
गौतम बुद्ध, लुम्बिनी र उनका बारेमा आध्यात्मिक र राजनीतिक रूपमा विभिन्न विवरण पाइन्छन् । बौद्धमार्गीहरू उनी यो संसारमा अन्तिम बुद्धको रूपमा जन्मेको र जन्मिनेबित्तिकै औंला ठड्याउँदै सात पाइला हिँडेको मान्दछन् । केहीले संघीय राज्य कपिलवस्तुको बैठकमा उनको युद्धसम्बन्धी प्रस्ताव अस्वीकृत भएको र तत्कालीन परम्पराअनुसार कि युद्धमा होमिएर मर्नु वा राजकाज छोडेर भाग्नुमध्ये एक गरे भन्ने ठान्दछन् । केही वर्षअघि छिमेकी देशका केही विज्ञले त उनको यौन जीवनको विषय जोडेर दरबार छाडेको नकारात्मक प्रचार गरेका थिए । बुद्धकै जीवनकालमा पनि उनको जीवन, राज्य, परिवार र भिक्षु जीवनलगायतबारे राम्रा÷नराम्रा घटनाक्रमका कथा हाल्ने गरेको भेटिन्छ ।
जन्म, बुढ्यौली, रोग, मृत्यु र त्यसको कारणबारेको खोजी पनि उनको बुद्धत्वसँग जोडिएको देखिन्छ । उनी कहाँका हुन्, को हुन् भन्ने विषयमा विवाद गर्नु अब विडम्बना हो । हालको नेपालको कपिलवस्तुको राजधानी तिलौराकोट जुन बुद्धको पैतृक थलो हो । यसको ऐतिहासिक महत्व र पहिचानलाई कमजोर पार्ने प्रपञ्चमा फसेजस्तो लाग्छ । सन् १८९६ देखि १९७० सम्मको उत्खनन, अनुसन्धान र प्रमाणका आधारमा भारतलगायत संयुक्त राष्ट्र संघसम्मले गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने प्रमाणित गरिसकेका छन् । सन् १९९७मा यसलाई विश्वसम्पदा सूचीमा राखिएको छ । बरु धेरै भाग हालको नेपालमा परेको र केही भाग हालको भारतमा परेको तत्कालीन कपिलवस्तु र त्यसको राजधानी तिलौराकोट विनासित्तिमा विवादमा तानिँदै छ । बुद्धअगाडि, बुद्धकाल र बुद्धपछाडिका बौद्ध ग्रन्थ, इतिहास, चिनियाँ यात्री, पुरातात्विक प्रमाण, विश्वका प्रख्यात पुरातत्वविद्हरूको संलग्नता र प्रमाणका आधारमा पनि सक्कली तिलौराकोट नेपालतर्फ पर्छ । तर, भारततर्फ बनाइँदै गरेको नक्कली तिलौराकोटले पर्यटक तानिरहेको छ । नेपालको तिलौराकोटलाई विश्व सम्पदासूचीमा पार्ने यसपटकको प्रयास पनि लुम्बिनी विकास कोष र सम्बन्धित पक्षको उदासीनताका कारण सफल हुन सकेको देखिएन । नारै लगाउनु छ र बोल्नु छ भने बरु अन्तर्राष्ट्रिय पहिचान र दबाबका लागि ‘तिलौराकोट नेपालमा पर्छ’ वा ‘तिलौराकोट इज इन नेपाल’चाहिँ फलदायी र सही नारा हुन सक्छ । नेपालतर्फको कपिलवस्तुका कतिपय ठाउँ र नाम अहिले पनि बौद्ध ग्रन्थ, इतिहास र पुरातत्वले भने बमोजिम छ । उता बन्दै गरेको तिलौराकोट दरबार क्षेत्रको २० वर्षअगाडिसम्म अरू नै नाम थिए । त्यस्तै, रामको जन्मभूमि चितवन माडीको अयोध्या पनि बनेको छ । धार्मिक ग्रन्थ, चिनियाँ यात्रीको विवरण, ऐतिहासिक र पुरातात्विक प्रमाण, स्थान विशेषमा अहिलेसम्म प्रचलनमा रहेका नाम आदि सबै भए पनि सरकारसमेत अध्ययन, अनुसन्धान र उत्खननमा मौन छ । शास्त्रमै उल्लेख भएबमोजिमका माडीका दुई नदी क्षेत्रमा खुलेआम भेटिने शालिग्रामबारे पनि जानकारहरू मौन बस्न चाहन्छन् । त्यस्तै, रावणको विषयमा पनि पश्चिम नेपालको म्याग्दी जोडिन आउँछ । अध्ययन, अनुसन्धान र उत्खननमा मौनता साध्नु र वास्तविकतालाई नकेलाउनु भोलिका पुस्ताका लागि र स्वाधीन राज्यप्रतिको उदासीनता हुन सक्छ ।
गौतम बुद्ध हालको नेपालको लुम्बिनीमा जन्मेका रहेछन् भन्ने कुरा नेपालीले त सन् १८९६मा मात्र थाहा पाएका हुन् । सन् १३१२ तिर पश्चिम नेपालका राजा रिपु मल्लले त्यहाँ पुगेर त्यहाँको अशोक स्तम्भमा आफ्नो नाम लेखेका छन् । जुन समयमा लुम्बिनी पवित्र तीर्थस्थल र गाउँको रूपमा विकसित भइसकेको देखिन्छ । उता कपिलवस्तु बुद्धकै समयकालमा कोलीयसँगको लडाइँले ध्वस्त भइसकेको थियो भने देवदहलगायत राज्यहरू पनि बिस्तारै खण्डहर भइसकेका थिए । विभिन्न कालखण्डका दैवीय घटनाक्रमसँगै ती क्षेत्र जंगलमा परिणत भएको थियो । कपिलवस्तुका बाँचेका शाक्य कुलका मानिसहरू कोही हालको भारत र कोही हालको नेपालको उपत्यकासम्म बसाइँ सरिसकेका थिए । शाक, शाक्यलगायत विभिन्न थर र जातमा परिणत भए पनि उनीहरू आफूलाई बुद्धकै सन्तान मान्दछन् । नेपालका विभिन्न क्षेत्र र केही राज्यमा बौद्ध धर्म थियो । बौद्ध ग्रन्थहरूमा बुद्ध लुम्बिनीमा जन्मेको उल्लेख भए पनि लुम्बिनी कहाँ थियो भन्ने कुरा करिब ६ शताब्दीसम्म हराएको थियो । यहाँ स्मरणीय कुरा के हुन सक्छ भने, सन् १९४७ अघि अहिलेको भारत भन्ने सिंगो देश थिएन । नेपाल वैदिककालदेखि भए पनि यो देशको सीमा सन् १८१६को सुगौली सन्धिअघि विभिन्न समयमा घटबढ भइरहेको देखिन्छ । वैदिक परम्परामा भारतवर्ष भन्ने शब्दको प्रयोग अहिले पनि पाइन्छ । हालको अफगानिस्तानदेखि हिमालय क्षेत्र तिब्बत चीन र सागरसम्मको भूमि यसअन्तर्गत वैदिक र आध्यात्मिक भूमि मानिन्थे । त्यसैले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा हेर्दा त्यसवेला बुद्ध न नेपालका थिए न भारतका थिए । त्यो विवाद बेकारको हुन जान्छ ।
बुद्ध भारतीय हुन् भन्ने तर्क र लिखत अहिले पनि धेरै ठाउँमा देख्न सकिन्छ । केही पुराना बौद्धमार्गीहरू त्यसैलाई सही मान्दछन् । किनभने यो उनीहरूका लागि नसोचेको प्रसंग हो । यहाँ अर्को तार्किक कुरा के पनि देखिन्छ भने बुद्ध कपिलवस्तुबाट गया गए, उतै बुद्ध भए, उतै सारनाथमा पहिलो देशना गरे, उतैै ज्ञान प्रचार गरे, उतैको भाषा प्रयोग गरे र उतै कुशीनगरमा महापरिनिर्माण अर्थात् मृत्यु भयो । आफ्नै राज्य कपिलवस्तुमा उनी कामविशेषले दुईपटक मात्र आए । बरु स्वयम्भू पुराणमा उनी स्वयम्भूको दर्शन गर्न आएको उल्लेख छ । त्यसैगरी पाटन क्षेत्रमा चार अशोक चैत्य भएकाले अशोक पनि उपत्यकामा आएको भनाइ भेटिन्छ । तर दुवै विषयको आधिकारिक पुष्टि हुने कुनै प्रमाण छैन । बुद्धको शिक्षा र प्रचार–प्रसारमा त्यहाँकै राज्य र राजामहाराजाको देन थियो । मौर्य सम्राट अशोक, जसले लुम्बिनीमा गौतम बुद्ध जन्मेको, कपिलवस्तुमा कनकमुनि र क्रकुछन्द बुद्ध जन्मेको भनी आफैं आएर शिलास्तम्भ राखे । उनले बुद्धसँग जोडिएका प्रायः सबै स्थानमा यस्तो गरेका थिए । बुद्ध धर्म र संघको विकासका लागि त्यहाँका राज्य र राजपरिवारको उल्लेख्य योगदान छ जुन नेपालमा छैन । नेपालमा गौतम बुद्धअगाडिदेखि नै बौद्ध धर्म भए पनि महायान वा वज्रयान परम्पराको अभ्यास चल्दै आएको र थेरवादको खासै विकास नभएकाले त्यतिधेरै चासो नराखिएको भन्न सकिन्छ । त्यसैले नेपालीले लुम्बिनी कहाँ पर्छ भन्ने बिर्सेका थिए ।
लुम्बिनी क्षेत्रमा मानवबस्ती नयाँ र कम थिए । लुम्बिनी नाम अपभ्रंश भई ‘लुमनी’ आदि भएको थियो । उक्त स्थल घना जंगलजस्तै थियो, मायादेवीको मूर्तिलाई वनदेवी भनी बलि दिने हिन्दू प्रचलन चल्दै आएको थियो । जहाँ राजा महेन्द्रले बलिप्रथा रोके पनि कतिपय हिन्दू गतिविधि अहिले पनि छन् । बाह्रौं–तेह्रौं शताब्दीसम्म उक्त क्षेत्रमा बौद्ध गतिविधि भए पनि पछिल्ला कालखण्डमा कोही पनि बौद्ध बासिन्दा त्यहाँ भएनन् । अहिलेसम्म सनातन हिन्दू र इस्लामकै बाहुल्य छ । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा तत्कालीन समयका पाल्पाका प्रशासक जनरल खड्गशम्शेर राणाले चारकोसे झाडी सन् १८९३–९४ तिर फँडानी गरेका थिए । उनले फरक खालको ढुंगा देखेपछि हात्तीको समेत प्रयोग गरी झिक्न खोजेको देखिन्छ । हालको नेपाल–भारत सीमा क्षेत्रको ककरहवानजिक पडेरियामा रहेको र त्यसतर्फ बस्ती भएकाले त्यसको विषयमा चर्चा भयो । उता भारतमा अंग्रेजहरूले बौद्ध धर्म र अशोक स्तम्भका बारेमा अध्ययन अनुसन्धान गर्न थालिसकेका थिए । यसैक्रममा १८९३मा मेजर जसकर्ण सिंहले उक्त ढुंगा देखेको र १८९४मा उखेल्न खोजेका थिए भन्ने छ । तर त्यो अशोक स्तम्भ हो र यो स्थान गौतम बुद्ध जन्मेको लुम्बिनी हो भन्ने पहिचान अंग्रेजका लागि अनुसन्धान गर्ने जर्मन पुरातत्वविद् डा. ए.फुहररले पत्ता लगाए । उनले स्तम्भमा लेखिएको लिपिलाई अनुवाद गरी तत्कालीन अंग्रेज सरकारको बंगालको एक पत्रिकामा छापेपछि लुम्बिनीको वास्तविकता खुल्यो । उनले सन् १८९६मा त्यहाँ आएर लिपि उतारेका थिए भने सन् १८९७मा लेख छापेका थिए । अशोक स्तम्भमा ग्रेनाइट ढुंगा प्रयोग भएको छ । यो ढुंगा नेपालको त्यस क्षेत्रमा पाइँदैन । यसमा भएका कुनै पनि अक्षर मेटिएका, काटिएका वा क्षति भएका छैनन् । यो तत्कालीन समयमा प्रचलनमा रहेका ब्राह्मी लिपिको पाली भाषामा छ । अभिलेखमा अशोकले केही महत्वपूर्ण कुरा लेखेको देखिन्छ । जसमा उनले लुम्बिनीको नाम पनि लिएका छन् र ‘हिद बुधे जाते सक्यमुनी ति’ अर्थात् यो लुम्बिनी ग्राम हो, जहाँ शाक्यमुनि बुद्ध जन्मेको स्थान भनी आफू आएर पूजा गरेका उल्लेख गरेका छन् । उक्त स्तम्भ अन्त थियो कि त्यहीँ भन्ने विषय विवाद छ । पटकपटकको उत्खनन र अध्ययनबाट त्यो स्तम्भ अशोकले ठड्याएकै स्वरूपमा रहेको पाइएको थियो । उता, कपिलवस्तुमा रहेका दुई स्तम्भ ढलेको र भाँचिएको अवस्था छन् । यसरी धर्म ग्रन्थ, विदेशीको विवरण, अशोकको स्तम्भ लेखन र पुरातात्विक उत्खनन र प्रमाणबाट बुद्ध जन्मेको हालको भारतको उडिसाको प्रसंग सधैंका लागि बन्द भइसकेको छ ।