।

बाले भन्थे, ‘छोरी ! पहिल्यै जस्तो हिउँ परेन । पानीका मुहान सुक्दैछन् । हिमालको छायाँ पनि सर्छ जस्तो हुन्छ । समय नै खराब बन्दैछ ।’

हिमालकन्याले पहिले यस्ता कुरामा खासै ध्यान दिएकी थिइनन्, तर एकदिन विद्यालयले आयोजना गरेको ‘हिमाल दिवस’ कार्यक्रममा पुगेपछि उनको मनमा ठूलो छटपटी सुरु भयो । कार्यक्रममा प्रसिद्ध पर्वतारोही पासाङ शेर्पाले देखाएका तस्बिरहरूले कक्षाकोठा एकछिन थामिएझैँ लाग्यो, कहीँ पहाड टुक्रिएको फोटो, कहीँ कालो धुलोले ढाकिएको हिमाल, कहीँ पहिरोले बगाएको गाउँ, कहीँ झरिगएका हिउँका छाना ।

‘यो सबै किन हो ?’ उनको मनमा प्रश्नले आँधी चलायो ।

पासाङ दाइले भने, ‘हिमाल अब रोइरहेको छ । हामीले उसलाई जोगाएनौँ भने एकदिन ऊ उठेर सबैलाई प्रश्न गर्नेछ– मेरो गल्ती के थियो ?’

कक्षाकोठामा सन्नाटा छायो । हिमालकन्या कानले कार्यक्रममा थिइन्, तर मन चाहिँ हिमालको काखमा भौतारिरहेको थियो ।

थाम्से गाउँ पहिले चारैतिर हिउँले ढाकिएको जादुमय स्थान थियो । हिउँ परेपछि गाउँका केटाकेटीहरू घरमै बसेर ‘छ्याङ–फ्याङ’ खेल्थे । घर–घरमा धुवाँको गन्ध, चुल्होको तातोपन, अनि आँगनमा फुल्ने रोडोडेन्ड्रोन (लालीगुराँस), यी सबैले गाउँलाई स्वर्गजस्तै बनाउँथ्यो ।

तर पछिल्ला वर्षहरूमा मौसम नै फरक हुन थाल्यो । चैत–वैशाखमा हिउँ नपर्ने, असार–साउनमा अत्यधिक पानी पर्ने, कात्तिक–मंसिरमा अनौठो गर्मी हुने, माघमा जाडो अत्यधिक बढ्ने...
यी परिवर्तनले गाउँका मान्छेहरूलाई चिन्तित बनाएको थियो ।

हिमालकन्याका बुबा, मन्मान शेर्पा, पर्यटकहरूलाई बाटो देखाउने गाइड थिए । उनले भनिरहन्थे, ‘पहाड पनि मानिसजस्तो हुन्छ, छोरी । जब धेरै दुःख हुन्छ, भित्रैभित्र पग्लिन्छ । हामीले दिनदिनै फोहोर फाल्ने, जंगल मास्ने, आगो धेरै बाल्ने, यी सबैले हिमालको शरीर नै बिगार्दैछ ।’

हिमालकन्याको मनमा ती वाक्यहरू क्यामेराको क्लिकझैँ बस्दै गए । एकदिन विद्यालयबाट फर्कंदै गर्दा उनले गाउँतिरबाट ठूलो चिच्याहट सुने । मान्छेहरू आपतकालजस्तै दौडिरहेका थिए । ‘के भयो ?’ उनी डराउँदै आँगनतिर दौडिइन् ।

तबसम्म गाउँको सबैभन्दा पुरानो पानीमुहान एकाएक रोकिएको खबर फैलिएको थियो । गाउँकै अभिमानको मुहान, जसबाट दशकौँ वर्षसम्म पानी बग्थ्यो, अचानक सुक्यो !

गाउँका वृद्ध–वृद्धाहरू रोइरहेका थिए, युवाहरू चिन्तित र बच्चाहरू हैरान ।

‘छोरी, यो राम्रो संकेत होइन,’ हिमालकन्याकी आमाले आँगनतिर गुनगुनाउँदै भन्नुभयो, ‘हिमालमुनि पानी थुनिएको छ रे । अब पहिरो पनि आउन सक्छ ।’

हिमालकन्याले गाउँको पुरानो गुम्बातिर हेरिन्, जहाँ उनका बाजेले सधैँ प्रार्थना गर्ने गरेका थिए । तर अहिले गुम्बाको झ्यालबाट पनि बेचैनीको आवाज सुन्न सकिन्थ्यो ।

अर्को बिहान विद्यालयको अनुसन्धान समूहले हिमाल अवलोकन यात्रा आयोजना ग¥यो । हिमालकन्या पनि सहभागी भइन् ।

हिमालको काखमा पुग्दा उनले केही अचम्मका दृश्य देखिन्, हिउँमा कालो धुलो थुप्रिएको, सगरमाथातिरको बाटोमा प्लास्टिकका ¥यापर, अक्सिजन सिलिन्डरका अवशेष, टेन्टका च्यातिएका टुक्रा, मानिसका जुत्तादेखि टिसर्टसम्म ।

‘यो कस्तो पर्वतारोहण हो ?’ हिमालकन्याको आँखामा रिस, दुखाइ र लाज मिसिएजस्तै भयो ।

उनकी साथी सुनिताले भनिन्, ‘पर्यटकहरूले आफैँ फोहोर फाल्छन् । तर सरकार वा स्थानीय तहले पनि बेवास्ता गरेको छ । सबैलाई पैसा मात्र देखिन्छ ।’

हिमालकन्याले गम्भीर हुँदै सोधिन्, ‘हिमाल चिसो छ, सेतो छ । तर उसका अँगालोमा किन यो कालो दाग ?’

उनीहरूले त्यो दिन धेरै तस्बिर खिचे । तर ती तस्बिरहरू हेर्दा रमाइलो नभई पीडा मात्र भयो ।

गाउँ फर्केर हिमालकन्या धेरै दिनसम्म निदाउन सकिनन् । उनको मनमा एउटा मात्र आवाज घन्किन्थ्यो, ‘के म केही गर्न सक्दिनँ ?’

एकदिन उनले साहस जुटाएर विद्यालयका प्रधानाध्यापकलाई भेटिन् । ‘सर, हामी गाउँमा ‘हिमाल बचाउ अभियान’ सुरु गर्न चाहन्छौँ ।’

प्रधानाध्यापक मुस्कुराए, ‘तिमीहरूको उमेरमा यस्तो सोच ! यो त गर्वको कुरा हो । विद्यालयबाट पूरा सहयोग मिल्छ ।’

त्यसपछि सुनिता, पासाङ, फुर्पा र कक्षा ९–१० का अन्य विद्यार्थी मिलेर एउटा समूह बने— सेतो हिमाल संरक्षण टोली ।

उनीहरूले पहिलो काम गरे— गाउँ सफाइ । गाउँदेखि बेसक्याम्पतिर पैदल हिँड्दै सबै फोहोर उठाए । दोस्रो काम—पर्यटकलाई सचेतना दिने । ‘फोहोर साथ लैजाऔँ, हिमाललाई सम्मान गरौँ’ भन्ने पर्चा छापे ।

तेस्रो काम– घर–घरमा भेटघाट कार्यक्रम । दुखाइ र चिन्ता बोकेका बुबा–आमालाई नयाँ आशा सुनाए । ‘हामी नहुँदा पनि हिमाल यहाँ नै रहन्छ ।’

हिमालकन्याले बुबालाई भनिन्, ‘र हामीले उसलाई जोगाउनैपर्छ ।’

बुबाले गर्वले हेरे, ‘बरु तिमीहरूजस्ता छोराछोरीले नै देश बदल्छ ।’

सम्बन्धित खबर